सरकारले राजीनामा गर्नुपर्ने विपक्षीहरुको अडान

पछिल्लोपल्ट अपडेट गरिएको: 28.10.12, 19:53 NST सम्मका समाचार
all party meeting

सरकारले राजीनामा गर्नुपर्नेमा विपक्षीहरुको जोड छ।

प्रमुख विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले वर्तमान सरकार नहटुन्जेल राजनीतिक निकासबारे सत्ताको नेतृत्व गरेको एकीकृत माओवादीसंग कुनै छलफल नगर्ने बताएकाछन्।

माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको लिखित विकल्पहरु पनि विपक्षीहरुले अस्विकार गरेका छन्।

माओवादीले विपक्षीहरुको सो कदमलाई दूर्भाग्यपूर्ण भन्दै कस्तो आश्वासन खोजेको हो स्पष्टरुपमा राख्न आग्रह गरेको छ।

संविधानसभा पुनर्स्थापना वा वर्तमान सरकारको नेतृत्वमा ताजा चुनावमा जाने प्रस्ताव शनिबार प्रचण्डले राखे पछि विपक्षीहरु थप सशंकित भएका थिए।

उनीहरुले माओवादी वर्तमान सरकारको आयु लम्बयाउने खेलमा लागेको आरोप लगाएका छन्।

"राष्ट्रिय सहमतिको सरकार नबनुन्जेल माओवादीसंग सहकार्य हुंदैन"

रामचन्द्र पौडेल, कांग्रेस उपसभापति

आईतबार कांग्रेस तथा एमाले शीर्ष नेताहरुको बैठक पछि बोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, “राष्ट्रिय सहमतिको सरकार नबनुन्जेल माओवादीसंग सहकार्य हुंदैन।”

अविश्वास

यस अघि माओवादीले धेरै चोटि खेल खेलको भन्दै अविश्वासको स्थिति अन्त्य हुने अवस्था आए सहमति हुने पौडेलले बताए।

त्यसको लागि माओवादीले संविधानका विवादित विषयमा पहिले सहमति जुटाउनु पर्ने उनको भनाइ थियो।

माओवादी सचिव पोष्टबहादुर बोगटीले विपक्षीहरुको कदम दूर्भाग्यपूर्ण भएको जनाए।

उनले कांग्रेस एमालेलाई यो अविश्वासको स्थिति अन्त्य गर्न माओवादीले के गर्नुपर्छ स्पष्टरुपमा राख्न आग्रह गरे।

बोगटीले भने, “उहाँहरुले भन्नु पर्यो के गर्दा उहाँहरुको शंका मेटिन्छ ?”

विपक्षीहरुले राजनीतिक निकासको निम्ति पूर्व शर्त राखे पनि दुवै पक्षले सहमति कार्यान्वयन हुने आश्वासन खोजेको देखिन्छ।

यस अघि कांग्रेस तथा एमालेले राष्ट्रपतिको रोहवरमा सहमति गरिनु पर्ने बताएका थिए।

तर माओवादीले त्यस्तो कदमले गलत नजीर स्थापित गर्ने बताउंदै आएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।