प्रधानन्यायाधीश नछाड्ने रेग्मीको संकेत

  • 14 जुन 2013
निर्वाचन आयोग
रेग्मीले असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी हुन अपील गरेका छन्

आफु न्यायिक भूमिकाबाट टाढा रहेको उल्लेख गर्दै अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले शक्ति पृथकीकरणप्रतिको आफ्नो प्रतिबद्धतामा शंका नगर्न अपील गरेका छन्।

केही असन्तुष्ट पक्षबाट प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु पर्ने माग भइरहेका बेला रेग्मीको उक्त भनाइलाई उनी राजीनामा दिन तयार नरहेको अडानको रुपमा हेरिएको छ।

सरकारले चुनावको तिथि घोषणा गरेको भोलिपल्ट देशवासीका नाममा सम्बोधन गर्दा रेग्मीले असन्तुष्ट दलहरुलाई वार्ताको निम्ति अपील मात्रै गरेनन् अधिकांश समय आफ्नो भूमिकाबारे आलोचकहरुलाई आश्वस्त पार्न खर्चिएका थिए।

संकेत

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी सरकार खारेजीको अडानमा रहेपनि असन्तुष्ट केही दलले चुनावमा सहभागी हुन रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु पर्ने शर्त सरकारसँगको वार्ताकै टेबुलमा राखेका छन्।

तर उक्त वार्ता अनिर्णित अवस्थामै रहेका बेला सरकार सम्हालेको करिब तीन महिनापछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्दा रेग्मीले राजीनामा नदिने संकेत दिए।

उनले भने, “शक्ति पृथकीकरणको मूलभूत मान्यता एउटै व्यक्ति वा निकायले पृथक प्रकृतिको अधिकार प्रयोग गर्नुहुंदैन र कार्यपालिकाको काम कारवाहीमा सदैव न्यायिक नियन्त्रण रहनुपर्छ भन्ने हो। अहिले मेरो भूमिका न्यायपालिकाबाट पृथक रहेको सन्दर्भमा त्यसप्रति शंका नगर्न आग्रह गर्छु”।

कान'न व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन शुरुदेखि नै प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने निर्णयको विपक्षमा छ।

सम्बोधनका क्रममा उनले आफू न्यायिक भूमिकाबाट टाढा रहेको उल्लेख गर्दै बारम्बार आफ्नो निष्पक्षतामाथि आंशका नगर्न आग्रह गरे।

प्रधानन्यायाधीशले कार्यपालिकाको जिम्मेवारी सम्हाल्नु परेको घटनालाई मुलुकको विशेष परिस्थितिसंग जोड्दै उनले भने,“विशिष्ट परिस्थिति रहेको हाम्रो अवस्थामा प्रधानन्यायाधीशले कार्यापालकीय भूमिका निर्वाह गरेको अवस्था अपवादका रुपमा मात्रै प्रयोग भएको हो। यसो हुंदा पनि यो अवस्था तदर्थ र अस्थायी प्रकृतिको हो ।”

असन्तुष्टि

आफूहरुको आग्रह बेवास्ता गर्दै सरकारले चुनावको मिति घोषणा गरेको भन्दै नेकपा माओवादी, मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी लगायतले चर्को असन्तुष्टि जनाएका छन्।

मन्त्रिपरिषद अध्यक्ष रेग्मीले सिंहदरबारबाट चुनाव सफल बनाउन सबैलाई अपील गर्दै गर्दा नजिकै न्यूरोड-रत्नपार्क क्षेत्रमा विरोध प्रदर्शन गरेका असन्तुष्ट दलहरुले आफ्ना माग सम्बोधन नभए चुनावी प्रक्रियालाई सहज रुपमा अघि बढ्न नदिने चेतावनी दिइरहेका थिए।