‘सरकारका कारण राष्ट्रियता संकटमा’

पछिल्लोपल्ट अपडेट गरिएको: 29.01.13, 20:48 NST सम्मका समाचार
विपक्षी दलहरु

विपक्षी दलहरुले केही समयअघि सरकार विरुद्ध आन्दोलनको घोषणा गरेका थिए

सरकार विरुद्ध आन्दोलनमा उत्रिएका विपक्षी दलहरुले शहीद दिवसका अवसरमा मंगलवार राजधानीमा विरोध प्रदर्शन गर्दै अहिलेको सरकारका कारण राष्ट्रियता र लोकतन्त्र संकटमा परेको बताएका छन्।

उनीहरुले एकीकृत माओवादी चुनावको बाधक भएको र यही सरकार रहेसम्म संविधानसभाको नयाँ चुनाव हुन नसक्ने बताए।

"सरकार परिवर्तन किन आवश्यक छ भने संक्रमणकाल टुङ्गाउने संविधान जारी गरेर हो, संविधान जारी गर्ने संविधानसभा गठन गरेर हो र संविधानसभा गठनका लागि चुनाव आवश्यक हुन्छ, तर यो माओवादी सरकार चुनाव चाहँदैन"

केपी शर्मा ओली, नेता, नेकपा एमाले

सरकारले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै उनीहरुले राष्ट्रियता, लोकतन्त्र र चुनावको सुनिश्चितताको लागि प्रधानमन्त्रीको बर्खास्ती अनिवार्य भएको पनि उल्लेख गरे।

प्रधानमन्त्री बाबुराम भट्टराईलाई आन्दोलनको आँधीबेहरी सिर्जना गरेर सडकबाटै हटाउने उदघोषकासाथ विरोधमा उत्रिएका नेपाली काँग्रेस, नेकपा एमाले लगायत विभिन्न नौ विपक्षी दलहरुले राजधानीमा विरोधसभा गरेका थिए।

सो सभामा केही हजारको उपस्थिति देखिन्थ्यो।

शहीद गेटमा पुगेपछि सभामा परिणत भएको उक्त विरोध कार्यक्रममा बोल्दै नेताहरुले सरकार नहटेसम्म चुनाव हुन नसक्ने विषयलाई जोडतोडका साथ उठाएका थिए।

परिवर्तन

एमाले नेता केपी शर्मा ओलीले भने, “सरकार परिवर्तन किन आवश्यक छ भने संक्रमणकाल टुङ्गाउने संविधान जारी गरेर हो, संविधान जारी गर्ने संविधानसभा गठन गरेर हो र संविधानसभा गठनका लागि चुनाव आवश्यक हुन्छ, तर यो माओवादी सरकार चुनाव चाहँदैन।”

नेता ओलीले सरकारले लोकतन्त्र र पारदर्शीताको चर्का कुरा गरे पनि नातावाद, कृपावाद र भ्रष्टाचार फैलाएको आरोप लगाए।

"दशौं हजारको जनताकोबीचमा १०/१५ जना गुण्डा पठाएर ढुंगा हान्नुहुन्छ भने तपाईहरुको अस्तित्व समाप्त हुन्छ यो देशबाट"

प्रचण्ड, अध्यक्ष, एकीकृत नेकपा माओवादी

नेपाली काँग्रेसका महामन्त्री प्रकासशमान सिंहले सरकारका कारण राष्ट्रियता र लोकतन्त्र संकटमा परेकाले आन्दोलनमा उत्रन बाध्य भएको बताए।

विपक्षी दलका नेताहरुले सरकार र उसको नेतृत्व गरिरहेको दल एकीकृत नेकपा माओवादीको आलोचना गरिरहँदा पार्टीको जिल्ला अधिवेशनमा भाग लिन काभ्रेको बनेपा पुगेका एमाओवादी अध्यक्ष प्रचण्डले चाहीं यस्तै अवस्था रहे विपक्षी दलहरुको अस्तित्व नै समाप्त हुने चेतावनी दिए।

उनले भने, “दशौं हजारको जनताकोबीचमा १०/१५ जना गुण्डा पठाएर ढुंगा हान्नुहुन्छ भने तपाईहरुको अस्तित्व समाप्त हुन्छ यो देशबाट।”

केही अघिसम्म सहमतीय सरकारको खोजीमा औपचारिक वा अनौपचारिक वार्ताहरुमा व्यस्त सत्तापक्ष र विपक्षीहरुले केहीयता चाहीं सडकबाट एकअर्काप्रति तीव्र कटाक्ष गर्दै आएका छन् जसले जारी राजनीतिक संकट समाधानको सम्भावनालाई झनै टाढा पुराईदिएको देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।