‘वैशाखमा चुनाव हुनेमा आशंका’

पछिल्लोपल्ट अपडेट गरिएको: 14.12.12, 20:16 NST सम्मका समाचार
निर्वाचन आयोग

दलहरुले सहमति गर्न ढिलाई गरे फेरि पनि चुनाव सर्न सक्ने संकेत निर्वाचन आयोगले गरेको छ

राजनीतिक सहमतिको खोजी जारी रहँदा सरकारले आगामी वैशाखमा निर्वाचन हुनैपर्ने अडानहरु सार्वजनिक गरिरहे पनि विपक्षी दल नेपाली कँग्रेस र एमालेका नेताहरुले त्यस्तो सम्भावनाप्रति आशंका व्यक्त गरेका छन्।

प्राबिधिक हिसाबले अहिलेकै अन्यौल कायम रहेमा वैशाखमा चुनाव सम्भव नहुने काँग्रेस र एमालेका नेताको भनाई छ।

"आजकै मितिबाट घनिभृत रुपमा छलफल गरेर सहमति कायम गर्यौं भने पनि निर्वाचन वैशाखमा हुन सक्दैन"

भिम रावल, नेता, नेकपा एमाले

निर्वाचन आयोगले पनि दलहरुबीच सहमतिमा ढिलाई हुँदै जाँदा त्यस्को असर चुनावको तयारीमा पनि पर्ने र निर्वाचन पछि सर्न सक्ने संकेत गरेको छ।

निश्चित दिन नतोकी वैशाखमा अर्को संविधानसभा चुनाव गराउने निर्णय लिएका प्रधानमन्त्री वावुराम भट्टराईले विहिवार मात्र वैशाखमा चुनाव हुने सुनिश्चित भए आफू पद त्याग्न तयार रहेको धारणा सार्वजनिक गरेका थिए।

शंका

तर त्यस्को भोलिपल्टै कँग्रेस र एमालेका नेताले वैशाखमा चुनाव हुन सक्नेमा शंका व्यक्त गरेका हुन्।

"संवैधानिक एवं कानुनी प्राबधान, निर्वाचन संख्या लगयतका कुरा निर्धारण गर्न समय अपुग हुने भएकाले सत्ताधारी दलहरुले त्यस तर्फ ध्यान दिनु जरुरी छ"

प्रकाशमान सिंह, महामन्त्री, नेपाली कँग्रेस

एमाले नेता भिम रावलले भने, “आजकै मितिबाट घनिभृत रुपमा छलफल गरेर सहमति कायम गर्यौं भने पनि निर्वाचन वैशाखमा हुन सक्दैन।”

नेपाली कँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पनि वैशाखमा चुनाव गर्न अव समय अपुग हुन सक्ने संकेत गरे।

उनले भने, “संवैधानिक एवं कानुनी प्राबधान, निर्वाचन संख्या लगयतका कुरा निर्धारण गर्न समय अपुग हुने भएकाले सत्ताधारी दलहरुले त्यस तर्फ ध्यान दिनु जरुरी छ।”

संकेत

सरकारले यस अघि मंसिर ७ गतेका लागि चुनावको मिति घोषणा गरेपनि दलहरुबीचको असहमति, संवैधानिक एवं कानुनी अड्चन र निर्वाचन आयोगका अगाडी देखिएका प्राबिधिक कठिनाईका कारण त्यो व्यर्थ हुन पुगेको थियो।

"सहमति चाँडै होस् भन्ने चाहना छ तर यदि दलहरुले सहमितमा ढिलाई गरे भने निर्वाचनको रेखदेख र व्यवस्थापन गर्न कठिनाई हुन सक्छ"

दोलखबहादुर गुरुङ, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले दलहरुबीच सहमतिमा ढिलाई भईरहे फेरि पनि चुनाव पछि सर्न सक्ने संकेत गरे।

गुरुङले भने, “सहमति चाँडै होस् भन्ने चाहना छ तर यदि दलहरुले सहमितमा ढिलाई गरे भने निर्वाचनको रेखदेख र व्यवस्थापन गर्न कठिनाई हुन सक्छ।”

तर एकीकृत माओवादीका नेता पोष्टबहादुर बोगटिले चाहिं वैशाखमा चुनाव हुनेमा अनावश्यक शंका गर्न नहुने तर्क गरेका छन्।

"निर्वाचन आयोगले चार महिनाको समय पाए तयारी गर्न सकिन्छ भनेकाले शंका गर्नु जरुरी छैन"

पोष्टबहादुर बोगटि, नेता, एकीकृत माओवादी

बोगटीले भने, “निर्वाचन आयोगले चार महिनाको समय पाए तयारी गर्न सकिन्छ भनेकाले शंका गर्नु जरुरी छैन।”

संविधानमा संशोधन, निर्वाचन कानुनमा परिमार्जन, निर्वाचन आयोगमा नियुक्ती, निर्वाचन सामग्रीको खरिद र ढुवानी, निर्वाचन सम्बन्धी कर्मचारीलाई तालिम र व्यवस्थापन जस्ता प्राबिधिक विषयका कारण वैशाखमा चुनाव गराउन समय अभाव हुन सक्ने विश्लेषण गर्नेहरुको संख्या पनि धेरै पाईन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।