प्रधानमन्त्रीको प्रस्ताव मान्दैनौं: कोइराला

पछिल्लोपल्ट अपडेट गरिएको: 24.12.12, 21:21 NST सम्मका समाचार
प्रधानमन्त्री बाबुराम भट्टराई

प्रधानमन्त्रीले अडान नत्यागेकाले सहमति नजुटेको विपक्षीहरु बताउँछन्

छोटो समयकालागि मात्रै वर्तमानसरकारमा सहभागी भएपछि दोस्रो चरणमा नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिन सकिने भन्ने प्रधानमन्त्री बाबुराम भट्टराईले पठाएको भनिएको प्रस्ताव नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले स्वीकार नगर्ने बताएका छन्।

विभिन्न विषयहरुमा सहमति गरेपछि दुई चरणमा राष्ट्रिय सरकार गठन गर्ने सहमतिको सूत्र, प्रधानमन्त्रीले कांग्रेसका दोस्रो पुस्ताका नेतामार्फत कोइरालालाई पठाएको बताइएको छ।

तर सोमबार सांझ बीबीसीसंग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीले पठाएको भनिएको प्रस्ताव आफुले नपाएको र त्यो पाए पनि आफुलाई मान्य नहुने बताए।

प्रधानमन्त्रीका स्वकीय सचिवले सामाजिक सन्जाल फेसबुकमा राखेको सन्देश अनुसार प्रधानमन्त्रीले नाम नखुलाइएको कांग्रेसका दोस्रो पुस्ताका नेता मार्फत पठाएको सहमतिको सूत्रमा निर्वाचन, कानुनी बाधा अडकाउ फुकाउ, संवैधानिक निकायमा नियुक्ति गर्ने जस्ता विषयहरुमा सहमति भएपछि दुई चरणमा राष्ट्रिय सरकार गठन गर्ने प्रस्ताव गरेका छन्।

‘जबर्जस्ती’

तर सोमबार सांझ आफ्नो पार्टीको प्रशिक्षण कार्यक्रममा व्यस्त रहेका कांग्रेस सभापति कोइरालाले आफुलाई त्यस्तो प्रस्ताव मान्य नहुने प्रतिक्रिया दिए।

उनले भने, “उहाँहरु खाली जोर-जबर्जस्ती गर्नुहुन्छ, मैले त्यो सन्देश पाएको पनि छैन त्यस्तो प्रस्ताव हामीलाई मान्य छैन।”

"उहाँहरु खाली जोर-जबर्जस्ती गर्नुहुन्छ, मैले त्यो सन्देश पाएको पनि छैन। त्यस्तो प्रस्ताव हामीलाई मान्य छैन"

सुशील कोइराला, सभापति, नेपाली कांग्रेस

संकटबाट निकास निकाल्न दलहरुबीच सहमति निर्माणको निम्ति निरन्तर वार्ता हुनु पर्ने र विश्वासको वातावरण बन्नु पर्नेमा कोइरालाले जोड दिए।

प्रधानमन्त्रीले कोइरालालाई पठाएको सहमतिको सूत्रमा सहमति जुटाइसकेपछि पहिलो चरणमा अहिलेकै सरकारमा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका सबै दलहरुलाई सहभागी गराउँदै त्यसैलाई राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरिएको बताइएको छ।

त्यसपछि दोस्रो चरणमा निश्चित सहमतिको अवधिपछि चुनावको वेलामा राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसलाई दिने भनिएको छ।

गतिरोध

विगत केही दिनदेखि चर्चामा रहेको त्यस्तो प्रस्तावलाई विपक्षी दलहरुले अस्वीकार गर्दै आएका छन्।

राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले दिएको एकपछि अर्को समयसीमा सकिएको पृष्ठभूमिमा सहमति जुटाउन प्रधानमन्त्रीकै दल एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड सक्रिय देखिएका छन्।

तर कामचलाउ सरकारका प्रधानमन्त्री भट्टराईले चाहिं आफुलाई निषेध गर्न खोजेको भन्दै पहिला प्याकेजमा सहमति हुनु पर्ने अडान लिइरहेका छन्।

उनले बैशाखमा चुनावको निम्ति आवश्यक कानुनी वाधा अड्काउ फुकाउने, संवैधानिक आयोगहरुमा नियुक्ति गर्ने, शान्ति प्रक्रियाका बांकी काम सक्ने र सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गर्ने जस्ता विषयहरुमा सहमति हुनु पर्नेमा जोड दिएको बताइन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।