चुनावले नेपालको स्थायित्वमा सघाउ: चीन

पछिल्लोपल्ट अपडेट गरिएको: 25.06.13, 21:28 NST सम्मका समाचार
यांग जेइची

नेपालमा चुनावी सरकार गठनपछि यहां आउने सबैभन्दा उच्च चिनियां अधिकारी यांग हुन्

चुनावमा सघाउनेसहित कुल ७ अर्ब रुपैयां बराबरका तीन सम्झौता गर्दै उत्तरी छिमेकी चीनका स्टेट काउन्सिलर यांग जेइचीले आफ्नो छोटो नेपाल भ्रमण पूरा गरी मंगलवार स्वदेश फर्किएका छन्।

एक दशकपछि गत मार्च महिनामा चीनमा भएको नेत्तृत्व परिवर्तनपश्चात यहां आउने सबैभन्दा उच्च यी चिनियां अधिकारीले आफ्नो २४ घण्टे काठमाडौं बसाईंमा आर्थिक सहायताका अतिरिक्त नेपाल बेइजिंगको उच्च प्राथमिकतामा रहेको छनक दिन पनि भ्याए।

सन्देश

बेइजिंगको दृष्टिमा अर्को महत्वपूर्ण छिमेकी मानिने बर्माको भ्रमणपछि नेपाल उत्रिएका यी चिनियां नेताले काठमाडौंमा उनले भेटेका नेपाली उच्च अधिकारीहरुलाई मूलत एकै खालको सन्देश दिएका थिए।

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीदेखि लिएर गृह एवम् परराष्ट्रमन्त्री माधव घिमिरेसम्म भेटेका उनले नेपालमा स्थायित्व भएको बेइजिंगले हेर्न चाहेको र मंसीरका लागि तोकिएको चुनाव त्यो दिशामा अघि बढ्न सहायक हुने धारणा राखेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।

मंगलवारै उनको उपस्थितिमा निर्वाचन आयोगलाई सघाउनेसम्बन्धी करिब साढे १५ करोड रुपैयां बराबरको सम्झौतामा हस्ताक्षर भयो। सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको तालिम र क्षमता अभिवृद्धिका लागि काठमाडौमा करिब ४ अर्ब बराबरको प्रतिष्ठान बनाउने तथा वार्षिक ३ अर्बभन्दा बढीको आर्थिक तथा प्राविधिक सहयोग गर्नेसम्बन्धी सम्झौताहरु भएका थिए।

स्वदेश फर्कनुअघि चीनकै सहयोगमा शुरु गर्न लागिएको राजधानीको चक्रपथको सुधार योजनाको उदघाटन गर्न एक स्थानीय पांच तारे होटल पुगेका यांगले उक्त योजनालाई हिमालय वारिपारिको गहिरो मित्रताका रुपमा चित्रण गरे।

"अहिले हामी मित्रता र सहकार्यको अर्को महत्वपूर्ण मोडमा छौं। हामीले हाम्रो पार्टीको १८ औ सम्मेलन सफलतापूर्वक सम्पन्न गर्यौ र त्यो केवल सरकार परिवर्तन मात्रै थियो। चीन र नेपालबीचको दरिलो एव्म गहिरो मित्रता र सहकार्य भने परिवर्तन भएको छैन। यो अझै गहिरो हुंदै जानेछ।"

यांग जेइची,चिनियां स्टेट काउन्सिलर

उनले नेपाल र चीनको द्धिपक्षीय सम्बन्ध अहिले महत्वपूर्ण मोडमा रहेको चर्चा गर्दै नयां चिनियां नेत्तृत्वले त्यो सम्बन्धलाई थप उचाईमा पुर्‍याउने प्रतिवद्धता पनि व्यक्त गरे। उनले भने,“अहिले हामी मित्रता र सहकार्यको अर्को महत्वपूर्ण मोडमा छौं। हामीले हाम्रो पार्टीको १८ औ जनकंग्रेस सफलतापूर्वक सम्पन्न गर्‍यौं र त्यो केवल सरकार परिवर्तन मात्रै थियो। चीन र नेपालबीचको दरिलो एवं गहिरो मित्रता र सहकार्य भने परिवर्तन भएको छैन। यो अझै गहिरो हुंदै जानेछ।”

प्राथमिकता

यसरी नेपाल बेइजिंगको उच्च प्राथमिकतामा रहेको प्रष्ट संकेत दिइरहंदा उनले आफनो छिमेक संवदेशनशील रहेको सार्वभौमसत्ताको विषयलाई पनि छुन छुटाएनन्।

उनले भने,“राजनीतिक रुपमा भन्नुपर्दा हामी एक अर्कोको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई साथ दिन दरिलो भएर उभिन्छौं।”

यांगले बेइजिंगको विदेश नीति तय गर्न प्रभावशाली भूमिका खेल्ने विश्वास गरिन्छ। चीनका तात्कालीन प्रधानमन्त्री वेन जियाबाओको भ्रमण भएको एक वर्ष नबित्दै यांग जस्ता उच्चअधिकारीको काठमाडौं दौडाहाले पनि नेपालप्रति बेइजिंगको प्राथमिकता झल्काउने कतिपय विश्लेषकहरुले बताएका छन्।

दक्षिण छिमेकी भारतको नेपालमा परम्परागत प्रभावको चर्चामाझ अर्को छिमेकी चीनले पनि आफनो चासो बढाउंदै लगेको रुपमा यांगको भ्रमणलाई उनीहरुले अर्थाएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।