चुनावमा आउन एमाओवादीलाई काँग्रेसको चुनौती

पछिल्लोपल्ट अपडेट गरिएको: 09.11.12, 20:18 NST सम्मका समाचार
नेपाली काँग्रेस कार्यालय

जवर्जस्ती गरे एमाओवादीको हविगत पनि राणा, पञ्चायत र राजाकै जस्तो हुने काँग्रेसको भनाइ छ

विपक्षी गठबन्धले सरकार विरोधी आन्दोलनका कार्यक्रम घोषणा गर्ने अघिल्लो दिन शुक्रबार मुख्य विपक्षी दल नेपाली काँग्रेसले राजधानीमा आमसभा गर्दै एकीकृत माओवादीलाई चुनावी प्रतिस्पर्द्धामा आउन चुनौती दिएको छ।

२०४६ सालको जनआन्दोलनका कमाण्डर भनिने काँग्रेस नेता गणेशमान सिंहको ९७ औं जन्मजयन्तीको सन्दर्भमा गरिएको सभामा काँग्रेस नेताहरुले सत्ता नछोडे एकीकृत माओवादीको हविगत पनि राणा, पञ्चायत र राजाकै जस्तो हुने चेतावनी दिए।

आलोचना

"हाम्रो पहिलो लक्ष्य नै चुनाव हो, यो सत्ता कब्जा गर्ने जुन हठ छ त्यसलाई त्याग्नुस् र म तपाईहरुलाई चुनौती दिन चाहन्छु कि चुनावको प्रतिस्पर्धामा आउनुहोस्, अर्को बाटो समात्नु भनेको पतनको बाटो हुनेछ"

सुशील कोईराला, सभापति, नेपाली काँग्रेस

हजारौं नेता, कार्यकर्ता र शुभेच्छुकहरु उपस्थित बसन्तपुरमा आयोजित आमसभामा बोल्ने अधिकांश काँग्रेस नेताले सत्ता कब्जा गर्न खोजेको भन्दै कामचलाउ सरकार र त्यसको नेतृत्व गरिरहेको पार्टी एकीकृत माओवादीका नेताहरुको तीव्र आलोचना गरेका थिए।

सभालाई सम्बोधन गर्दै काँग्रेस सभापति सुशील कोईरालाले भने, “हाम्रो पहिलो लक्ष्य नै चुनाव हो, यो सत्ता कब्जा गर्ने जुन हठ छ त्यसलाई त्याग्नुस् र म तपाईहरुलाई चुनौती दिन चाहन्छु कि चुनावको प्रतिस्पर्धामा आउनुहोस्, अर्को बाटो समात्नु भनेको पतनको बाटो हुनेछ।”

विगतका आन्दोलनबाट सत्ताच्युत हुन वाध्य पारिएका शासकहरुको उदाहरण दिंदै कोईरालाले भने, “यदि जबर्जस्ती हिंड्न खोजिए माओवादीको हविगत पनि राणा, पञ्चायत र राजाकै जस्तो हुनेछ।”

संविधानसभा पुनर्स्थापनाको माग उठाउँदै आएका पूर्व प्रधानमन्त्री एवं काँग्रेस नेता शेरबहादुर देउवाले आफु चुनाव विरोधी नभएको आशय व्यक्त गरे।

"अनेक हतकण्डा अपनाएर एकीकृत माओवादीले सत्ता कब्जा गर्ने षड्यन्त्र गरिरहेको छ, त्यसलाई परास्त गर्न आन्दोलन अपरिहार्य भइसकेको छ"

शेरबहादुर देउवा, नेता, नेपाली काँग्रेस

उनले एकीकृत माओवादी सत्ता कब्जा गर्ने षड्यन्त्रमा लागेको भन्दै आन्दोलनको विकल्प नभएको उल्लेख गरे।

कब्जा

देउवाले भने, “अनेक हतकण्डा अपनाएर एकीकृत माओवादीले सत्ता कब्जा गर्ने षड्यन्त्र गरिरहेको छ, त्यसलाई परास्त गर्न आन्दोलन अपरिहार्य भइसकेको छ।”

सम्बोधनका क्रममा सभापति कोईरालाले काँग्रेसका पुराना नेताहरु विपी कोईराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोईरालाको राजनीतिक योगदानका प्रसंगलाई पटक पटक उल्लेख गरे।

इतिहास सम्झने क्रममा कोइरालाले २००७ सालमा तारिणीप्रसाद कोईरालाले रेडियो नेपालबाट गाएको एउटा गीतको टुक्रा गुनगुनाए र कार्यकर्ताहरुलाई आव्ह्रान गरे, "तपाईहरु यो गीतलाई अनुशरण गरेर अघि बढ्नुहोस्।"

तर बीबीसी नेपाली सेवासंग कुरा गर्दै एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले आफुहरु चुनावमा जान आतुर रहेको तर काँग्रेस र एमाले नै तयार नभएको दावी गरेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।