ओबामा दोश्रो कार्यकालका लागि निर्वाचित

पछिल्लोपल्ट अपडेट गरिएको: 07.11.12, 22:15 NST सम्मका समाचार
बाराक ओबामा

ओबामा दोश्रो कार्यकालकालागि अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएका छन्

कडा प्रतिस्पर्धा रहेको अमेरिकाका नौ मध्ये सातवटा राज्यहरुमा विजय हासिल गरेपछि बाराक ओबामा दोश्रो कार्यकालकालागि अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएका छन्।

उनका रिपब्लिकन प्रतिद्वन्द्वी रोम्नीले उत्तरी क्यारोलिना राज्यमा मात्र जीत हासिल गरेका थिए।

उनले फोन गरेर ओबामालाई बधाइ पनि दिए।

आइतबार भएको चुनावमा ओबामाले ३०३ इलेक्टोरल भोट पाएका थिए भने रोम्नीले २०६ इलेक्टोरल भोट मात्र पाए।

धन्यवाद

ओबामाले शिकागोमा आफ्ना हजारौं समर्थक तथा मतदाताहरुलाई धन्यवाद दिए।

उनले भने, “यति धेरै अमेरिकीहरुले लडेको र जीवन उत्सर्ग गरेको स्वतन्त्रतासंगै हाम्रा जिम्मेवारी र हकहरु पनि आउंछन्। त्यसमा देशभक्ति, प्रेम, कल्याणकारी भावना र कर्तव्य पर्दछन्। यसैले नै अमेरिकालाई महान बनाएको हो।”

"यति धेरै अमेरिकीहरुले लडेको र जीवन उत्सर्ग गरेको स्वतन्त्रतासंगै हाम्रा जिम्मेवारी र हकहरु पनि आउंछन्। त्यसमा देशभक्ति, प्रेम, कल्याणकारी भावना र कर्तव्य पर्दछन्। यसैले नै अमेरिकालाई महान बनाएको हो"

अमेरिकी राष्ट्रपति ओबामा

विश्व नेताहरुले राष्ट्रपति ओबामालाई बधाइ तथा शुभकामना दिएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ओबामाको दोश्रो कार्यकालमा अन्तर्राष्ट्रिय सुरक्षाको हितमा दुई देशबीचको संबन्ध अरु सुदृढ हुने अपेक्षा गरे।

चिनियां नेताहरुले पनि ओबामालाई बधाइ दिएका छन्।

तर चिनियां सरकारी सन्चार माध्यमहरुले नयां ओबामा प्रशासनलाई चीनप्रति अरु बढी रचनात्मक रवैया अपनाउन आग्रह गरेका छन्।

चुनौती

त्यसो त राष्ट्रपति ओबामाको दोश्रो कार्यकाल कम चुनौतीपूर्ण हुने देखिंदैन।

आगामी दिनहरुमा पनि इरानको आणविक कार्यक्रम देखि सिरियामा जारी द्वन्द्व, अफगानिस्तान युद्धदेखि चीनसंगको संबन्ध उनको प्राथमिकतामा पर्ने जानकारहरु बताउंछन्।

बीबीसीका मध्यपूर्व संपादक भन्छन्, मध्यपूर्वमा अस्थिरता जारी रहंदा त्यहां सैन्य कार्वाही मात्र हैन, नयां युद्धको स्थिति पनि आउन सक्छ।

त्यस्तै सिरियामा जारी गृहयुद्धले छिमेकी मुलुकहरुलाई पनि प्रभावित गरीरहंदा ओबामा प्रशासनले सिरियाली विद्रोहीहरुलाई थप सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ।

अर्थतन्त्र

संयुक्त राज्य अमेरिकाका पहिला काला राष्ट्रपति ओबामाले पहिलो पटक सन् २००८ मा निर्वाचित भएका हुन्।

उनले जिम्मेवारी सम्हाल्दा अमेरिकी अर्थतन्त्र दशकौंपछिको सबैभन्दा गंभीर मन्दीहरु मध्ये एकमा फँसेको थियो।

त्यसबेला देखि लड्खडाउँदै आएको अर्थतन्त्रले केही मात्र प्रगति गरेको भनी मतदाताहरू प्राय असन्तुष्ट थिए।

त्यसबाट रोम्नीले चुनावमा फाइदा उठाउने अपेक्षा गरिएको थियो।

रिपब्लिकन तथा डेमोक्रयाट पार्टीहरुबीच गत एक बर्ष भन्दा लामो अवधिदेखि जारी तिक्ततापू्र्ण चुनावी अभियान पछि पनि ओबामा प्रशासनले आगामी दिनमा विपक्षीहरुको कडा चुनौती व्यहोर्नुपर्ने जानकारहरु बताउंछन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।