माओवादी अधिवेशनमा फरक मत दर्ता

पछिल्लोपल्ट अपडेट गरिएको: 04.02.13, 22:33 NST सम्मका समाचार
प्रचण्ड र अन्य माओवादी नेताहरु

महाधिवेशनमा तीनवटा फरक मत दर्ता गरिएका छन्

सर्वसम्मतिमा तयार गरिएको भनिएको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनका केही विषयमा असहमति जनाउँदै तीनवटा फरक मत दर्ता भएका छन्।

हैटौडामा चलिरहेको उक्त दलको सातौ महाधिवेशनमा माओवादी नेताहरु लेखराज भट्ट, गोपाल किराती र राम कार्कीले फरक मत राखेका हुन्।

तर उनीहरुको मतले प्रचण्डको राजनीतिक प्रतिवेदनको मूल लक्ष्यलाई खास फरक पार्ने देखिन्न।

प्रचण्डले आइतबार पेश गरेको प्रतिवेदनका भिन्न भिन्न विषयमा तीनजना नेताले फरक मत दर्ता गराएका हुन्।

"त्यहांको उत्पीडन भनेको भाषिक रुपमा, सांस्कृतिक रुपमा, आर्थिक, राजनीतिक रुपमा हो र त्यही रुपमा व्यवहार पनि गरिनुपर्छ पार्टीले भन्ने कुरा हो"

लेखराज भट्ट, माओवादी नेता

माओवादी भित्रकै कतिपय नेताले क्षेत्रियताको राजनीति गर्ने आरोप लगाउने गरेका नेता लेखराज भट्टले खस जातिको पहिचान सहित पश्चिमका चारवटा अंचलको एउटा राज्य बनाउनु पर्ने प्रस्ताव राखेका छन्।

उनले भने, “त्यहांको उत्पीडन भनेको भाषिक रुपमा, सांस्कृतिक रुपमा, आर्थिक, राजनीतिक रुपमा हो र त्यही रुपमा व्यवहार पनि गरिनुपर्छ पार्टीले भन्ने कुरा हो।”

प्रस्ताव

अर्का नेता गोपाल किरांतीले पार्टीको नाम र संरचना परिवर्तन गर्नु पर्ने प्रस्ताव अघि सारेका छन्।

“कम्युनिष्ट पार्टी निर्माणमा सांगठनिक कार्यदिशा” नामको फरक मतमा उनले संघीय राज्य अनुसारका कम्युनिष्ट पार्टी बनाउने र त्यसको नेतृत्व केन्द्रमा पार्टीले गर्ने गरी नाम फेर्नु पर्ने प्रस्ताव गरेका छन्।

"यो दुईवटा अतिवादी सोंचहरु छ, लाइनहरु छ। त्यो लाइनबाट हिंडेर अब नेपाल अघि बढ्न सक्दैन। तेश्रो र कसैले नटेकेको र नहिंडेको बाटो हामीले पहिल्याउनु पर्छ"

राम कार्की, माओवादी नेता

अर्का नेता राम कार्कीले घुमाउरो पारामा प्रचण्डको प्रस्तावले नयाँ एमाले बनाउने आशंका व्यक्त गरे।

बीबीसीसँग कुरा गर्दै उनले भने, “यो दुईवटा अतिवादी सोंचहरु छ, लाइनहरु छ। त्यो लाइनबाट हिंडेर अब नेपाल अघि बढ्न सक्दैन। तेश्रो र कसैले नटेकेको र नहिंडेको बाटो हामीले पहिल्याउनु पर्छ।”

हेटौंडामा रहेका हाम्रा एकजना संवाददाता भन्छन्, विभिन्न विषय र मुद्दालाई लिएर नेतादेखि कार्यकर्तासम्म फरक फरक धारणा रहे पनि अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव विफलै हुने खालकै मतभेद वा असहमति भने देखा परेको छैन।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।