सहमति नगरे आन्दोलन चर्काउने चेतावनी

पछिल्लोपल्ट अपडेट गरिएको: 08.02.13, 21:10 NST सम्मका समाचार
सुशील कोइराला र झलनाथ खनाल

विपक्षीहरुले सहमतिको लागि सत्तारुढ माओवादीमाथि निरन्तर दबाब बढाइरहेका छन्

सत्ताधारी एकीकृत माओवादीविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदै विपक्षी दलका नेताहरुले शुक्रबार राजधानी काठमाण्ड‍ूमा आयोजित आमसभाबाट सहमतिको लागि तयार नभए वर्तमान सरकार विरुद्ध, तिनकै शब्दमा, आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन्।

गत माघ ६ गतेदेखि थालेको सरकारविरोधी कार्यक्रमको पहिलो चरणको समापन गर्दै विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले सहित नौ दलका नेताहरुले माओवादी नेतृत्वको सरकारको कडा आलोचना गरेका थिए।

तीन साताअघि दैलेखबाट सरकारविरोधी कार्यक्रम थालेका विपक्षी दलहरुले माओवादीका नेताहरु हेटौंडा महाधिवेशनबाट फर्किए लगत्तै सहमतिको निम्ति तयार नभए आफूहरु सरकारविरुद्ध संयुक्त आन्दोलन थाल्न वाध्य हुने संकेत गरे।

देश थप संकटमा भासिनुको दोष सत्तारुढ माओवादीलाई लगाउँदै नेकपा एमालेका अध्यक्ष झलनाथले भने, “सरकार सुन्दैन, हाम्रा कुरा सुनोस्: हेटौंडाबाट फर्किएलगत्तै वार्ता गरोस् समस्या समाधान गरोस्।”

‘झुसे बारुलो’

"माओवादी यदि सहमति गर्दैन भने आच्छ्युँ खाएँ बाच्छ्युँ खाएँ झुसे बारुलो; यो सरकार विरुद्ध संयुक्त आन्दोलनको आँधी बेहरी ल्याउनु पर्छ"

झलनाथ खनाल, अध्यक्ष, एकीकृत माओवादी

“यदि गर्दैन भने आच्छ्युँ खाएँ बाच्छ्युँ खाएँ झुसे बारुलो; यो सरकार विरुद्ध संयुक्त आन्दोलनको आँधी बेहरी ल्याउनु पर्छ।”

त्यस्तो चेतावनी दिएपनि खनालले सहमतिको ढोका अझै पनि खुल्ला रहेको बताए।

आमसभामा सहभागी हुन राजधानी वरपरबाट विपक्षी दलका हजारौं कार्यकर्ता खुल्लामन्च पुगेका थिए।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादी निरन्तर अधिनायकवादको बाटोमा अग्रसर भएको बताउँदै उ नसच्चिए परिणाम राम्रो नहुने चेतावनी दिए।

“यदि माओवादीले सर्वसत्तावादको भूत त्यागेन भने परिवर्तनको जुन करेन्ट छ त्यसले उसलाई पनि बगाएर लान्छ।”

"यदि माओवादीले सर्वसत्तावादको भूत त्यागेन भने परिवर्तनको जुन् करेन्ट छ त्यसले उसलाई पनि बगाएर लान्छ"

सुशील कोइराला, सभापति, नेपाली कांग्रेस

विपक्षी दलहरुको अर्को चरणको आन्दोलनको रुपरेखा सार्वजनिक भइसकेको छैन।

तर शुक्रबार खुल्ला मंन्चमा बोल्दै विपक्षी नेताहरुले आन्दोलनको विकल्प नभएकोमा जोड दिएका थिए।

आलोचना

हेटौंडा महाधिवेशनपछि राष्ट्रियताका विषयका समेत माओवादी कमजोर भएको टिप्पणी राष्ट्रिय जनशक्ति पार्टीका नेता प्रकाश चन्द्र लोहनीले गरे।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादी अध्यक्ष प्रचण्डको हेटौंडाबाट अघि सारेको सहमतिको सूत्र प्रति तीखो ब्यङ्ग्य गरेका थिए।

अधिकांश समय माओवादी र उसको नेतृत्वको सरकारको आलोचना गर्न खर्चिएका विपक्षी नेताहरुले बाबुराम भ‍ट्टराई सरकार सशस्त्र द्वन्द्वकालका गम्भीर मानव अधिकार अपराधहरुको ढाकछोप गर्न लागिपरेको बताउँदै दोषी ठहरिएकाहरुले उन्मुक्ति पाउन नहुनेमा जोड दिएका थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।