विपक्षीलाई मान्य हुने नयाँ सूत्र ल्याउँछौं: प्रचण्ड

पछिल्लोपल्ट अपडेट गरिएको: 02.02.13, 21:33 NST सम्मका समाचार

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार देखि शुरु भएको आफ्नो पार्टीको महाधिवेशनले विपक्षी पार्टीहरुलाई मान्य हुने गरी चुनावी सरकारको नयाँ प्रस्ताव तयार गर्ने बताएका छन्।

महाधिवेशनपछि स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकारको सूत्र ल्याउने प्रचण्डले बताएका छन्

हेटौडामा भएको महाधिवशेन उदघाट्नमा बोल्दै प्रचण्डले फेरि सशस्त्र सघर्ष र छापामार लडाईको आवश्यकता नरहेको बताए।

उनले भने, 'यो महाधिवेशनले शान्तिपूर्ण राजनीतिको बाटो प्रष्ट पार्ने छ'।

माओवादीको महाधिवेशनपछि सरकार परिवर्तन र जेठमा चुनाव हुने अडकलवाजी भइरहेका बेला प्रचण्डले त्यसबारे सार्वजनिक रुपमा मुख खोलेका हुन्।

नयाँ सूत्र

उनले चुनावी सरकारको नेतृत्व दावी गरिरहेको नेपाली काग्रेस र उसलाई समर्थन गरिरहेको नेकपा एमालेका नेताहरुलाई लक्षित गर्दै सम्भावित सहमतिको नयाँ सूत्रबारे भने,"हामी सबैले मान्ने स्वतन्त्र व्यक्ति ल्याउनोस् हामी मान्छौं र चुनावमा जाउँ। यो महाधिवेशनबाट तपाईंहरुले पनि विरोध गर्न नमिल्ने सूत्र ल्याउनेतिर हाम्रो कोशिश हुन्छ।"

शान्तिपूर्ण राजनीतिमा आइसक्दा पनि प्रचण्डको राजनीतिक शैलीले विपक्षीहरुलाई बेला बखत झस्काउने गरेको छ।

उनले कहिले जनविद्रोहको कुरा गर्ने गरेका छन् भने कहिले माओवादी अब शान्तिपूर्ण राजनीतिक बाटोबाट नडग्ने बताउने गरेका छन्।

"हामी सबैले मान्ने स्वतन्त्र व्यक्ति ल्याउनोस्, हामी मान्छौं र चुनावमा जाउँ। यो महाधिवेशनबाट तपाईंहरुले पनि विरोध गर्न नमिल्ने सूत्र ल्याउनेतिर हाम्रो कोशिश हुन्छ"

पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष, एकीकृत माओवादी

पार्टी प्रमुखको रुपमा उनको त्यस्तो द्विविधा सिँगो माओवादीका दस्तावेजहरुमा पनि झल्किने गरेको कतिपयको टिप्पणी हुने गर्थ्यो।

बाँकी कार्यभार

त्यस्ता प्रतिकृयाकारे जानकार प्रचण्डले, उनकै शब्दमा, जनवादी क्रान्तिका बाँकी कार्यभार र समाजवादी क्रान्तिको तयारी नयाँ ढगले गरिने बताए।

उनले भने, "अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्न छोडेर अब फेरि दीर्घकालीन जनयुद्ध या छापामार युद्ध भन्नु नेपाली जनता र शहीदको अपमान हो त्यो आवश्यक छैन, गलत हुन्छ।"

प्रचण्डको त्यस्तो मत सहितको राजनीतिक प्रस्तावमा आइतबारदेखि शुरु हुने बन्द सत्रमा करीब ३ हजार प्रतिनिधि र पर्यवेक्षकहरुबीच छलफल हुनेछ।

माओवादीको महाधिवेशन २१ वर्षपछि हुन लागेको हो।

महाधिवेशनमा राजनीतिक र वैचारिक दृष्टिकोणमा सानातिना मतभेद र फरक धारणा बाहेक ठूलो विवाद नहुने जानकारहरु बताउँछन्।

उनीहरुका अनुसार पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वले निरन्तरता पाउने निश्चित जस्तै छ।

प्रतिस्पर्द्धा

तर केन्द्रिय समिति र पदाधिकारीमा दोश्रो तहका नेताहरुबीच चर्को प्रतिस्पर्द्धा चलिरहेको बताइन्छ।

चर्को राजनीतिक ध्रुवीकरणको सम्भावना दर्शाउने गरी दुई किनार पुगेका प्रतिपक्षी र सरकारमा रहेका दलका नेताहरु महाधिवेशनको उदघाट्नमा सँगसँगै देखिएका थिए।

उनीहरुले राजनीतिक संकट सुल्झाउन फेरि आपसमा हातेमालो गर्न सकिने सम्भावना बढेको बताए।

शनिबारदेखि पाँच दिन चल्ने भनिएको महाधिवेशनको उद्घाटन सत्रमा देशका विभिन्न विपक्षी नेताहरु, विदेशी प्रतिनिधिहरु र कूटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी भएका थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।