प्रमुख दलहरुको बैठक पुन: निश्कर्षहीन

पछिल्लोपल्ट अपडेट गरिएको: 02.11.12, 21:13 NST सम्मका समाचार
राष्ट्रपति निवास

राष्ट्रपतिले बोलाएपछि चार पक्षका प्रमुख नेताहरु शुक्रबार फेरि शितल निवास पुगेका थिए

लम्बिदो संकटबाट देशलाई निकास दिन राष्ट्रपति रामवरण यादवको बढ्दो दबाबका माझ शुक्रबार बसेको प्रमुख राजनीतिक दलहरुको बैठक फेरि निश्कर्षहीन भएको छ।

एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेसी मोर्चाबीच भएको बैठकका सहभागी एक नेताका अनुसार सरकारको नेतृत्वको विषयमा विवाद जारी रहेकाले वार्ता विफल भएको हो।

सो बैठकअघि राजनीतिक र संवैधानिक संकटमाथि बजेट संकट थपिने चिन्ता व्यक्त गर्दै राष्ट्रपति यादवले चारै पक्षका नेताहरुलाई बोलाएर वर्तमान संकटबाट देशलाई छिटो मुक्त गर्न पुन: घच्घच्याएका थिए।

गतिरोधको गाँठो फुकाउंदै छिटो सहमति गर्न राष्ट्रपतिले फेरि प्रमुख दलका नेताहरुको ध्यानाकर्षण गराए लगत्तै चार मुख्य राजनीतिक पक्षका नेताहरु ललितपुरस्थित एउटा निजी निवासमा पुगेका थिए।

गतिरोध

त्यहाँको बैठकमा सत्ताधारी एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिने आफ्नो अडान दोहोर्‍याएपछि बैठक अनिर्णित भएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बीबीसीलाई बताए।

"उहाँले यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाऔं, आउनुस् यही सरकारमा भन्नु भयो, तर हामीले त्यसको विरोध गर्‍यौं र राष्ट्रिय सहमतिको सरकार बन्नु पर्छ भन्यौं"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस

“उहाँले यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाऔं, आउनुस् यही सरकारमा भन्नु भयो, तर हामीले त्यसको विरोध गर्‍यौ र राष्ट्रिय सहमतिको सरकार बन्नु पर्छ भन्यौं।”

पौडेलका अनुसार सो बैठकमा सहभागी नेकपा एमालेका एक नेताले त प्रधानमन्त्रीले राजिनामा दिएर सहमतीय सरकार गठनको निम्ति एकीकृत माओवादी तयार नहुने हो भने अब चार पक्षीय बैठकको ‌औचित्य समाप्त हुने चेतावनी दिएका थिए।

गतिरोधको गाँठो तत्काल फुकाउने उपायबारे निश्कर्षमा पुग्न पूर्णतया विफल सो बैठकमा आउने वैशाखमा चुनाव गर्ने मोटामोटी सहमति भएको नेताहरुले बताए।

सो बैठक अघि राष्ट्रपति यादवले चार पक्षका शीर्षस्थ नेताहरुलाई आफ्नो निवासमा बोलाएर लम्बिंदो राजनीतिक र संवैधानिक संकट संगै थपिन लागेको बजेट संकटको छिटो समाधान गर्न ठोस पहल गर्न आग्रह गरेका थिए।

आग्रह

त्यसबारे राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, “ राजनीतिक र संवैधानिक संकटबाट देशलाई छिटो भन्दा छिटो निकास दिनुहोस् भनेर राष्ट्रपतिले फेरि आग्रह गर्नु भयो।”

"राजनीतिक र संवैधानिक संकटबाट देशलाई छिटो भन्दा छिटो निकास दिनुहोस् भनेर राष्ट्रपतिले फेरि आग्रह गर्नु भयो"

राजेन्द्र दाहाल, राष्ट्रपतिका प्रेस सल्लाहकार

पाँच महिनाअघि संविधानसभाको अवसान भएपछि उत्पन्न संकटका माझ नयाँ आर्थिक वर्ष शुरु भएपछि सरकार एक तृतियांश बजेट ल्याउन वाध्य भएको थियो

अब त्यसको अवधि सकिन लाग्दा अर्थ मन्त्रालय पूर्ण बजेट ल्याउने तयारीमा रहेको बताइएको छ।

तर त्यस्को चर्को विरोध गर्दै प्रतिपक्षी दलहरुले पूर्ण बजेट ल्याउनको निम्ति पनि राष्ट्रिय सहमतिको सरकार अपरिहार्य भएको अडान लगातार दोहोर्‍याइरहेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।