राष्ट्रपतिले सरकार बनाउन नयाँ म्याद तोकेनन्

पछिल्लोपल्ट अपडेट गरिएको: 15.01.13, 19:57 NST सम्मका समाचार

सहमतिको सरकार बनाउन समय तोक्दै आएका राष्ट्रपतिले अब समयसीमा खुला राखिदिएका छन्

राष्ट्रपति रामबरण यादवले नयाँ सरकार गठनकालागि अब कुनै म्याद नतोक्ने भएका छन्।

करिब दुई महिनाअघिदेखि राष्ट्रपतिले शुरु गरेको सहमतिको सरकार बनाउने प्रयास भने जारी रहने उनका प्रेस सल्लाहकारले बताएका छन्।

शीतल निवासमा मंगलबार विहान भएको सामुहिक परामर्श लगत्तै दलहरु सहमति खोज्न नभै आपसी रणनीति बनाउन व्यस्त रहेका थिए।

सत्तारुढ दलहरुले प्रधानमन्त्री निवास बालुवाटारमा र विपक्षीहरुले बल्खुस्थित एमाले मुख्यालयमा छुट्टाछुट्टै बैठक गरेका थिए।

परामर्श

सहमतिको सरकार बनाउन दिएको नवौं म्याद कुनै प्रतिफलविना सोमबार सकिएको थियो।

विघटित संविधान सभामा प्रतिनिधित्व गरेका सबैजसो दललाई राष्ट्रपति यादवले मंगलबार परामर्शका लागि शीतल निवास बोलाएका थिए।

"दलहरुकै चाहना बमोजिम समय नतोकिएको हो, दलहरुले छिटै सहमति खोज्छौं भनेका छन्, त्यसमा राष्ट्रपति आश्वस्त हुनुहुन्छ"

राजेन्द्र दाहाल, राष्ट्रपतिका प्रेस सल्लाहकार

दलहरुको चाहना बमोजिम नयाँ सरकार बनाउने समयसीमा नतोकिएको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।

उनले भने, "दलहरुकै चाहना बमोजिम समय नतोकिएको हो, दलहरुले छिटै सहमति खोज्छौं भनेका छन्, त्यसमा राष्ट्रपति आश्वस्त हुनुहुन्छ।"

अडान

मुख्य सत्तारुढ दल एकीकृत माओवादी र उसका समर्थक दलहरुको गठबन्धनको बालुवाटारमा मंगलबार बसेको बैठकले आफ्नो पुरानो अडान दोहोर्‍याएको छ।

संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले भने, "संविधानसभा पुनर्स्थापनाको विकल्पलाई खुला राख्दै यथासक्य चुनाव गर्न अधिकतम पहल गर्ने भएका छौं।"

मुख्य सत्तारुढ माओवादीको 'नयाँ नयाँ प्रस्तावमा अलमलिँदै' आएका मुख्य विपक्षीहरु भने राष्ट्रपति निवासबाट बाहिरिएर भावी रणनीति बनाउन व्यस्त देखिएका छन्।

आन्दोलन

"सरकार सहमति पनि गर्दैन, चुनाव गर्न पनि चाहँदैन, सहमति बिना समस्या समाधन हुन सक्दैन भन्ने कुरा यो बहिरो सरकारलाई बुझाउन जनताकहाँ जान लागेका हौं"

झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले

नेपाली कांग्रेस, नेकपा एमाले लगायतका विपक्षी दलहरुले सरकार विरुद्ध आन्दोलन चर्काउने निर्णय गरेका छन्।

माघ महिनाभरीको विरोधका कार्यक्रम सार्वजनिक गरेका विपक्षी समुहका एकजना नेता एमाले अध्यक्ष झलनाथ खनालले भने, "सरकार सहमति पनि गर्दैन, चुनाव गर्न पनि चाहँदैन, सहमति बिना समस्या समाधन हुन सक्दैन भन्ने कुरा यो बहिरो सरकारलाई बुझाउन जनताकहाँ जान लागेका हौं। "

संविधानसभाको समाप्तीपछि उत्पन्न भएको सत्तारुढ र विपक्षी बीचको द्वन्द्वको दलदलबाट मुक्तिको बाटो चुनाव हुनसक्छ भन्ने धेरैको धारणा छ।

तर दलहरुबीच सहमतिको कुनै संकेत नदेखिँदा चुनावको संभावना झन झन न्यून भएर गएको देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।