अब नयाँ संविधानसभा चुनाव: काँग्रेस

पछिल्लोपल्ट अपडेट गरिएको: 31.10.12, 20:13 NST सम्मका समाचार
नेपाली काँग्रेस भवन

काँग्रेसले आफ्नै नेतृत्वमा चुनावी सरकार र त्यही सरकारबाट बजेट ल्याउने अडान छोडेको छैन

लामो समय अलमलमा परेको देखिएको प्रमुख विपक्षी दल नेपाली काँग्रेसले संविधानसभा पुनर्स्थापनाको मुद्दा त्यागेर नयाँ संविधानसभा-संसदको निर्वाचनमा जाने निर्णय गरेको छ।

बिहीबार बस्ने भनिएको प्रमुख राजनीतिक दलहरुको बैठक अघि उक्त पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले गरेको निर्णयमा आउँदो बैशाखमा पाँच वर्षका लागि नयाँ संविधानसभा संसदको चुनाव गर्ने उल्लेख छ।

तर चुनावी सरकारको नेतृत्व आफुले गर्न पाउनुपर्ने उक्त पार्टीको अडान यथावत छ।

गत जेठमा संविधानसभा विघटन भएपछि एउटा स्पष्ट अडान र धारणा बनाउन नसकेको भनेर पार्टीभित्रै र विभिन्न कोणहरुबाट आरोप खेप्दै आएको नेपाली काँग्रेसले संविधानसभा पुनर्स्थापना कि नयाँ संविधानसभाको चुनाव भन्ने मुद्दालाई अन्तत: किनारा लगाएको छ।

वैशाख

"आउँदो वैशाखमा नयाँ संविधानसभा-संसदको चुनाव गराउने निर्णय पार्टीले लिएको छ र अब संविधानसभा पुनर्स्थापनाको मुद्दा उठ्दैन"

दिलेन्द्रप्रसाद बडु, प्रवक्ता, नेपाली काँग्रेस

संविधानसभाबाटै नयाँ संविधान जारी गर्ने निर्णय उक्त पार्टीले लिएको छ।

पार्टी निर्णयहरु सुनाउँदै काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने, “आउँदो वैशाखमा नयाँ संविधानसभा-संसदको चुनाव गराउने निर्णय पार्टीले लिएको छ र अब संविधानसभा पुनर्स्थापनाको मुद्दा उठ्दैन।”

काँग्रेसका अनुसार अब चुनिने जनप्रतिनिधिमुलक संस्थाले एक वर्ष सम्म संविधानसभाको हैसियतमा काम गरी नयाँ संविधान जारी गर्ने छ भने त्यसपछि चार वर्ष संसदको रुपमा रहनेछ।

चुनावमा जानु अघि लिईने निर्णयको वैधानिकताका सम्बन्धमा सोधिएको प्रश्नमा बडुले भने, “चुनावमा जानु अघि लिइने विभिन्न निर्णयहरुलाई नयाँ चुनिने संविधानसभाको पहिलो बैठकबाट अनुमोदन गरिनेछ।”

काँग्रेसले २४० निर्वाचन क्षेत्रमा प्रत्यक्ष र सानो संख्यामा समानुपातिक तर्फबाट जनप्रतिनिधिको छनौट हुनुपर्ने निर्णय लिएको छ।

आफ्नै नेतृत्वमा सहमतीय चुनावी सरकारको गठन र त्यहीं सरकारबाट पूर्ण बजेट ल्याउने पार्टीको अडान यथावत छ।

"अब नयाँ चुनावमा त जाने तर त्यसका लागि यो सरकारले छोड्नु पर्छ भन्ने कुरा पार्टीमा सर्वसम्मत रुपमा भएको छ"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली काँग्रेस

पार्टिका दुई वरिष्ठ नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेल एवं केही पूर्वसभासदले संविधानसभा पुनर्स्थापनाको माग जोडतोडका साथ उठाउँदै आएका थिए।

सर्वसम्मत

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार देउवा र पौडेल लगायत केहीले पुनर्स्थापनाको माग जायज भएको दोहोराएको तर अन्त्यमा पार्टी निर्णयमा सहमति जनाएको बताए।

नेता पौडेलले पनि नयाँ चुनावमा जाने निर्णय सर्वसम्मत भएको बताए।

उनले भने, “अब नयाँ चुनावमा त जाने तर त्यसका लागि यो सरकारले छोड्नु पर्छ भन्ने कुरा पार्टीमा सर्वसम्मत रुपमा भएको छ।”

चुनावमा जाने र पुनर्स्थापनाको मुद्दा नउठाउने काँग्रेसको यो निर्णय बिहीबारका लागि तय भएको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा एउटा प्रमुख वहसको विषय बन्न सक्ने देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।