सहमतिको अन्तिम जमर्को: प्रचण्ड

पछिल्लोपल्ट अपडेट गरिएको: 09.02.13, 20:59 NST सम्मका समाचार

प्रचण्डले सहमतिको अन्तिम जमर्को गर्ने बताएका छन्

एकीकृत माओवादीको महाधिवेशन सकिएको भोलीपल्ट शनिबार राष्ट्रपति रामबरण यादवले प्रमुख दलका मुख्य नेताहरुलाई परामर्शका लागि शीतल निवास निम्त्याएका छन्।

माओवादी अध्यक्ष प्रचण्डले राजधानी फर्कने क्रममा चितवनमा राष्ट्रपति निवासमा हुने मुख्य दलहरुबीचको शनिबारको बैठक महत्वपूर्ण हुने बताएका थिए।

बैठकमा मुख्य चार राजनीतिक शक्तिका शीर्ष नेताहरु निम्त्याइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यो समाचार तयार पारुन्जेल बैठकको विस्तृत विवरण प्राप्त भइसकेको छैन।

चुनाव

हेटौडामा भएको सातौ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनेर काठमाडौं फर्कनेक्रममा चितवनमा बीबीसीसँग माओवादी अध्यक्ष प्रचण्डले दलहरुसँग छिटै सहमति गरेर निर्वाचनमा जाने बताए।

"अहिलेको असहज राजनीतिक परिस्थितिको अन्त्य गर्ने हाम्रो जमर्को छ। शायद यो अन्तिम जमर्को हुन्छ र छिटै देशले निकास पाउँछ"

पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष, एकीकृत माओवादी

उनले भने, "अब सहमति गरेर दलहरुलाई चुनावमा लाने हो।"

बहालवाला प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएर जाने प्रस्ताव विपक्षीहरुले विरोध गरेको मान्न समेत उनी तयार थिएनन्।

उनले मुख्य दलका शीर्ष नेताहरु आफ्नो उक्त प्रस्तावमा सकारात्मक रहेको दावी समेत गरे।

जमर्को

माओवादीको महाधिवेशन सँगसँगै दोश्रो चरणको सरकार विरोधी आन्दोलन समेत सम्पन्न गरेका विपक्षी दलहरुसँग मिलेर गर्ने अबको जमर्को साँच्चिकै फलदायी हुने प्रचण्डले बताए।

उनले भने, "आज साँझ राष्ट्रपतिकहाँ मुख्य दलहरुको बैठक छ। अहिलेको असहज राजनीतिक परिस्थितिको अन्त्य गर्ने हाम्रो जमर्को छ। शायद यो अन्तिम जमर्को हुन्छ र छिटै देशले निकास पाउँछ ।"

राजनीतिक गतिरोध अन्त्यका लागि मुख्य राजनीतिक दलहरुबीचको सहमति आवश्यक छ। तर माओवादी र मुख्य विपक्षीबीच चर्को अविश्वास कायम छ।

चितवनस्थित बीबीसीका संवाददाता भन्छन्, प्रचण्डले आपसी अविश्वास चिर्न सके भने दलहरुबीच सहमति बन्न सक्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।