तिहार लगत्तै लोडशेडिङ बढ्ने

पछिल्लोपल्ट अपडेट गरिएको: 14.11.12, 20:19 NST सम्मका समाचार

पानीमा धनी देश नेपालमा सरकारले डिजेलबाट बीजुली निकालेर लोडशेडिङ घटाउने बताएको छ

तिहारको झिलिमिली सकिने बित्तिकै नेपालीहरुले बढ्दो रुपमा अँध्यारा साँझहरुको सामना गर्नु पर्ने थप प्रष्ट भएको छ।

सरकारी अधिकारीहरुले डिजेल र फर्नेस तेलबाट बिजुली निकाल्ने र भारतबाट थप विद्युत आयात गर्ने योजना अगाडि बढिरहेको बताएका छन्।

अहिले दैनिक झण्डै सात घन्टा लोडशेडिङ गरिरहेको नेपाल विद्युत प्राधीकरणले तिहार सकिएको एक साताभित्रै लोडशेडिङका घन्टाहरु बढाउनुपर्ने स्थिति रहेको प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

जुक्ति

उर्जासचिव हरेराम कोइरालाले आसन्न लोडशेडिङ कम गर्न सरकारले लगाइरहेको जुक्तिबारे भने, "हेटौंडाको थर्मल प्लान्ट चलाउन थालिएको छ, इटहरीको मर्मत हुँदैछ, भारतबाट बीजुली पनि ल्याइन्छ।"

"हेटौंडाको थर्मल प्लान्ट चलाउन थालिएको छ, इटहरीको मर्मत हुँदैछ, भारतबाट बिजुली पनि ल्याइन्छ"

हरेराम कोइराला, उर्जा सचिव

जलविद्युतको तुलनामा पेट्रोलियम पदार्थबाट विजुली निकाल्दा तेब्बर भन्दा बढी लगानी पर्ने बताइन्छ।

देशमा पेट्रोलियम पदार्थ एक थोपा उत्पादन नहुने भएकाले थर्मल प्लान्टहरु सन्चालनमा ल्याउन सरकारसँग छ अर्ब रुपैया मागिएको सचिव कोइरालाले बताए।

सचिव कोइरालाका अनुसार थर्मल प्लान्ट र भारतबाट बीजुली आयात गर्दा पनि कम्तिमा दैनिक १२ घन्टा बीजुली विना नै बस्नुपर्नेछ।

विरोध

आलोचकहरु भने सवारी साधनका लागि इन्धन आपूर्ति गर्न नसकेको सरकारले डिजेलबाट बिजुली निकाल्ने योजना बनाउनु व्यवहारिक नभएको भन्दै चर्को विरोध गरेका छन्।

"प्रति युनिट ३०-३२ रुपैया पर्ने पेट्रोलियम पदार्थ ल्याएर देशलाई उज्यालो बनाउँछु भन्नु दिवा सपना मात्र हो, यसले देशलाई टाट पल्टाउँछ"

हरि वैरागी दाहाल, जलविद्युत लगानीकर्ता

साना जलविद्युत आयोजनाका एक लगानीकर्ता हरि बैरागी दाहालले भने, "प्रति युनिट ३०-३२ रुपैया पर्ने पेट्रोलियम पदार्थ ल्याएर देशलाई उज्यालो बनाउँछु भन्नु दिवा सपना मात्र हो, यसले देशलाई टाट पल्टाउँछ।"

विश्लेषकहरू भन्छन्, जलश्रोतको अपार धनी देश नेपालमा थर्मल प्लान्ट चलाउन आगामी आठ महिनाका लागि छ अर्ब रुपैया माग्नु भन्दा त्यसरी पेट्रोलियम पदार्थका लागि छुट‍्याइने अरबौं रुपैया नै जलविद्युतमा लगाए दीगो र स्थायी रुपमा लोडशेडिङ समस्या समाधान हुन सक्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।