विपक्षी दलद्वारा प्रचण्डको प्रस्ताव अस्वीकार

पछिल्लोपल्ट अपडेट गरिएको: 01.11.12, 20:10 NST सम्मका समाचार

यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप निदए कुरा नमिल्ने प्रचण्डको भनाइ थियो

चुनावमा जाने हो भने अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा बदल्नुपर्ने एकीकृत माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावलाई नेपाली काँग्रेस र नेकपा एमालेले ठाडै अस्वीकार गरिदिएका छन्।

नेपाली काँग्रसले चुनावमा जाने निर्णय गरेको भोलिपल्ट बसेको प्रमुख चार राजनीतिक शक्तिको बैठक चुनावी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिलेपछि एजेण्डामै प्रवेश नगरी टुंगिएको थियो।

"चुनावमा जाने हो भने यही सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिउँ भनेर उहाँले निकै जोड गर्नु तर भयो बरु कुरा नमिले मिल्दैन तर यही सरकारको टाङमुनि छिर्दैनौं भन्यौं"

माधबकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवं एमाले नेता

यस अघि नै चुनावमा जाने निर्णय गरेको अर्को विपक्षी दल एमालेले त एकीकृत माओवादीले अलमलाउन मात्र खोजेको आरोप लगाउँदै अब वार्तामा बस्नुको औचित्य नहुने चेतावनी समेत दिएको छ।

नयाँ चुनाव

प्रमुख तीन राजनीतिक दल र तराई केन्द्रित दलहरुको मधेशी मोर्चाका शीर्ष नेताहरु मात्र उपस्थित रहेको बैठकको शुरुमै नेपाली काँग्रेस र एमालेका प्रमुखहरुले संविधानसभा पुनर्स्थापनाको मुद्दा असान्दर्भिक भन्दै नयाँ चुनावी प्रक्रियामा केन्द्रित हुन एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए।

सहभागी नेताहरुका अनुसार त्यो सुन्ने बित्तिकै प्रचण्ड एकाएक गम्भीर बने।

प्रतिउत्तरमा प्रचण्डको भनाई थियो- अहिलेकै सरकारलाई राष्ट्रिय सहमितको सरकारको स्वरुप दिउँ, होईन भने कुरा मिल्दैन।

बैठकमा भएको कुराकानीको सार सुनाउँदै पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले बीबीसीसँग भने, “चुनावमा जाने हो भने यही सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिउँ भनेर उहाँले निकै जोड गर्नु तर भयो बरु कुरा नमिले मिल्दैन तर यही सरकारको टाङमुनि छिर्दैनौं भन्यौं।”

"निर्वाचनको विषय, सदस्य संख्या, संविधान संशोधनको प्रक्रिया तोक्ने र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमै कुराकानी भईरहेको छ"

प्रचण्ड, अध्यक्ष, एकीकृत माओवादी

एकीकृत माओवादीले आफुहरुलाई अलमलाउन मात्र खोजेको आरोप लगाउँदै नेता नेपालले प्रचण्डको व्यवहारमा परिवर्तन नआए वार्तामा वस्नुको अर्थ नहुने चेतावनी दिएका छन्।

पूर्व प्रधानमन्त्री नेपालले बैठकबाट माओवादीले चुनाव नचाहेको र सत्ताको दुरुपयोग मात्र गर्न खोजेको प्रभाव आफुमा परेको बताए।

अप्ठेरो

आफ्नो प्रस्तावलाई काँग्रेस र एमालेले ठाडै अस्वीकार गरिदिएपछि प्रचण्डले अन्य नेताहरु समेत सम्मिलित ठूलो संख्यामा बैठक गर्न प्रस्ताव गरेका छन्।

बैठकपछि प्रचण्डले संवाददाताहरुसँग भने, “निर्वाचनको विषय, सदस्य संख्या, संविधान संशोधनको प्रक्रिया तोक्ने र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमै कुराकानी भईरहेको छ।”

दुई विपक्षी दलहरु काँग्रेस र एमाले चुनावमा जाने अडानबाट पछि नहटेपछि संविधानसभा पुनर्स्थापनाको मुद्दालाई प्रमुखताका साथ उठाईरहेका प्रचण्ड थप अप्ठेरोमा पर्ने देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।