सरकारी योजना विफल, लोडसेडीङ् बढेर १४ घण्टा

पछिल्लोपल्ट अपडेट गरिएको: 19.01.13, 21:51 NST सम्मका समाचार
कुलेखानीको इन्द्र सरोवर

जलस्रोतको धनी नेपाल यतिखेर बिजुलीको लागि समेत भारतमा निर्भर भएको छ

प्रधानमन्त्री बाबुराम भट्टराईको प्रतिबद्धता विपरित लोडशेडीङको अवधी बढेपछि त्यसको सीधा असर लाखौं उपभोक्ताहरु र उद्योग-धन्धाहरुमा परेको छ।

उद्योगी व्यवसायीहरुका अनुसार लोडशेडीङ्का कारण उत्पादन ५० प्रतिशत भन्दा बढीले घटेको छ।

नदीहरुमा पानीको मात्रा घट्ने क्रम जारी रहेको बेला, यदि भारतबाट विजुली कटौती हुने क्रम जारी रहे लोडशेडीङ अझै बढ्न सक्ने चिन्ता अधिकारीहरुको छ।

भारतबाट नेपाललाई १ सय ५० मेगावाट जति विजुली आइरहेकोमा विहार क्षेत्रबाट ३० मेगावाट विजुली कटौती हुने क्रम जारी रहेकोले उर्जा संकट बढेको हो।

‘मुस्किल’

नेपाल विद्युत प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीका अनुसार यतिखेर बिहार र नेपाल जोड्ने सबै ३३ केभी लाइनमा विजुली आपुर्ती शुन्यमा झरेको छ।

“बिहारमा अहिले प्राविधिक समस्या भएको बुझिएको छ, त्यो सुल्झियो भने १४ घन्टाबाट बढ्दैन होला।”

"बिहारमा अहिले प्राविधिक समस्या भएको बुझिएको छ, त्यो सुल्झियो भने १४ घन्टाबाट बढ्दैन होला"

भुवनकुमार क्षेत्री, प्रमुख, भारप्रेषण केन्द्र, नेपाल विद्युत प्राधिकरण

“तर त्यो कटौती कायमै रह्यो भने हामीलाई लोडशेडीङ् स्थीर राख्न मुस्किल पर्छ।”

त्यसो त भारतका बिहार र उत्तरप्रदेश जस्ता राज्यहरु आफै उर्जा संकटबाट गुज्रिरहेको बताइन्छ।

नेपालमा लोडशेडीङ् बढेपछि लाखौं उपभोक्ताहरुको घर-घरमा समस्या त हुने नै भयो; अब उद्योग धन्धाहरु पनि नराम्ररी थला परेको उद्योगी व्यवसायीहरुले बताएका छन्।

नेपाल उद्योग बाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाका अनुसार देशभरका उद्योग धन्धाहरुको उत्पादन ५० प्रतिशत भन्दा बढिले झरेको छ।

“विजुली नभएपछि उत्पादनै भएको छैन भन्दा पनि हुन्छ, डिजेल किनेर उद्योग चलाउन धेरै महंगो पर्छ।”

भारतमा निर्भर

"विजुली नभएपछि उत्पादनै भएको छैन भन्दा पनि हुन्छ, डिजेल किनेर उद्योग चलाउन धेरै महंगो पर्छ"

भवानी राणा, उपाध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ

प्रधानमन्त्रीको अग्रसरतामा लोडशेडीङ् १२ घन्टामा सीमित राख्न भन्दै ल्याइएको कार्ययोजना कागजमै सीमित भएका कारण उर्जा संकट चुलिएको हो।

देशमा वर्षेनी बढ्दो विद्युतको मागलाई धान्ने गरि विद्युतको उत्पादन हुन नसक्दा लोडशेडीङ् नेपालीहरुको दैनिकी बनेको हो।

अहिले नेपाललाई १,००० मेगावाट विजुली आवश्यक भएकोमा प्रणालीमा ४०० मेगावाट जतिमात्र बिजुली उपलब्ध भएको अधिकारीहरुको भनाइ छ।

त्यस्को अर्थ ६०० मेगावाट जति विजुली अपुग छ।

नेपालमा जलविद्युतको प्रचुर संभावना भएपनि त्यसको ठिक तरिकाले दोहन नभएकोले देश डिजेल पेट्रोल देखि बिजुलीसम्मको लागि भारतमा निर्भर रहुनु पर्ने बाध्यता कायमै छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।