छिट्टै चुनावको नयाँ मिति घोषणा: प्रधानमन्त्री

पछिल्लोपल्ट अपडेट गरिएको: 15.11.12, 21:26 NST सम्मका समाचार
बाबुराम भट्टराई

व्याप्त असहमतिका माझ प्रधानमन्त्रीले चुनावबारे सहमति खोज्ने बताएका हुन्

प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुबीच सहमति जुटाएर मंसिरको दोस्रो सातासम्ममा चुनावको नयाँ मिति घोषणा गर्ने योजना बनाएको बताएका छन्।

छोटो समयका लागि संविधानसभा पुनर्स्थापना गरेर चुनाव गर्ने सोच प्रधानमन्त्रीले बनाएको उनका प्रमुख राजनीतिक सल्लाहकारले बताए।

तर मंसीरमा सरकार विरोधी आन्दोलन घोषणा गरिसकेका प्रतिपक्षी दलका नेताहरुले प्रधानमन्त्रीको राजिनामा नआएसम्म सहमति हुन नसक्ने अडान दोहोर्‍याएका छन्।

लम्बिदो राजनीतिक संकटसंगै गहिरिदो अनिश्चितता टुंग्याउन तिहारको बेला पनि राष्ट्रपतिले प्रमुख राजनीतिक शक्तीका नेताहरुलाई घच्घच्याए।

तर सत्ताधारी र प्रतिपक्षी दलहरुले आ-आफ्ना अडान त्यागेका छैनन्।

सहमतिको खोजी

बिहिबार भाइटिका लगाउँदै गर्दा प्रधानमन्त्री भट्टराईले सहमतिका आधारमा मंसिरको दोस्रो साता चुनावको नयाँ मिति घोषणा गर्ने योजना बनाएको पत्रकारहरुलाई बताए।

त्यसबारे थप प्रष्ट्याउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, “चुनाव घोषणा गरेको मिति मंसिर सात गतेपछि चुनावको नयाँ मिति घोषणा गर्नु पर्ने हुन्छ, त्यसनिम्ती प्रधानमन्त्रीले सहमतिको खोजी गर्दै हुनुहुन्छ।”

"चुनाव घोषणा गरेको मिति मंसिर सात गतेपछि चुनावको नयाँ मिति घोषणा गर्नु पर्ने हुन्छ, त्यसनिम्ती प्रधानमन्त्रीले सहमतिको खोजी गर्दै हुनुहुन्छ"

देवेन्द्र पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

यहि सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने अडान प्रधानमन्त्रीले दोहोर्‍याउने क्रम जारी छ।

त्यस्को ठिक विपरित प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीले तत्काल राजिनामा गर्नु पर्ने माग छोडेका छैनन्।

दुई साताभित्र चुनावको नयाँ मिति घोषणा गर्ने प्रधानमन्त्रीको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आलोचना गरे।

“त्यो ढाँट-छल गर्नको लागि प्रधानमन्त्रीले भनेको कुरा होला, यथार्थ के हो म भन्न सक्दिन।”

बजेट संकट

"त्यो ढाँट-छल गर्नको लागि प्रधानमन्त्रीले भनेको कुरा होला, यथार्थ के हो म भन्न सक्दिन"

रामचन्द्र पौडल, उपसभापति, नेपाली कांग्रेस

नेकपा एमालेका नेताहरुका प्रतिक्रियाहरु पनि प्रधानमन्त्रीका लागि पटक्कै कर्णप्रिय सुनिदैनन्।

प्रधानमन्त्री र सत्तारुढ गठबन्धनको क्रियाकलापबाट असन्तुष्ट विपक्षी दलहरुको मोर्चाले सरकारलाई घुँडा टेकाउन भन्दै मंसीर महिनाभर सरकार विरोधी कार्यक्रमहरु गर्ने उदघोष गरिसकेको छ।

असहमतिका माझ सत्ताधारी र प्रतिपक्षी दलहरुको जारी पौंठाजोरीका कारण देशले पाँच महिनादेखि भोगिरहेको राजनीतिक र संवैधानिक संकट लम्बिने क्रम जारी छ।

त्यसमाथि यतिखेर सरकारले ल्याउन लागेको पुर्ण बजेट असहमतिको चेपुवामा परेको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।