'राष्ट्रपतिले सहमति विना केही गर्न सक्दैनन्'

पछिल्लोपल्ट अपडेट गरिएको: 14.10.12, 20:36 NST सम्मका समाचार
President's office

प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुको सहमति विना राष्ट्रपतिले केही गर्न नमिल्ने बताएकाछन्।

राष्ट्रपति रामवरण यादवले दलहरुलाई तीन दिन भित्र सहमति जुटाउन समयसीमा तोकेको भोलिपल्ट आईतबार प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुको सहमति विना राष्ट्रपतिले केही गर्न नमिल्ने बताएकाछन्।

उनले राष्ट्रपतिले संविधानको भावना विरुद्ध बोल्दै हिंडन नहुने समेत बताए।

विपक्षी दलहरुले पनि राष्ट्रपति संविधानको सीमा बाहिर नजाने आशा व्यक्त गरेका छन्।

आईतबार विराटनगरमा बोल्दै प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिको अभिव्यक्तिले ‍आफुलाई गम्भीर पारेको र दलहरुसंग यसबारे आफुले छलफल गर्ने बताएका थिए।

उनले राष्ट्रपतिलाई मिति तोक्ने अधिकार नरहेको बताए।

प्रधानमन्त्रीले भने, “उहाँले मिति तोक्ने अधिकार कहाँबाट पाउनु भयो ?”

प्रधानमन्त्रीले सहमतिमा ल्याएको अध्यादेश पारित नगरेर राष्ट्रपतिले मुलुकलाई बन्धक बनाएको आरोप समेत लगाए।

कदम

बीबीसीसंग कुरा गर्दै मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफुलाई राष्ट्रपतिले चाल्ने भनिएको कदमबारे जानकारी नभएको बताए।

कोइरालाले भने, “राष्ट्रपतिले कडा कदम के चाल्ने भन्ने मलाई थाहा छैन। उहाँले म संविधानको सीमाभित्र बस्ने बताउनु भएको छ।”

"उहाँले मिति तोक्ने अधिकार कहाँबाट पाउनु भयो ?"

बाबुराम भट्टराई, प्रधानमन्त्री

अर्को विपक्षी दल नेकपा एमालेका सचिव शंकर पोख्रेलले पनि राष्ट्रपति संविधानको दायरा भन्दा बाहिर नजाने विश्वास गरे।

सीमा

पोख्रेलले भने, “राष्ट्रपतिले संविधानको सीमाभित्र गर्ने काम मात्र स्वीकार्य हुने छ।”

यस भन्दा अघि राष्ट्रपतिले संकट समाधानको लागि हस्तक्षेपकारी भूमिका खेल्नु पर्नेमा जोड दिने विपक्षी नेताहरु पनि अहिले आएर दलहरुको सहमतिमा मात्र निकास निस्कने बताउन थालेका छन्।

काठमाण्डूस्थित हाम्रा संवाददाता भन्छन्, कतिपयले राष्ट्रपतिले राष्ट्रिय सरकारको आह्वान गर्न सक्ने अनुमान गरे पनि राष्ट्रपति समक्ष के के विकल्प छन् भन्ने स्पष्ट छैन।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।