बजेट अस्वीकार गर्न विपक्षीको आग्रह

पछिल्लोपल्ट अपडेट गरिएको: 08.11.12, 20:55 NST सम्मका समाचार

सहमति बेगरको बजेट अस्वीकार गर्न विपक्षीहरुले राष्ट्रपति समक्ष लिखित पत्र बुझाएका छन्

सरकारले सहमति बेगर पूर्ण बजेट ल्याए अस्वीकार गर्न विपक्षीहरुले राष्ट्रपति समक्ष लिखित आग्रह गरेका छन्।

मुख्य विपक्षीहरु नेपाली कांग्रेस र नेकपा एमाले लगायत अन्य विपक्षी दलहरुले सामुहिक रुपमा विहिबार साँझ राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका छन्।

राष्ट्रपति संबिधानको पालक र रक्षक भएकाले त्यस्तो आग्रह गरिएको एमालेका अध्यक्ष झलनाथ खनाल बताउँछन्।

उनी भन्छन्, "बजेट आउनुपर्छ तर संबिधानमा व्यवस्था भए बमोजिम सहमति खोजेर मात्र ल्याइनुपर्छ भन्ने हाम्रो आग्रह हो।"

दृढता

सरकारले भने बजेटलाई राजनीतिक दाउपेचको विषय बनाएकोमा विपक्षीहरुको आलोचना गर्दै कात्तिक मसान्तभित्रै बजेट ल्याइछाडनेमा जोड दिँदै आएको छ।

"बजेट आउनुपर्छ तर संबिधानमा व्यवस्था भए बमोजिम सहमति खोजेर मात्र ल्याइनुपर्छ भन्ने हाम्रो आग्रह हो"

झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल भन्छन्, "विपक्षीहरुले विरोध गरेपनि हामी अग्रगामी कार्यक्रम सहित कात्तिक मसान्त भित्रै राष्ट्रपतिकहाँ बजेट पुर्‍याउँछौं।"

यस अघि सरकारले ल्याएको एक तृतीयांश बजेटको समयावधि कात्तिक मसान्तबाट समाप्त हुँदैछ।

सामुहिक पत्र

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सेनापति बर्खास्त गर्न गरेको निर्णय विरुद्ध पनि काँग्रेस एमाले सहित त्यतिबेलाका विपक्षीहरुले राष्ट्रपतिलाई सामुहिक पत्र बुझाएका थिए।

विपक्षीहरुको उक्त पत्रकै आडमा राष्ट्रपतिले बर्खास्त गरिएका सेनापतिलाई तत्काल थमौति गरिदिएका थिए।

"विपक्षीहरुले विरोध गरेपनि हामी अग्रगामी कार्यक्रम सहित कात्तिक मसान्त भित्रै राष्ट्रपतिकहाँ बजेट पुर्‍याउँछौं"

देवेन्द्र पौंडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, अहिले सन्दर्भ फरक भएपनि सहमति खोजेर मात्रै पूर्ण बजेट ल्याउन सरकारलाई झकझक्याइरहेका राष्ट्रपतिलाई विपक्षीहरुको सामुहिक पत्रले सरकारको एकतर्फी बजेट अस्वीकार गर्ने बाटो सजिलो बनाइदिएको देखिन्छ।

तर राजनीतिक द्वन्द्वको चक्रमा बजेट पर्दा त्यसले देशको अर्थतन्त्रलाई जर्जर बनाउँदै लगेको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।