सरकार, विपक्षी बेग्लाबेग्लै बाटोमा

पछिल्लोपल्ट अपडेट गरिएको: 17.11.12, 20:36 NST सम्मका समाचार

विपक्षीहरुले सरकार विरुद्ध आन्दोलन चर्काउन भन्दै नागरिक समाजसँग अन्तरक्रिया गरेका छन्

दशैं तिहारबीच सहमति खोजेर बजेट ल्याउने बताएका दलहरु त्यसो गर्न विफल भएका छन्।

बदलामा दलहरु आ-आफ्नो अड्डी कार्यान्वयनको अन्तिम तयारीमा देखिएका छन्।

तिहार लगत्तै नेपाली कांग्रेस, नेकपा एमाले लगायतका मुख्य विपक्षीहरु सरकार विरुद्धको आन्दोलन चर्काउन जोडतोडले लागेका छन्।

मुख्य सत्तारुढ दल एकीकृत माओवादी सहमति बिना नै पूर्ण बजेट राष्ट्रपतिकहाँ पुर्‍याएर त्यसको प्रतिक्रिया कुर्ने मनस्थितिमा देखिन्छ।

संसद नरहेको स्थिति भन्दै राष्ट्रपतिबाट सहमति जुटाउन निरन्तर दबाब परिरहे पनि दलहरुमा आ-आफ्ना अडान तत्काल छाडने चाहना देखिन्न।

बजेटको तयारी

तिहारका बेला दलहरुबीच भएका अनेकौं औपचारिक अनौपचारिक छलफलमा सहमतिको बिन्दु फेला पर्न नसकेको भन्दै सरकारले एकलौटी रुपमा राष्ट्रपतिकहाँ बजेट अध्यादेश पुर्‍याउने तयारी गरेको छ।

माओवादी नेता तथा मन्त्री पोष्टबहादुर बोगटी भन्छन्, "भोलि राष्ट्रपतिकहाँ बजेट पुर्‍याउँछौं, मलाई विश्वास छ, उहाँले त्यो स्वीकार गर्नुहुनेछ।"

"माओवादी सत्ता छोड्दैन, उसको नेतृत्वमा हुने चुनावमा अरु जान सक्दैनन्"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस

शनिबार विपक्षीहरुले आफूहरुको सरकार विरोधी आन्दोलनबारे नागरिक समाजसँग अन्तरक्रिया गरेका छन्।

आन्दोलनको बाटो

सहमतिको प्रयत्न सफल हुन नसकेकाले सरकारलाई गलाउन आन्दोलन रोज्नु परेको कांग्रेस उपसभापति रामचन्द्र पौडेल बताउँछन्।

नागरिक समाजबाट पनि आन्दोलनको पक्षमा धारणा आएको उनको दावी छ।

सहमति जप्दा जप्दै पाँच महिनाअघि संविधानसभाको म्याद गुजारेका दलहरुबीच एकले अर्कालाई सहमतिको बाधक भन्ने आरोप प्रत्यारोप कायमै देखिन्छ।

"भोलि राष्ट्रपतिकहाँ बजेट पुर्‍याउँछौं, मलाई विश्वास छ, उहाँले त्यो स्वीकार गर्नुहुनेछ"

पोष्टबहादुर बोगटी, मन्त्री तथा नेता एकीकृत माओवादी

माओवादी नेता बोगटी विपक्षीहरुले समाधानको बाटो खोज्नु भन्दा विरोधको लागि विरोध गरिरहेको बताउँछन्।

शंका

विपक्षीहरु चाहिँ माओवादीले सत्ता छोड्न नचाहेको भन्दै संशंकित देखिन्छन् ।

कांग्रेस नेता पौडेलले भने, "माओवादी सत्ता छोड्दैन, उसको नेतृत्वमा हुने चुनावमा अरु जान सक्दैनन्।"

काठमाण्डूस्थित बीबीसीकी संवाददाता भन्छिन्, विपक्षी, सत्तापक्ष र राष्ट्रपतिबीचको त्रिकोणात्मक संघर्षमा थपिएको बजेटको जटीलता चिर्न नागरिक समाजको भूमिका र दबाबको अपेक्षा तीनै पक्षले गरिरहेको बताइन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।