सक्दो छिटो चुनाव गराउन भारतको जोड

पछिल्लोपल्ट अपडेट गरिएको: 28.12.12, 22:34 NST सम्मका समाचार
भारतीय प्रधानमन्त्रीका साथ राष्ट्रपति यादव

सबै भारतीय नेताहरुले छिटो चुनावमा जोड दिएका बताइएको छ

राष्ट्रपति रामवरण यादवको दक्षिणी छिमेकी भारतको भ्रमण सकिनै लाग्दा नेपालको आन्तरिक राजनीतिमा प्रभाव राख्ने भारत यहाँको राजनीतिक संकट कसरी हल होस भन्ने चाहन्छ? भन्ने चासो धेरैमा देखिएको छ।

सत्ताधारी गठबन्धन र विपक्षी दलबीचको टकराव र अडान नफेरिनाले उनीहरुलाई हदम्याद दिएर सहमति गराउने आफ्नो प्रयास बारम्बार खेर गएपछि राष्ट्रपति भारत भ्रमणमा हानिएका थिए।

यस्तो परिस्थितिमा आलंकारिक नै भए पनि राजनीतिक अग्रसरता लिएका राष्ट्रपतिसँग भारतीय नेताहरुले त्यसबारे चासो दर्शाउनु स्वाभाविक थियो।

तर भारतीय चासो स्वाभाविक छिमेकी चासोमै सिमित रह्यो वा उसको केही सन्देश पनि छ?

राजनीतिक निकासको पहल लिएका आलंकारिक राष्ट्रपतिको भ्रमण टोलीमा कामचलाउ सरकारका प्रतिनिधिको रुपमा रहेका सिंचाइ मन्त्री महेन्द्र यादवले भने, “भारत सरकारले चिन्ता व्यक्त गरेको छ। लोकतन्त्र भनेको नै निर्वाचन हो र दलहरुले सहमति गरेर जति सक्दो छिटै चुनाव मार्फत समस्याको निकास निकालुन् भन्ने भारतको आशय पाइयो।“

"भारत सरकारले चिन्ता व्यक्त गरेको छ। लोकतन्त्र भनेको नै निर्वाचन हो र दलहरुले सहमति गरेर जति सक्दो छिटै चुनाव मार्फत समस्याको निकास निकालुन् भन्ने भारतको आशय पाइयो "

सिंचाइ मन्त्री महेन्द्र यादव

त्यो त भारतीय नेताले औपचारिक छलफलमा देखाएका सरोकार हुन्।

‘एकल भेट’

कुरो त्यही हो भने आलंकारिक राष्ट्रपतिले किन भारतीय राष्ट्रपति, प्रधानमन्त्री विदेश मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग एकल भेट गरे? भन्ने जिज्ञासा अस्वाभाविक होइन्।

तर बेलाबखत राष्ट्रपतिसँग पौंठेजोरी खेल्न तयार देखिएको सरकारले त्यसलाई अन्यथा नलिएको मन्त्री यादवले बताए।

उनले भने, “केही त्यस्ता व्यक्तिहरुसंग उहांले निजी हिसाबले भेटभाट गर्नुभयो जस्तो छ। त्यसकारण मलाई लाग्छ कि कहिले पनि धेरै सरकार प्रमुख आउंदाखेरि त्यसरी भेटघाट भएकै हो। व्यक्तिगत हिसाबमा भएको हो।“

हुन त राष्ट्रपतिको भ्रमण टोलीमा रहेका उनी पनि त्यो मामिलामा अछुतो रहेनन्।

नेपाली दूतावासका प्रतिनिधि राखेरै भारतीय समकक्षीसँग कुराकानी गरेका सिंचाइ मन्त्री महेन्द्र यादव भारतीय विदेशमन्त्री सल्मान खुर्शिदलाई भेट्न भने एक्लै गएका थिए।

त्यसबारे सोधिएको प्रश्नमा मन्त्री यादवले भने, “विदेशमन्त्रीसंग छुट्टै हैन। ‌पुरानै मित्रता हो। उहांले यसो भेटौं भनेर भटन गएको हो। चियासिया खाएर आएको।“

भ्रमण सकिनु अघिल्लो दिन शुक्रबार राष्ट्रपति यादवले भारतका रक्षामन्त्री तथा विपक्षी दल भारतीय जनता पार्टीका अध्यक्ष, भूतपूर्वअध्यक्ष लगायतका नेताहरुसँग द्वीपक्षिय वार्ता गरेका थिए।

नेपालको राजनीतिक घटनाक्रमबारे सबै जसो भारतीय नेताहरुको औपचारिक प्रतिकृया समान रहने गरेको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।