अख्तियार प्रमुख नियुक्त गर्न परिषद् बैठक

सिंहदरवार
अख्तियार प्रमुखमा प्रस्तावित कार्कीको छवीका कारण सिंहदरवारमा आइतवार हुने बैठकले धेरैको ध्यान खिचेको छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्तिबारे सम्वैधानिक परिषद्ले छलफल शुरु गर्न लागेको छ।

आइतवारको बैठक त्यसकै निम्ति डाकिएको बुझिएको छ।

तर उक्त बैठकको विषय सूचिबारे स्वंय सदस्य एवं मन्त्री बेखबर छन्।

परिषद् सदस्य तथा सरकारका प्रवक्ता माधव पौडेलले भने, "हामीलाई पठाइएको चिठीमा परिषदबाट हुने काम कारवाहीबारे छलफल गर्न बैठक डाकिएको मात्र भनिएको छ, थप केही उल्लेख छैन्।"

चर्चामा कार्की

मन्त्रिपरिषदकै सदस्यसँगको परामर्श वा उनीहरुलाई जानकारी नदिइ बैठक डाकिएकाले मन्त्री पौडेले रुष्ट बनेको खबर प्रकाशमा आएको छ।

त्यस्ता खबरहरुमा लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन नै मन्त्रिपरिषद् अध्यक्ष रहेका परिषद अध्यक्ष खिलराज रेग्मीले बैठक डाकेको अड्कल काट्दै मन्त्री पौडेल उक्त प्रयासको विपक्षमा उभिने मनस्थितिमा रहेको जनाइएको थियो।

बीबीसीसँगको कुराकानीमा उनले भने, "बैठकमा प्रवेश नै नगरेको विषयमा यस्तो वा उस्तो गर्छु भनेर मैले कसैलाई पनि भनेको छैन्।"

कार्कीलाई अख्तियार प्रमुख बनाउने बाटो बन्द गर्ने माग सर्वोच्च अदालतले अस्वीकार गरे लगत्तै परिषद बैठक डाकिएकाले त्यसबारे छलफल हुने अनुमान अस्वाभाविक होइन्।

चार दलको उच्च समितिले कार्कीको नाम अख्तियार प्रमुखको रुपमा सिफारिस गरिसकेको छ।

'पक्का तर पछि'

नेकपा एमालेले त्यो सिफारिस त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेपछि उक्त प्रकरण थप बल्झिएको हो।

एमालेकै सिफारिसमा मन्त्री बनेका भनिएका पौडेल र सरकार प्रमुख खिलराज रेग्मीबीच शनिवार कुराकानी भएको थियो।

तर त्यस्तो जल्दो बल्दो विषयमा कुनै कुरा नभएको पौडेललको भनाइ छ।

उनले भने, "भोलिका विभिन्न बैठकहरुबारे कुराकानी भए तर परिषदको एजेण्डामा प्रवेश नै गरिएन्।"

एकथरी सरकारी उच्च अधिकारीका भनाइमा चर्चा र विवादका पात्र बनेका शाहीकालीन मुख्य सचिव कार्कीलाई अख्तियार प्रमुख बनाउनेबारे बैठकमा छलफल हुनेछ र ढिलो चाँडो उनी नियुक्त हुने सम्भावना करिब पक्का जस्तै छ।