क्यामरनद्वारा हमलाकारीहरुको निन्दा

  • 23 मे 2013
लण्डन  प्रहरी
सैनिकको हत्या भएको स्थलमा लण्डन प्रहरीले पहरा दिइरहेको छ

ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले, लण्डनमा हिजो एकजना सैनिकको हत्या भएको घटना, देशविरुद्ध गरिएको आक्रमणमात्र नभई इस्लाम र मुसलमान समुदायप्रति गरिएको धोका समेत भएको बताएका छन्।

दक्षिणपूर्वी लण्डनस्थित एउटा ब्यारेक नजीकै भएको उक्त आक्रमणको एकदिन पछि बोल्दै प्रधानमन्त्री क्यामरनले ब्रिटेनले आतंकवादलाई परास्त गर्ने र उनकै शब्दमा, उग्रवादको विषालु अर्थ्याईलाई चुनौती दिने बताएका छन्। ति सैनिकलाई आक्रमण गर्नेहरुले इस्लामवादी नारा लगाएका थिए।

ब्रिटिश प्रधानमन्त्रीले आफूले आक्रोशको बलमा कुनै ठूलो प्रतिक्रिया नजनाउने बताउंदै आतंकवादलाई परास्त गर्नका लागि सबैले आफ्नो सामान्य जीवनलाई अगाडि बढाउनु पर्ने बताए।

खोजी

ब्रिटेनको राजधानी लण्डनको वुलिच क्षेत्र स्थित एउटा सैनिक ब्यारेक नजीकै बुधबार दिउंसो दुईजना व्यक्तिले इस्लामी नाराहरु लगाउंदै एकजना सैनिकलाई धारिलो हतियार प्रयोग गरी मारिदिएपछि, प्रहरीले त्यस स्थानमा विस्तृत खोजी कार्य गरिरहेको छ।

ती सैनिकको नाम ली रिग्बी भएको बताइएको छ।

आतंकवाद विरोधी प्रहरी इकाईले उक्त घटनाको अनुसन्धान गरेपछि सरकारको राष्ट्रिय सुरक्षा कमिटिको आपतकालिन बैठक समेत बसेको थियो।

उक्त घटनामा संलग्न दुवैजना ब्रिटेनको गुप्तचर निकायको नजरमा पहिले देखि नै रहेका ब्रिटिश सरकारी सूत्रले बीबीसीसंग पुष्टि गरेको छ।

ती मध्ये एकजनालाई गत बर्ष ब्रिटेनबाट बाहिर जान लाग्दा प्रहरीले सोधपुछ गरेको बताइएको छ। ती दुवै हमलाकारीलाई प्रहरीले गोली हानी घाइते तुल्याएर पक्राउ गरेको थियो।

तिनीहरुलाई सशस्त्र सुरक्षा सहित अस्पतालमा राखिएको छ।

विवरणहरुका अनुसार ती दुबै जना नाइजेरियाली मूलका हुन् तर इस्लामवादी समूह बोको हरामसित तिनीहरुको कुनै सम्बन्ध नरहेको ठानिएको छ।

हमला

अनुसन्धानमा लण्डन प्रहरी
प्रहरीले घटनास्थल वरपर अनुसन्धान गरिरहेको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार ति सैनिकलाई अल्लाहू अकबरको नारा लगाउंदै दुईजना हमलाकारीहरुले धारिलो हतियारले काटेका थिए।

तिनीहरुले आक्रमणपछि भाग्ने कुनै प्रयास नगरेको र वरपरका मानिसहरुलाई आफूहरुको तस्वीर खिच्न भनेका थिए।

घटना घटेको केहि समय पछि नै हातभरी रगत लतपतिएका एकजना हमलाकारीले ब्रिटिश सैनिकहरुले हरेक दिन मुसलमानहरुको हत्या गर्ने गरेकाले आफूले उक्त आक्रमण गरेको दावी गर्दै गरेको भिडियो एकजना बटुवाले खिचेका थिए।

उक्त घटनापछि लण्डनमा रहेका सैनिक ब्यारेकहरुमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ।

बीबीसीलाई प्राप्त जानकारी अनुसार रक्षा मन्त्रालयले सशस्त्र सैन्यका सदस्यहरुलाई अरुबेलामा भन्दा बढी सतर्क रहन बाहिरफेर निस्कंदा आआफ्नो युनिफर्म छोप्न भनेका छन्।

लण्डनका मेयर बोरिस जोन्सनले सैनिकको हत्याको आरोप इस्लाम वा ब्रिटिश विदेश नीति माथि लगाउनु गलत हुने बताए।

ती सैनिकमाथि हमला गर्नेहरुको साथबाट छुरी, मासु काट्ने चुप्पी र एउटा बन्दूक फेला परेको छ।