चीनमा नयां पार्टी नेतृत्वको चयन

पछिल्लोपल्ट अपडेट गरिएको: 15.11.12, 17:53 NST सम्मका समाचार
शी जीनपींग

शी जीनपींगलाई कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकले चीनको नयां नेताको रुपमा चयन गरेको छ

शी जीनपींग चीनका नयां नेता नियुक्त भएका छन् र भनेका छन् सत्ताधारी कम्युनिष्ट पार्टीले भ्रष्टाचार विरुद्ध लड्ने र जनताबाट टाढा रहने समस्या समाधान गर्नु पर्दछ।

शी जीनपींगले हु जीन्ताओको स्थान लिनेछन् जसको नेतृत्वमा चीनले एक दशकसम्म अभूतपूर्व आर्थिक वृद्धि देखेको थियो।

पार्टी र चीनको शक्तिशाली सेना दुवैको सर्वोच्च पद धारण गरेपछि, नयां पोलिटब्युरो स्थायी कमिटीको नेतृत्व गर्दै बेइजिंग स्थित ग्रेट हल अफ दि पीपलमा प्रवेश गर्दा उनले मुस्काउंदै हात हल्लाएर अभिवादन गरेका थिए।

शी जीनपींगले भने, “ पार्टीका सामु निकै गम्भीर चुनौतीहरु रहेका छन्, संगसंगै पार्टी भित्र थुप्रै जल्दाबल्दा समस्याहरु पनि छन् जसको समाधान गरिनु पर्छ। तिनमा विशेषगरी भ्रष्टाचार, जनताबाट टाढिने काम, औपचारिकताहरु र केही पार्टी अधिकारीहरुले सिर्जना गरेका कर्मचारीतन्त्र छन्।“

मञ्चमा नयां पार्टी महासचिव शी लाई अर्का नेता लि कचीआंग ले पछ्याएका थिए जसले प्रधानमन्त्री वेन जिआबाओको स्थान लिने छन्।

उनीहरुका पछाडी शक्तिशाली स्थायी कमिटीका अन्य पांच जना सदस्यहरु थिए।

"पार्टीका सामु निकै गम्भीर चुनौतीहरु रहेका छन्, संगसंगै पार्टी भित्र थुप्रै जल्दाबल्दा समस्याहरु पनि छन् जसको समाधान गरिनु पर्छ।"

शी जीनपींग, चिनियां कम्युनिष्ट पार्टीका नयां महासचिव

यस अघि नौ जना सदस्य रहेको स्थायी कमिटीलाई यसपटक सात सदस्यीय तुल्याइएको छ।

नयां स्थायी कमिटीलाई पार्टीको नयां केन्द्रीय कमिटीले बिहीबार मतदानद्वारा चयन गरेको हो, तर यसबारेको निर्णय निकै पहिले नै भैसकेको थियो।

शांगहाई का भूतपूर्व पार्टी प्रमुख शी जिनपींग सन् २००७ मा पोलीटब्युरो सदस्य बनेका थिए।

५९ बर्षिय शी, नेता जियांग जमिनको राजनीतिक अगुवाइमा हुर्के बढेका हुन्।

बीबीसी चिनीयां सेवाका रेमण्ड ली भन्छन्, नयां नेतृ्त्व मण्डलमा ती ८६ बर्षे पूर्व नेता जीयांग कै महत्वपूर्ण प्रभाव देखिन्छ र सातमध्ये कम्तीमा चार जनालाई उनकै सहयोगीका रुपमा हेरिन्छ।

चीनको पोलिट ब्युरोको स्थायी कमिटी

पोलिटब्युरोमा राजनीतिक पुरातनवादीहरुको बाहुल्य रहेको बताइएको छ

यसैबीच पद छाड्न लागेका नेता हु जीन्ताओका तीन जना सहयोगीहरु भने स्थायी कमिटीमा चयन हुन सकेनन्।

उनले केन्द्रीय सैनिक आयोगको अध्यक्षको पद पनि त्यागेका छन् जुन उनले सबै राजनीतिक पदबाट पूर्ण अवकाश लिन लागेको र उनी राजनीतिक जीवनबाट पनि टाढा रहन लागेको भन्ने संकेत हो।

नयां कमिटीका धेरैजसो सदस्यहरु राजनीतिक रुपमा पुरातनवादी मानिन्छन् र पार्टीमा सुधारवादी मानिने नेताहरुको भने पदोन्नति भएको छैन।

त्यसैले चीनमा अब राजनीतिक सुधारको सम्भावना कम देखिएको विश्लेषणहरु गरिंदैछ।

बिहीबारको घटना पछि चीनमा एउटा पुस्ताबाट अर्को पुस्तामा औपचारिक रुपमा शक्ति हस्तान्तरण भएको छ।

चीनको नयां पोलिट ब्युरो स्थायी कमिटी सदस्यहरु

कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीले विहीबार शक्तिशाली पोलिट ब्युरो स्थायी कमिटीको चयन गरेको हो

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।