राजधानीको अग्नि सुरक्षाबारे प्रश्न

  • 17 मे 2013
ठमेलमा आगलागी
ठमेलको नाम चलेको पुस्तक पसल पील्ग्रीम्स रहेको घरबाट आगलागी शुरु भएको थियो

बिहीबार राती अकस्मात लागेको आगोका कारण राजधानीको पर्यटकीय स्थल ठमेलमा आधा दर्जन पसलहरु ध्वस्त भएको र त्यति नै संख्यामा अन्य पसलहरुमा पनि क्षति पुगेको प्रहरीले बताएको छ।

आगो नियन्त्रणमा लिन १२ घन्टा भन्दा बढी समय लागेको अग्नी नियन्त्रकहरुले जनाएका छन्।

सो घटनापछि राजधानीमा अग्नि नियन्त्रणको भरपर्दो संरचना नरहेकोबारे प्रश्न उठेका छन्।

छरपष्ट

एउटा नाम चलेको पुस्तक पसल पील्ग्रीम्स बुक्स हाउस रहेको घरबाट आगलागी शुरु भएको थियो।

उक्त घर पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो।

जलेका पुस्तकहरु र अन्य सामाग्रीहरु सडकैभरि छरपष्ट थिए।

दुई तल्लाको उक्त घरमा रहेको पील्ग्रीम्स पुस्तक पसलसहित दुईवटा रेष्टुरेन्ट र एउटा क्युरियोको पसल ध्वस्त भएको छ।

आगलागीका कारण आसपासका केही घर तथा पसलहरुमा समेत क्षति पुगेको थियो।

प्रश्न

बिहीबार राती शुरु भएको आगो नियन्त्रणमा लिन निकै लामो समय लागेको थियो।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले भने, "रातभरि काठमाण्डौ भरिका दमकल, झण्डै छ सय सुरक्षाकर्मी र स्थानीयवासी मिलेर आगो नियन्त्रणको प्रयास गर्दा पनि निकै गाह्रो भयो। पुरै ठमेल नै आगोको चपेटामा पर्ला भनेर सबै त्रसित थियौं। खासमा दमकल छिराउन गाह्रो र साँघुरो भएकोलेपनि आगो सहजै नियन्त्रणमा नआएको हो।"

पूर्णरुपमा क्षतिग्रस्त भएको शिशा बारका मालिक अमरबहादुर श्रेष्ठ भने वारुणयन्त्र र अग्नि नियन्त्रकहरु उच्च गुणस्तरको नभएकाले ठूलो क्षति बेहोर्नु परेको बताए।

काठमाडौंमा रहेको अग्नि नियन्त्रण संयन्त्र ७६ वर्ष पुरानो भइसकेको छ।

७६ वर्ष अघिको र अहिलेको काठमाडौंको स्वरुप र जनसंख्यामा पनि धेरै फरक आइसकेको छ।

जुद्ध वारुणयन्त्रका कार्यालय प्रमुख लिलाराज गच्छामगरका अनुसार काठमाडौंमा कम्तीमा थप चारवटा वारुणयन्त्र कार्यालय खोल्न जरुरी भइसकेको छ।

उनले भने, “हामीले त्यसका लागि स्थानीय विकास मन्त्रालयमा ६ महिना जति अघि एउटा गुरुयोजना पेश गरिसकेका छौं।”

बानेश्वर या कोटेश्वर, महाराजगन्ज, कुलेश्वर, स्वयंभु या नयाँ बजारतिर गरी चारवटा उपवारुणयन्त्र कार्यालयको प्रस्ताव गरिएको मगरले बताए।

नयाँ बन्ने घरहरुमा आगो लाग्न सक्ने संभावना दृष्टिगत गर्दै नक्शा पास गर्दा नै आगो नियन्त्रण संयन्त्र पनि राखिनुपर्ने वाध्यकारी व्यवस्था गर्न आवश्यक भइसकेको उनको धारणा थियो।