‘एमालेका कारण सहमतिमा ढिलाइ’

पछिल्लोपल्ट अपडेट गरिएको: 04.03.13, 20:36 NST सम्मका समाचार
विपक्षीको विरोध

गएको नौ महिनादेखि जारी राजनीतिक गतिरोध तोड्ने प्रयास अझै सार्थक भएको छैन।

प्रमुख दलका शीर्ष नेताहरुद्वारा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन आवश्यक राजनीतिक सहमतिको खाका बनाउन जिम्मा दिइएको कार्यदलका एकजना सदस्य तथा सत्ताधारी मधेशी मोर्चा सम्बद्ध एक नेताले सहमति ढिलाइ हुनुमा विपक्षी नेकपा एमालेलाई दोषी देखाएका छन्।

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका नेता तथा कार्यदलका सदस्य जीतेन्द्र देवले अन्य तीन पक्ष सहमतिको निकै नजिक पुगिसकेको बताए।

“सहमति कहिले नजिक कहिले टाढा पुग्ने क्रम जारी छ। अन्तत: नेपाली कांग्रेस, मधेशी मोर्चा अनि एकीकृत माओवादी सहमतिको नजिक पुगेका छन्। तर सबै विवादित विषयमा एमालेको अडानका कारण सहमति हुन सकेको छैन,” उनले भने।

अस्वीकार

तर नेकपा एमालेका नेताहरु यस्तो आरोप स्वीकार्दैनन्।

"पहिले जे स्थिति थियो, अहिलेपनि त्यही स्थिति छ। दलका शीर्ष नेताहरुले पछिल्लो चरणमा के कुरा गरे त्यो त कार्यदल तहमा आइपुगेकै छैन"

भीम रावल, नेता, नेकपा एमाले

सहमति टुंगिने हिसाबले प्रगति अझै भइ नसकेको उनीहरुको भनाइ छ।

कार्यदलका सदस्य तथा एमाले नेता भीम रावलले भने, “पहिले जे स्थिति थियो अहिलेपनि त्यही स्थिति छ। दलका शीर्ष नेताहरुले पछिल्लो चरणमा के कुरा गरे त्यो त कार्यदल तहमा आइपुगेकै छैन।”

सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी कानुन, माओवादी पूर्वलडाकूहरुको नेपाली सेनामा दर्जा मिलान, नागरिकता तथा मतदाता नामावलीसम्बन्धी चारवटा विषयमा कुरा मिल्न बाँकी रहेको नेताहरुको भनाइ छ।

विवादित विषयमध्ये सत्य निरुपण आयोग स्थापित अन्तर्राष्ट्रिय मान्यता अनुरुपको हुनुपर्ने; दर्जा मिलानको मुद्दामा माओवादीले भनेजस्तो राजनीतिक निर्णयको आधारमा पूर्व लडाकूलाई एक फुल कर्णेल र दुई कर्णेल दिन नमिल्ने र त्यसको छिनोफानो विशेष समितिमार्फत गरिनुपर्ने; तथा मतदाता नामावली नागरिकताको आधारमा मात्रै हुनुपर्ने जिकिर आफ्नो दलको रहेको रावलले बताए।

काठमाण्डूस्थित हाम्रा संवाददाता भन्छन्, नयां चुनावी सरकारको नेतृत्व कसले गर्ने भन्ने अझै अनिश्चित रहेकाले आउंदो जेठमा हुने भनिएको ताजा चुनावको संभावना पर सर्दै गएको धेरैको अनुमान छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।