सहमतिको धेरै नजिक पुगेको नेताहरूको दावी

पछिल्लोपल्ट अपडेट गरिएको: 07.03.13, 20:26 NST सम्मका समाचार

सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ पर सरेपनि दलहरुले सहमती खोज्ने प्रयत्न जारी राखेका छन्

प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने दलहरुको प्रयत्न विरुद्ध परेको रिटको बिहीवार शुरु हुने भनिएको रिटको सुनुवाइ एक हप्ता पछाडि सरेको छ।

त्यसले तत्काल सरकार बनाउने भन्ने दलहरुको प्रयत्नमा धक्का लागेको छ।

चुनावी वातावरण बनाउन गरिनुपर्ने अन्य विषयमा सहमति खोज्ने प्रयत्नको चार राजनीतिक समुहको शीर्ष नेताहरु सम्मिलित बैठकले पनि ठोस सहमति गरेको छैन।

तैपनि दलहरुले सहमति बन्नेमा जोड दिन छाडेका छैनन्।

चुनावी सरकार प्रमुखका रुपमा प्रस्तावित प्रधान न्यायाधीश खिलराज रेग्मीसँग केही समयअघि दोहोरो वार्तालाप गरेपछि उनका माग बमोजिमका सहमति खोज्ने दलहरुको प्रयत्न सर्वोच्च अदालतमा परेको एउटा रिटपछि अलमलमा परेको थियो।

प्रतीक्षा

"चैत एकका लागि निर्धारित गरिएको रिट र आजको रिट उस्तै प्रकृतिको भएकाले सँगै निर्णय गर्न न्यायधीशहरुले सार्ने निर्णय गर्नुभएको छ"

हेमन्त रावल, सह प्रवक्ता, सर्वोच्च अदालत

न्यायालयको निर्णय नआइ अगाडि नबढ्ने प्रधान न्यायाधीशको अडानपछि दलहरु रीटमाथि सुनुवाइ शुरु हुनेदिनको प्रतिक्षामा थिए।

तर त्यो प्रतीक्षा अब कम्तिमा एक हप्ता पछाडि सरेको छ।

सर्वोच्च अदालतका सह प्रवक्ता हेमन्त रावलले भने, "चैत एकका लागि निर्धारित गरिएको रिट र आजको रिट उस्तै प्रकृतिको भएकाले सँगै निर्णय गर्न न्यायधीशहरुले सार्ने निर्णय गर्नुभएको छ।"

रिटमाथिको सुनुवाइ सारिएको केही समयपछि बिहीवारै चार राजनीतिक समुहका शीर्ष नेताहरुको बैठक बसेको थियो।

जमर्को

दलहरुले मतदाता नामावली, समायोजन रोजेका माओवादी लडाकुहरुको दर्जा निर्धारण, र विभिन्न आयोग गठनबारे सहमति खोज्ने जमर्को गरिरहेका छन्।

"सहमति पत्र र बाधा अडकाउ फुकाउबारे व्यापक छलफल भयो। हामी सहमतिको धेरै नजिक पुगेका छौं। भोली कार्यदलले अन्तिम रुप दिन्छ"

झलनाथ खनाल, अध्यक्ष, एमाले

आफूहरु नीतिगत रुपमा नजिक पुगिसकेको दावी नेताहरुले दोहोर्‍याए पनि ठोस सहमति हुन सकेको छैन।

बैठकमा सहभागी एमाले अध्यक्ष झलनाथ खनालले भने, "सहमति पत्र र बाधा अडकाउ फुकाउबारे व्यापक छलफल भयो। हामी सहमतिको धेरै नजिक पुगेका छौं। भोली कार्यदलले अन्तिम रुप दिन्छ।"

निर्वाचन आयोगले चुनाव गर्न कम्तिमा १२० दिन आवश्यक पर्ने बताउँदै आएको छ।

अब जेठ मसान्तमा चुनाव गरेपनि त्यती समय बाँकी छैन।

जेठमा चुनाव हुने संभावना लगभग टरिसकेको कतिपयको बुझाइ छ तर दलहरुले बिहीवारको बैठकबाट बाहिरिँदा पनि जेठमै निर्वाचन गराउनका लागि आफूहरुको प्रयत्न रहेको बताएका थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।