'राष्ट्रपतिबाट तटस्थ सरकारका लागि परामर्श शुरु'

पछिल्लोपल्ट अपडेट गरिएको: 31.01.13, 19:59 NST सम्मका समाचार

छिटो चुनाव गराउन तटस्थ व्यक्तिको नेतृत्वमा सरकार बनाउन राष्ट्रपतिले परामर्श थालेका बताइएको छ।

प्रमुख दलहरुबीचबाट राष्ट्रिय सहमतिको सरकार बनाउने आफ्नो प्रयत्न विफल भएपछि राष्ट्रपति रामबरण यादवले तटस्थ व्यक्तिको नेतृत्वमा सरकार बनाउने विकल्पबारे परामर्श शुरु गरेका छन्।

राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुंगेलका अनुसार सत्तारुढ, विपक्षी र अन्यबाट पनि त्यस्तो सुझाव आएपछि राष्ट्रपतिले परामर्श शुरु गरेका हुन्।

ढुंगेलले भने, "धेरैतिरबाट सुझाव आएपछि हिजो राष्ट्रपतिले चार प्रमुख राजनीतिक शक्तिसँग पनि त्यसबारे परामर्श गर्नुभएको छ।"

मुख्य दलहरुबीच सहमति बने तटस्थ व्यक्तिको नेतृत्वको सरकार संविधानसम्मत हुने कानुनविदहरु बताउँछन्।

तर तटस्थ व्यक्ति नेतृत्वको सरकार सत्तारुढ गठबन्धनले प्रस्तुत गरेका विकल्पमध्येको एक भएकाले त्यो माओवादीको अलमल्याउने रणनीति मात्र भएको विपक्षीहरुले बताएका छन्।

विकल्प

तटस्थ व्यक्तिको नेतृत्वमा चुनावी सरकार प्रधानमन्त्री बाबुराम भट्टराईले सार्वजनिकरुपमा बारम्बार भन्दै आएको र सत्तारुढ गठबन्धनले राष्ट्रपति समक्ष प्रस्तुत गरेका चार विकल्पहरु मध्ये एक हो ।

खासगरी एकीकृत माओवादी र नेपाली कांग्रेसले एक अर्काको नेतृत्व कसैगरी नस्वीकार्ने अवस्था कायम रहे तटस्थ व्यक्तिको चुनावी सरकार भएपनि बनाउनुपर्ने पक्षमा गठबन्धन बाहिरबाट पनि मतहरु प्रकट हुन थालेका छन्।

"राजनीतिक दलहरुबीच सहमति बन्छ भने तटस्थ व्यक्तिको सरकार बन्न सक्छ र त्यसले चुनाव पनि सम्पन्न गर्न सक्छ"

महादेव यादव, पूर्व महान्यायाधिवक्ता

पूर्व महान्यायाधिवक्ता महादेव यादवले संविधानत: तटस्थ व्यक्तिको सरकार संभव रहेको बताए।

उनले भने, "राजनीतिक दलहरुबीच सहमति बन्छ भने तटस्थ व्यक्तिको सरकार बन्न सक्छ र त्यसले चुनाव पनि सम्पन्न गर्न सक्छ।"

विपक्षी अविश्वास

पछिल्लो समयका कुनै म्याद नतोकिकनै राष्ट्रिय सहमतिको सरकार बनाउन राष्ट्रपति यादवले आग्रह गरिरहंदा सत्तारुढ तथा विपक्षी दलहरुबीच भने अविश्वासको खाडल बढ्दै गएको देखिन्छ।

तटस्थ व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने सत्तारुढ गठबन्धनको प्रस्ताव प्रति आफुहरुको विश्वास नरहेको मुख्य विपक्षी कांग्रेसको भनाइ छ।

"यो त माओवादीले हामीलाई अल्मल्याउन देखाएको ललिपप मात्रै हो, खासमा माओवादी चुनाव चाहन्न"

अर्जुन नर्सिंह के सी, नेता, नेपाली कांग्रेस

कांग्रेस नेता अर्जुन नर्सिंह के सीले भने, "यो त माओवादीले हामीलाई अल्मल्याउन देखाएको ललिपप मात्रै हो, खासमा माओवादी चुनाव चाहन्न।"

काठमाण्डूस्थित हाम्रा एकजना संवाददाता भन्छन्, तटस्थ व्यक्तिले नेतृत्व गरेको चुनावी सरकार होस् या राजनीतिक दलले आपसी सहमतिमा बनाउने राष्ट्रिय सहमतिको सरकार; जुनसुकै विकल्पका लागि आवश्यक राजनीतिक सहमति मुख्य दलहरुबीच नबन्ने हो भने राजनीतिक गतिरोध कायमै रहने देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।