बीबीसीका महानिर्देशकद्वारा राजीनामा

पछिल्लोपल्ट अपडेट गरिएको: 11.11.12, 18:32 NST सम्मका समाचार
 जर्ज एन्ट्विसल

जर्ज एन्ट्विसलले गलत रिपोर्ट प्रसारण भएकोमा जिम्मेवारी लिंदै आफ्नो पदबाट राजीनामा दिएका हुन्

बीबीसीका महानिर्देशक जर्ज एन्ट्विसलले आफ्नो पदबाट राजीनामा दिएका छन्।

बीबीसीको न्युजनाइट कार्यक्रममा बाल यौन शोषणबारेको एक रिपोर्ट तथ्यमा आधारित नभएको पाइएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

बीबीसीका महानिर्देशकले बीबीसीको प्रधान सम्पादकको काम पनि गर्दछन्।

शनिबार राती मध्य लण्डनस्थित बीबीसीको नयां कार्यालय, न्यु ब्रोडकास्टिङ हाउस, बाहिर एउटा लिखित वक्तव्य पढ्दै एन्ट्विसलले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

"मैले पदबाट हटनु संमानजनक हुने निधो गरेको छु "

बीबीसीका तत्कालिन महानिर्देशक जर्ज एन्ट्विसल

उनले भने, “मैले पदबाट हटनु संमानजनक हुने निधो गरेको छु।”

‘ठूलो सम्मान’

उनले भने, "एउटा अत्यन्तै चुनौतीपूर्ण परिस्थितिमा छोटो समयकालागि भएपनि बीबीसीको महानिर्देशक बन्नु एउटा ठूलो सम्मान हो।"

५४ दिनअघि मात्रै जर्ज एन्ट्विसललाई बीबीसीको नयां महानिर्देशक पदमा नियुक्त गरिएको थियो।

महानिर्देशकलाई नियक्त गर्ने बीबीसी ट्ष्टका प्रमुख लर्ड क्रिस पैटनले भने, “विश्वकै एउटा भरोसायोग्य समाचार संगठनमा प्रधानसम्पादकको हैसियतमा जर्जले निकै सम्मानजनक ढंगले आफ्नो पदबाट राजीनामा दिएका छन् किनभने जुन गल्ती भएको छ, त्यो स्वीकार्य छैन।”

टेलिभिजनबाट प्रसार हुने बीबीसीको न्युजनाइट कार्यक्रममा सत्तारुढ कन्जर्भेटिभ पार्टीका एकजना वरिष्ठ सदस्य सन् उन्डाइस सय असीको दशकमा बाल यौन शोषणमा संलग्न भएको दावी गरिएको थियो।

तर उनको नाम भने लिईएको थिएन।

खासगरी इन्टरनेटमा आधारित सामाजिक सन्जालमा ती व्यक्ति लर्ड मैकअल्पाइन भएको सार्वजनिक गरिएपछि उनले ती विवरणहरुको कडा खण्डन गरेका थिए।

त्यसपछि बीबीसीले गलत समाचार प्रसार गरेको भन्दै सार्वजनिकरुपमा क्षमायाचना गरेको थियो।

बीबीसी वर्ल्डवाइडका मुख्य कार्यकारी अधिकृत टिम डेवीलाई बीबीसीको कार्यवाहक महानिर्देशक पदमा नियुक्त गरिएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।