सहमति, सहकार्यकालागि राष्ट्रपतिको कामना

पछिल्लोपल्ट अपडेट गरिएको: 24.10.12, 21:07 NST सम्मका समाचार
दलका नेताहरु

राजनीतिक सहमति जुटाउन दलहरु अझै विफल छन्

नेपाली हिन्दुहरुको ठूलो चाड दशैंको अवसरमा शुभकामना दिंदै राष्ट्रपति रामवरण यादवले देशमा प्राप्त उपलब्धिहरुको रक्षा गर्दै दलहरुलाई नयाँ संविधान निर्माण लगायत जनआकांक्षा पुरा गर्ने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

शान्ति प्रक्रियामा उपलब्धि हासिल हुँदाहुँदै पनि संविधान निर्माणलगायतका विषयमा गतिरोध पैदा भएर राजनीतिक सङ्क्रमण लम्बिएकोप्रति राष्ट्रपतिले आफ्नो सन्देशमा चिन्ता व्यक्त गरे।

दशैंजस्ता नेपाली चाड पर्वलाई राष्ट्रिय सम्पदाको दृष्टिले संरक्षण गर्न आग्रह गरेका राष्ट्रपतिले दशैको अवसरमा उच्च अधिकारीहरु तथा सर्वसाधारणलाई टिका समेत लगाइदिए।

दलहरुलाई पटक-पटक सहमतिको निम्ति घच्घच्याइ रहेका राष्ट्रपति यादवले बडा दशैंको आफ्नो शुभकामना सन्देशमार्फत पुन: सहमतिको निम्ति आग्रह गरेका हुन्।

ध्यानाकर्षण

आफ्नो सन्देशमा उनले दलहरुलाई आपसी वैमनश्यता र अविश्वास हटाएर सौहार्द्रता, सहकार्य र सहमतिको संस्कृति निर्माणमा लाग्न आग्रह गरेका छन्।

राजनीतिक संकटका कारण बढ्दो अनिश्चितताबारे राष्ट्रपतिले प्रमुख दलका नेताहरुलाई आफ्नो निवासमा बोलाएर गत साता मात्रै ध्यानाकर्षण गराएका थिए।

"प्राप्त उपलब्धिको जर्गेना गर्दै नयाँ संविधान निर्माणलगायत जनआकाङ्क्षा पुरा गर्नका लागि पुनः कम्मर कसेर अघि बढ्नु हाम्रा सामु रहेको एक मात्र विकल्प हो"

राष्ट्रपति रामवरण यादव

शुभकामना सन्देशमार्फत राष्ट्रपतिले शान्ति प्रक्रियामा भएको उपलब्धि प्रति सन्तोष व्यक्त गरे।

तर संविधान निर्माणजस्ता विषयमा गतिरोध पैदा भई राजनीतिक सङ्क्रमणको घडी लम्बिनु मुलुककै निम्ति खिन्नताको विषय बनेको उनले बताए।

आफ्नो सन्देशमा उनले भने, “प्राप्त उपलब्धिको जर्गेना गर्दै नयाँ संविधान निर्माणलगायत जनआकाङ्क्षा पुरा गर्नका लागि पुनः कम्मर कसेर अघि बढ्नु हाम्रा सामु रहेको एक मात्र विकल्प हो।”

शुभकामनाहरु

दशैंको अवसरमा राष्ट्रपतिले जस्तै उपराष्ट्रपति परमानन्द झा र राजनीतिक दलका नेताहरुले पनि शुभकामना सन्देश मार्फत देशमा नयाँ संविधान, स्थिरता र सबैमा सुख शान्ति र समृद्धिको कामना गरेका छन्।

तर दशैसंगै शुरु भएको चाडबाडको व्यस्तताले लम्बिदो राजनीतिक संकटको निकासको कुनै संकेत दिएको छैन।

संकट समाधानबारे गत साता राष्ट्रपतिले ध्यानाकर्षण गराएपछि दलहरुबीच त्यसबारे औपचारिक संवाद भएको छैन।

उनीहरुले दशै, तिहारको व्यस्तता पछि मंसिरको पहिलो सातासम्म संकट निकासको मार्गचित्र बनाउने बताएका थिए।

तर प्राय आरोप-प्रत्यारोपमा व्यस्त देखिने दलहरुले सत्ताकेन्द्रित राजनीति नत्यागेसम्म संकटको निकास असंभव हुने कतिपय विश्लेषकहरु बताउँछन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।