लोडशेडीङको अवधी अझै बढ्ने संकेत

पछिल्लोपल्ट अपडेट गरिएको: 16.01.13, 21:15 NST सम्मका समाचार
जलविद्युत

हिम नदीहरुमा पानी स्वात्तै घटेपछि विद्युत उत्पादन न्युनतम विन्दुमा झर्दै छ

भारतको विहार क्षेत्रबाट नेपालले किन्दै आएको विद्युतमा ३० मेगावाट जति कटौती भएपछि लोडशेडिङ हालको दैनिक १२ घन्टाबाट अझै बढ्ने अवस्था आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

भारतले कटौति गरिदिएको विद्युत आपुर्ती छिट्टै यथावत नभए नेपालसामु लोडसशेडिङको अवधीलाई स्थीर राख्न नसकिने प्राधिकरणको भार सम्प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले बीबीसीलाई बताएका छन्।

देशभित्रका जलविद्युत केन्द्रहरुको उत्पादन वर्ष कै न्युनतम विन्दुमा झर्नै लागेको बेला छिमेकी भारतबाट बिजुली आपुर्ती घटेपछि नेपालका उर्जा अधिकारीहरु विजुलीको विकल्पको खोजीमा घोत्लिएका छन्।

तर पुर्वी नेपालको दुहवी र मध्य नेपालको हेटौडामा रहेका मल्टीफ्युल र थर्मल प्लान्ट चलाउँदा पनि लोडशेडिङको अवधीलाई प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिबद्धता जनाएअनुसार १२ घन्टामा स्थीर राख्न मुस्किल पर्ने स्थिति आएको क्षेत्रीले बताए।

"विहार क्षेत्रमा कोसी, इनरुवा जस्ता ठाउँमा तीन दिनदेखि आपूर्तीमा कटौती भएको छ, यहि अवस्था जारी रहे हामीलाई लोडशेडीङलाई स्थीर राख्न संभव हुँदैन"

भुवनकुमार क्षेत्री, प्रमुख, भार प्रेषण केन्द्र, नेपाल विद्युत प्राधिकरण

“विहार क्षेत्रमा कोसी, इनरुवा जस्ता ठाउँमा तीन दिनदेखि आपूर्तीमा कटौती भएको छ, यहि अवस्था जारी रहे हामीलाई लोडशेडीङलाई स्थीर राख्न संभव हुँदैन।”

उर्जा संकट

यतिखेर नेपालमा १,००० मेगावाट जति विजुलीको माग छ, तर देशभरका जलविद्युत केन्द्रहरु र अन्य स्रोतबाट तानतुन गर्दा पनि ३०० सय मेगावाट भन्दा कम विजुली उत्पादन भइरहेको भार प्रेषण केन्द्रले जनाएको छ।

त्यसमाथि चिसो बढ्ने क्रम नरोकिएको बेला भारतबाट विजुली थपिनुको सट्टा झनै कटौती भएर त्यताको आपुर्ती ११५ मेगावाटमा झरेपछि उर्जा संकट झनै गहिरिएको हो।

स्थितीलाई सुधार्ने उपाय के हुन सक्छ?

प्राधिकरणका अधिकारीहरु भन्छन् यदि अर्को वर्षसम्ममा छिटो छिटो ट्रान्समिसन लाइनहरु बन्न संभव भयो भने भारतबाट थप बिजुली ल्याउने पूर्वाधार तयार हुन्छ।

तर भारत आफै पनि उर्जा संकटका कारण लोडसेडीङ भोग्न बाध्य छ।

लोडशेडीङलाई दैनिक १२ घन्टाबाट बढ्न नदिन सरकारले केहि समयअघि नयाँ थर्मल प्लान्ट सन्चालनमा ल्याउने लगायतका विकल्प समेटिएको एउटा कार्ययोजना अघि सारेको थियो, तर त्यो कार्यान्वयन हु्न सकेन।

"थुप्रै साना साना आयोजनाहरु अडकिएर बसेका छन्, तीनलाई सरकारले अघि बढ्न दियो भने दुई वर्ष सम्ममा स्थितिमा केही सुधार हुन सक्छ"

रत्नसंसार श्रेष्ठ, जलस्रोत विश्लेषक

एकजना जलस्रोत विश्लेषक रत्नसंसार श्रेष्ठका विचारमा छिट्टै सम्पन्न हुने आयोजनाहरु सरकारले अघि बढ्न दिए आउँदा वर्षमा स्थितिमा सुधार हुन सक्छ।

उपाय

“थुप्रै साना साना आयोजनाहरु अडकिएर बसेका छन्, तीनलाई सरकारले अघि बढ्न दियो भने दुई वर्षसम्ममा स्थितिमा केही सुधार हुन सक्छ।”

विजुलीको माग लगातार बढिरहेपनि त्यसलाई धान्ने गरि जलविद्युत आयोजनाहरु बन्न सकिरहेका छैनन्।

केही राहत दिने अपेक्षा गरिएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण पुरा हुन पनि पाँच वर्ष लाग्न सक्ने अधिकारीहरू बताउँछन्।

उनहिरूका अनुसार त्यो पनि घोषित कार्यतालिका अनुसार, विना कुनै अवरोध, कामहरु सम्पन्न हुदै गए भने मात्र।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।