राष्ट्रपति यादव बनारसमा

पछिल्लोपल्ट अपडेट गरिएको: 25.12.12, 22:33 NST सम्मका समाचार
भारतका राष्ट्रपति प्रणव मुखर्जी

भारतका राष्ट्रपति प्रणव मुखर्जी पनि समारोहमा सरिक थिए

एउटा शैक्षिक सम्मान लिन भारतको बनारस पुगेका नेपालका राष्ट्रपति रामवरण यादव र उनका भारतीय समकक्षी प्रणव मुखर्जीबीच भेट भएको छ।

बनारस हिन्दु विश्वविद्यालयले राष्ट्रपति यादवलाई दिएको मानार्थ विद्यावारिधिको सम्मान कार्यक्रममा मुख्य अतिथि भारतीय राष्ट्रपति मुखर्जी थिए।

तर नेपालका राष्ट्रपति यादवको भारतीय राष्ट्रपति एवम् अन्य वरिष्ठ नेताहरुसँगको दुई पक्षीय भेटवार्ता बुधबारबाट हुनेछ।

हाम्रा दिल्लीस्थित संवाददाता शरद केसी भन्छन्, बनारसमा मुखामुख हुन पुगेका दुबै राष्ट्रपति आआफ्नो देशका आलंकारिक राष्ट्रप्रमुख हुन्।

तर सन्दर्भ र परिस्थिति केही चाखलाग्दा छन्।

राजनीतिक संकट

यादव आन्तरिक राजनीतिक संकटको सुलहको खोजी गरिरहेका छन्।

मुखर्जी नेपाली गणतन्त्रको जग ठानिएको माओवादी र संसदवादी दलहरुबीचको १२ बुँदे सहमतिका भारतीय योजनाकारमध्ये मानिन्छन्।

त्यही सहमतिपछिको उच्च राजनीतिक पदमा पुगेका यादव मुखर्जीका पुराना चिनजानका नेपाली नेता हुन्।

मुखर्जीसँग राष्ट्रपति यादवको भेट त्यस्तो बेला भएको छ जुन बेला १२ बुँदे यात्राले डो-याएको राजनीतिलाई संकटको दलदलबाट निकाल्न उनलाई नै हम्मे हम्मे परिरहेको छ।

वाराणसी पनि भनिने धार्मिक नगरी बनारसमा बनारस हिन्दु विश्वविद्यालयले राष्ट्रपति यादवलाई मानार्थ विद्यावारिधी प्रदान गरेको थियो।

मानार्थ उपाधि

"त्यो बारे स्पष्ट पारिएन। आन्तरिक कुरा थियो। विश्वविद्यालयले दिने सबैभन्दा माथिल्लो तहको मानार्थ डिग्री राष्ट्रपतिलाई दिइएको हो। "

राजेन्द्र दाहाल, राष्ट्रपतिका प्रेस सल्लाहकार

यसअघि सो विश्वविद्यालयले 'डि लिट' उपाधि दिने भनिएकोमा राष्ट्रपति यादवलाई एलएलडि अर्थात् 'डक्टर्स अफ ल' को मानार्थ उपाधि प्रदान गरिएको थियो।

यसबारे राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, “त्यो बारे स्पष्ट पारिएन। आन्तरिक कुरा थियो। विश्वविद्यालयले दिने सबैभन्दा माथिल्लो तहको मानार्थ डिग्री राष्ट्रपतिलाई दिइएको हो।“

बनारसबाट फर्किँदा भारतीय राष्ट्रपतिले राष्ट्रपति यादवलाई आफ्नै विमानमा दिल्ली ल्याउने कुरा राष्ट्रपति कार्यालयका अधिकारीले संचार माध्यममा बोलेका थिए।

त्यो दुर्लभ सम्मान भनिएको थियो। तर त्यसो पनि नभएको बुझिएको छ।

यस्ता फरक फरक कुरा बाहिर आउनुको कारण जान्न खोज्दा प्रेस सल्लाहकार दाहालले भने, "काहिं सन्चारमा गडबडी भएको होला। संचार यताबाट पठाइएको हो। यहांको व्यवस्थापनले बताउन सक्नुहोला। हामी त उहांहरुको अतिथिको रुपमा बसेका छौं।"

हाम्रा संवाददाता भन्छन्, मानार्थ सम्मानमा बदलाव लगत्तै निकै महत्वपूर्ण सम्मानको रुपमा हेरिएको भारतीय राष्ट्रपतिले नेपाली समकक्षीलाई आफ्नै विमानमा दिल्ली लग्ने कुरामा आएको बदलाव केवल प्राविधिक कारण थियो वा त्यसभित्र कुनै कूटनीतिक सन्देश छ भन्ने अझै प्रष्ट हुन बाँकी छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।