मण्डेलाको अवस्था गम्भीर

  • 24 जुन 2013
नेल्सन मण्डेला
मण्डेलाको स्वास्थ्य अवस्थालाई लिएर दक्षिण अफ्रिकामा चिन्ता बढेको छ

दक्षिण अफ्रिकाका पूर्व नेता नेल्सन मण्डेलाको स्वास्थ्य अवस्था गम्भीर भएको त्यहांका राष्ट्रपतिले बताएका छन्।

मण्डेलालाई अस्पतालमा भेटेपछि एक वक्तव्य जारी गर्दै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले पछिल्लो २४ घण्टामा उनको अवस्था बिग्रिएको बताएका हुन्।

अस्पताल पुगी जुमाले मण्डेलाकी पत्नी तथा उपचारमा संलग्न चिकित्सकहरुको टोलीसंग कुराकानी गरेका थिए।

वक्तव्यमा उनले चिकित्सकहरुले मण्डेलाको अवस्थामा सुधार ल्याउन हरसम्भव प्रयत्न गरिरहेको पनि उल्लेख गरेका छन्।

दक्षिण अफ्रिकाका यी पहिलो अश्वेत राष्ट्रपतिलाई स्नेहपूर्वक बोलाइने मडिबा नामबाट सम्बोधन गर्दै जुमाले भने, “चिकित्सकहरुले मडिबाको हेरचाहमा कुनै कसर बांकी राखेका छैनन्। उनी राम्रा व्यक्तिहरुको हातमा छन्।”

प्रार्थना

जुन महिनाको शुरुवातमा सिकिस्त बिरामी भएपछि मण्डेलालाई अस्पताल भर्ना गरिएको थियो।

त्यसको केही दिनपछि उनको स्वास्थ्यमा सुधार आएको बताइए पनि पछिल्लो केही समय भने उनको अवस्थाबारे कमै मात्रै जानकारी थियो।

जुमासंगै अस्पताल पुगेका सत्तारुढ दल अफ्रिकन नेशनल कंग्रेस एएनसीका उपनेता साइरिल रामाफोसाले मण्डेला र उनको उपचारमा सक्रिय चिकित्सकहरुको टोलीका लागि प्रार्थना गर्न अपील गरेका छन्।

जुमाका प्रवक्ता म्याक महाराजले बीबीसीको न्यूज आवरसंग कुराकानी गर्दै अहिलेको समय मण्डेलाको परिवारका लागि अत्यन्तै तनावयुक्त समय भएको उल्लेख गर्दै उनीहरुको गोपनीयताको सम्मान गर्न अपील गरेका छन्।

चिन्ता

जोहान्नेसवर्गस्थित बीबीसीका संवाददाता एन्ड्रयु हार्डिंगले मण्डेलाको स्वास्थ्य अवस्था गम्भीर भनेर व्याख्या गरिनु धेरै दक्षिण अफ्रिकीका लागि चिन्ताको विषय हो किनकी उनीहरु मण्डेलालाई आफ्नो परिवारको सदस्यका रुपमा हेर्ने गर्छन्।

त्यसैले पनि उनको स्वास्थ्य अवस्थाबारे सरकारले नियन्त्रित ढंगले सूचनाहरु सम्प्रेषण गरिरहेको छ।

श्वेत अल्पसंख्यकहरुको शासनविरुद्ध संघर्षलाई उनले प्रदान गरेको नेत्तृत्व र तत्पश्चात २७ वर्षसम्म जेलमा रहेरपनि मेलमिलापको पक्षमा आफूलाई उभ्याएकोमा मण्डेलालाई निकै सम्मानका साथ हेरिन्छ।

जेलबाट छुटेको तीन वर्षपछि उनले उक्त योगदानका लागि नोबेल शान्ति पुरस्कार पाए।

सन् २००४ मा सार्वजनिक जीवनबाट सन्यास लिएका मण्डेलालाई पछिल्लो केही वर्ष फोक्सोको समस्याले सताएको थियो।