राष्ट्रपतिद्वारा फेरि म्याद थप, दलहरुको विमति यथावत

पछिल्लोपल्ट अपडेट गरिएको: 07.12.12, 20:40 NST सम्मका समाचार
विपक्षी नेताहरु

विपक्षी र सत्तापक्ष आ आफ्ना अडानमा अडिग हुँदा सहमति टाढा देखिएको छ

सहमतिका लागि राष्ट्रपतिले तेस्रो पटक समयसीमा दिएतापनि सत्तापक्ष तथा विपक्षी दलहरु आ-आफ्ना अडानबाट टसका मस नहुने संकेत नेताहरुले दिएका छन्।

नयाँ संविधानसभाको चुनावमा जानु अघि शासकीय स्वरुप तथा संघीयता जस्ता संविधानको मूल अन्तर्वस्तुमा सहमति बनाइनुपर्ने सत्ताधारीको मागलाई विपक्षी नेताहरुले कुनै हालतमा मान्न नसकिने बताएका छन्।

दुई चोटि सातदिने म्याद दिएका राष्ट्रपतिले तेस्रो पटक अन्तरिम संविधानको धारा ३८ (१) अन्तर्गत शुक्रबार बिहान ६ दिनको म्याद दिएका थिए।

सम्झौता

बुधबारदेखि एकाएक दलहरुबीचको बैठकको केन्द्रिय एजेन्डा बन्न पुगेको संविधानको अन्तर्वस्तुमा सहमति हुनुपर्ने भन्ने विषयमा दुई पक्षहरुबीच राय मिल्ने सम्भावना तत्कालका लागि देखिएको छैन।

त्यसलाई प्रष्ट पार्दै विपक्षी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “त्यसोभए के का लागि संविधानसभाको चुनाव गर्नु? चुनावमा जाने भनेपछि त जनताकै म्यान्डेट लिनुपर्छ। यस विषयमा कुनै सम्झौता हुँदैन।”

"संविधानका अन्तर्वस्तुमा एउटा प्रतिबद्धता हामीलाई चाहिन्छ। संविधानसभामा हामी यसरी जान्छौं र यी विषयमा प्रतिबद्धता जनाउँछौं भनेर उहाँहरुले भन्नैपर्छ"

पोष्टबहादुर बोगटी, एकीकृत माओवादीका सचिव

तर त्यस्तो सम्झौता नभइकन नहुनेमा सत्ताधारीहरु अडिग छन्।

“संविधानका अन्तर्वस्तुमा एउटा प्रतिबद्धता हामीलाई चाहिन्छ। संविधानसभामा हामी यसरी जान्छौं र यी विषयमा प्रतिबद्धता जनाउँछौं भनेर उहाँहरुले भन्नैपर्छ,” एकीकृत माओवादीका सचिव पोष्टबहादुर बोगटीले बताए।

औचित्य

सत्तापक्षले राखेको ताजा माग मान्ने हो भने संविधानसभाको नयाँ चुनावको औचित्य समाप्त हुने अर्को विपक्षी नेकपा एमालेको बुझाइ छ।

“कि त संविधानसभाको चुनावको आवश्यकता छैन, सहमति भएका विषयहरुलाई आउने संसदले अनुमोदन गरे पुग्छ भन्न पर्‍यो। होइन संविधानसभाको चुनाव गर्ने हो भने संविधान बनाउने जिम्मा उसैलाई दिनुपर्छ,” एमाले सचिव युवराज ज्ञवालीले भने।

दुवै पक्षको अडान यथावत रहने देखिंदा तीन तीन पटक म्याद दिएका राष्ट्रपति आफैं अप्ठेरोमा परेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।