‘बीबीसीको संरचनामा आमूल परिवर्तन आवश्यक’

पछिल्लोपल्ट अपडेट गरिएको: 11.11.12, 21:37 NST सम्मका समाचार
लर्ड  प्याटन

अध्यक्ष प्याटनले बीबीसीको व्यवस्थापनमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन्

विश्वकै एउटा प्रतिष्ठित संचार संस्था बीबीसी एक पछि अर्को विवादमा फंस्दै जांदा बीबीसी ट्रष्टका अध्यक्ष लर्ड प्याटनले बीबीसीको संरचना र व्यवस्थापनमा एउटा विस्तृत र आमूल परिवर्तन गर्नुपर्ने बताएका हुन्।

लर्ड प्याटनले बीबीसीको विश्वसनियता कायम गर्न आफु आफ्नो पदमा रहिरहन चाहेको बताए।

उनले केही साताभित्रै नयां महानिर्देशक छनोट गरिने पनि जनाए।

बीबीसीका एकजना चर्चित पत्रकार एण्ड्रयु मारले सोधेको एक प्रश्नको जवाफमा उनले भने, “जर्ज एन्ट्विसलले निकै संमानपूर्वक आफ्नो पदबाट राजीनामा दिए। मैले उनीसंग कुनै बहस गर्न चाहिनं, किनभने उनले यसबारे एउटा निर्णय गरिसकेका थिए र मेरो विचारमा त्यो सही निर्णय थियो।”

राजीनामा

बीबीसी टेलिभिजनबाट प्रसार हुने न्युजनाइट कार्यक्रममा बाल यौन शोषणबारेको एक रिपोर्ट तथ्यमा आधारित नभएको पाइएपछि जर्ज एन्ट्विसलले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

शनिबार राती मध्य लण्डनस्थित बीबीसीको नयां कार्यालय, न्यु ब्रोडकास्टिङ हाउस, बाहिर एउटा लिखित वक्तव्य पढ्दै एन्ट्विसलले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

"जर्ज एन्ट्विसलले निकै संमानपूर्वक आफ्नो पदबाट राजीनामा दिए। मैले उनीसंग कुनै बहस गर्न चाहिनं, किनभने उनले यसबारे एउटा निर्णय गरिसकेका थिए र मेरो विचारमा त्यो सही निर्णय थियो।"

लर्ड प्याटन, बीबीसी ट्रष्टका अध्यक्ष

उनले भने, “बीबीसीको महानिर्देशक प्रधान सम्पादक पनि हुनेभएकाले र शुक्रबार, नोभेम्बर दुई तारिखमा प्रसारित न्युजनाईट कार्यक्रम पत्रकारिताको मापदण्डको दृष्टिकोणले अस्वीकार्य रहेकाले मैले महानिर्देशकको पद छोडनु संमानजनक काम हुने निधो गरेको छु।”

जर्ज एन्ट्विसलले एउटा अत्यन्तै चुनौतीपूर्ण परिस्थितिमा छोटो समयकालागि भएपनि बीबीसीको महानिर्देशक बन्नु आफ्नोलागि एउटा ठूलो सम्मानको विषय भएको पनि बताए।

५४ दिनअघि मात्रै जर्ज एन्ट्विसललाई बीबीसीको नयां महानिर्देशक पदमा नियुक्त गरिएको थियो।

न्युजनाइट कार्यक्रममा सत्तारुढ कन्जर्भेटिभ पार्टीका एकजना वरिष्ठ सदस्य सन् उन्नाइस सय असीको दशकमा बाल यौन शोषणमा संलग्न भएको दावी गरिएको थियो।

तर उनको नाम भने लिइएको थिएन।

खासगरी इन्टरनेटमा आधारित सामाजिक सन्जालमा ती व्यक्ति लर्ड मैकअल्पाइन भएको सार्वजनिक गरिएपछि उनले ती विवरणहरुको कडा खण्डन गरेका थिए।

त्यसपछि बीबीसीले गलत समाचार प्रसार गरेको भन्दै सार्वजनिकरुपमा क्षमायाचना गरेको थियो।

बीबीसी वर्ल्डवाइडका मुख्य कार्यकारी अधिकृत टिम डेवीलाई बीबीसीको कार्यवाहक महानिर्देशक पदमा नियुक्त गरिएको छ।

महानिर्देशक जर्ज एन्ट्विसलले केही दिनअघि मात्रै बीबीसीको पत्रकारिताको गुणस्तरमाथि उठेका प्रश्नहरुको विषयलाई लिएर ब्रिटिश संसदसामु जवाफ दिएका थिए।

ब्रिटिश संसदको संचारमाध्यम, संस्कृति तथा खेलकुद समितिका अध्यक्ष जोन ह्विटिंगडेलले भने “यो महानिर्देशकको मात्रै हैन, बीबीसी व्यवस्थापनको हरेक तहको असफलता हो। र, यस्तो कार्यक्रम किन प्रसार गरियो भन्नेबारे अहिलेपनि हामीसंग थुप्रै प्रश्नहरु छन्।”

रिपोर्ट

यसअघि बीबीसीको न्युजनाइट कार्यक्रमले नै सत्तरीको दशकका बीबीसीका एकजना चर्चित प्रस्तोता स्वर्गीय जिम्मी स्याभिलले लामोसमयसंम किशोरीहरुको यौन शोषण गरेका थिए भन्ने आरोपहरुबारे एउटा खोजमूलक रिपोर्ट तयार गरेको थियो।

"बीबीसीले एन्ट्विसललाई अरु बढी समय दिनुपर्दथ्यो"

बेन ब्राडशा, लेबर पार्टीका सांसद

तर उक्त कार्यक्रमका सम्पादकले नै उक्त रिपोर्ट प्रसार गर्न नमिल्ने निर्णय गरेको समाचार प्रकाशमा आएपछि बीबीसी व्यवस्थापनले चौतर्फी आलोचना खेप्नु परेको थियो।

त्यसलगत्तै महानिर्देशक एन्ट्विसलले विभिन्न छानबीन कमिटिहरु गठन गरेका थिए।

एउटा कमिटिले उक्त खोजमूलक रिपोर्ट किन प्रसारण गरिएन भन्नेबारे छानबीन गरिरहेको छ भने अर्को कमिटिले सन् सत्तरी तथा असीको दशकमा बीबीसीको संस्कृति र अभ्यासबारे छानबीन गरिरहेको छ।

त्यस्तै अर्को एउटा समितिले यौनजन्य उत्पीडनका विषयमा बीबीसीको नीतिको लेखाजोखा गरिरहेको छ।

तर आफैले गठन गरेका समितिहरुले रिपोर्ट तयार गर्नुअघि नै महानिर्देशक एन्ट्विसल बीबीसीबाट बाहिरिएका छन्।

त्यसो त बीबीसीका उनका सहकर्मीहरु तथा केही विपक्षी सांसदहरुले एन्ट्विसलमाथि अन्याय गरिएको बताएका छन्।

विपक्षी लेबर पार्टीका सांसद तथा ब्रिटिश संसदको संचारमाध्यम, संस्कृति तथा खेलकुद समितिका एकजना सदस्य बेन ब्राडशाले भने, एन्ट्विसल एकजना अत्यन्तै प्रतिभाशाली र अत्यन्तै असल व्यक्ति हुन्, जसले बीबीसीमा राम्रो काम गर्न खोजीरहेका थिए।

उनले भने, "बीबीसीले एन्ट्विसललाई अरु बढी समय दिनुपर्दथ्यो।"

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।