साउनभित्र सहमति गर: निर्वाचन आयोग

  • 19 जुन 2013
मोहन बैद्य
नेकपा माओवादीले चुनाव बहिष्कार गर्ने बताउँदै आएको छ

निर्वाचन आयोगले मंसीर चार गतेका लागि तय भएको संविधानसभाको दोस्रो निर्वाचन गराउन साउन मसान्तभित्र राजनीतिक सहमतिको वातावरण बनिसक्नु पर्नेमा जोड दिएको छ।

आयोगले बुधवार सतारुढ मुख्य चार शक्ति र असन्तुष्ट दलहरुलाई आफ्नो कार्यालय बहादुर भवन बोलाएर चुनावका लागि विवादित विषयमा चांडै सहमति गर्न आग्रह गरेको हो।

आन्दोलनरत मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी उक्त छलफलमा सहभागी भएपनि मोहन बैद्य नेतृत्वको नेकपा माओवादी बैठकमा सहभागी भएन।

यसअघि निर्वाचन आयोगले मंगलवार चुनावी कार्यतालिका सार्वजनिक गरेको थियो।

आग्रह

बुधबारको छलफलमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मंसीर चार गते चुनाव गराउन सतारुढ र असन्तुष्ट दलहरु दुवै लचिलो भएर सहमतिमा पुग्नुपर्ने धारणा राखेका थिए।

“भदौ एक गतेदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु गर्नुपर्ने हुनाले त्यो अघि नै आवश्यक राजनीतिक सहमति गरेर दलहरुले चुनावी वातावरण बनाउनुपर्छ,” उप्रेतीले बताए।

सरकारले अघिल्लो हप्ता संविधानसभाको निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले बुधबार पहिलोपल्ट दलहरुसँग सामुहिक छलफल गरेको हो।

एकतर्फी रुपमा चुनावको मिति घोषणा गरीएको भन्दै सरकारसँग वार्ता गरिरहेका अशोक राई नेतृत्वको संघीय समाजवादी र उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल, मोहन बैद्य नेतृत्वको माओवादीसँग मिलेर संयुक्त आन्दोलन गरीरहेका छन्।

समानुपातिक सिट

बुधबारको बैठकमा सहभागी संघीय समाजवादी पार्टीका नेता रिजवान अन्सारीले विगतको संविधानसभा चुनावमा जस्तै यसपटक पनि प्रत्यक्ष निर्वाचन प्रणालीको भन्दा समानुपातिकको सिट संख्या बढाइए उनको दल चुनावमा सहभागी हुने बताए।

उनले भने, “विगतको संविधानसभाको समानुपातिकको प्रतिशत र संख्या घटाएर अनावश्यक बखेडा झिकिएको छ, त्यो सच्याइनुपर्छ, हामी चुनावमा भाग लिन आतुर छौं।”

हालै जारी अध्यादेशमा भावी स‌ंविधानसभामा कूल प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा २४०/२४० स्थान र मनोनित ११ गरी कुल सिट संख्या ४९१ मा झारिएको थियो।

समानुपातिकको सिट संख्या र प्रतिशत बढाउन एकीकृत माओवादी सकारात्मक देखिएपनि यस विषयमा सत्तापक्षीय दलहरु बीच नै विवाद रहेको छ।

बैठकमा अनुपस्थित नेकपा माओवादीले वर्तमान सरकारको राजीनामालाई मुख्य शर्त बनाउदैं मंसीर चार गतेका लागि तोकिएको चुनाव बहिष्कार गर्ने बताउँदै आएको छ।

जिम्मा

एकीकृत माओवादीका महासचिव पोष्टबहादुर बोगटीले निर्वाचनको वातावरण बनाउने जिम्मा आन्दोलनरत दलको पनि भएको बताए।

उनले भने, “उहाँहरु चुनावमा आउनुहुन्छ भन्ने हामीलाई लागेको छ। यदि त्यसो हुन सकेन भने छुट्ने दलहरु छुट्छन।”

निर्वाचन आयोगले गरेको संयुक्त छलफलमा मुख्य दलका नेताहरुले निर्धारित मितिमा चुनाव हुने वातावरण बनाउन आफूहरु लचिलो हुने प्रतिबद्धता जनाएका थिए।