छलफल फेरि पुनर्स्थापनामा केन्द्रित

पछिल्लोपल्ट अपडेट गरिएको: 08.10.12, 20:33 NST सम्मका समाचार

एकीकृत माओवादिका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका शीर्ष नेता समक्ष अन्य दलको पनि समर्थन जुटाएर पुनर्स्थपनामा जान सोमवार फेरि प्रस्ताव गरेका छन्।

प्रमुख दलका नेताहरु

प्रमुख दलका शीर्ष नेताले यस अघि संविधानसभाको नयाँ चुनावमा जाने निर्णय गरिएको वताएका थिए

विपक्षी दल काँग्रेसका कैयौं पूर्व सभासदले सोमवारै पुनर्स्थापनाका विषयमा छलफल शुरु गरेका छन्।

नेकपा एमालेले पनि पुनर्स्थापना स्वीकार गर्न सकिने प्रतिक्रिया दिएको छ।

लामो अलमल पछि करिव एक महिनाअघि प्रमुख दलले संविधानसभाको नयाँ चुनावमा जाने सहमति गरिएको बताएका थिए।

तर त्यस अघिका तमाम सहमति जस्तै पछिल्लो यो निर्णयमा पनि उनीहरु अडिग रहन सकेनन्।

प्रस्ताव

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले काँग्रेसका शिर्ष नेताबीच राखेको प्रस्ताव सुनाउँदै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “संविधान जारी गर्नका लागि पुनर्स्थापना पनि गरौं र नेपाली काँग्रेसको नेतृत्वमा सरकार पनि बनाऔं भन्ने प्रचण्डको प्रस्ताव छ।”

"भएका विकल्पमध्ये संवैधानिक पनि भएकाले पुनर्स्थापनाको कुरा उठाएका हौं र अरुलाई पनि मनाउन खोज्दैछौं"

शोभाकर पराजुली, पूर्व सभासद, नेपाली काँग्रेस

प्रचण्ड र आफूहरुबीच छलफल हुनुअघि उपसभापति पौडेल आफ्नै पार्टीका पूर्व सभासदले पुनर्स्थापनका विषयमा चलाएको छलफलमा सहभागि भएका थिए।

पुनर्स्थापनाको माग जोडतोडका साथ उठाईरहेका काँग्रेसका पूर्व सभासद शोभाकर पराजुली भन्छन्, “भएका विकल्पमध्ये संवैधानिक पनि भएकाले पुनर्स्थापनाको कुरा उठाएका हौं र अरुलाई पनि मनाउन खोज्दैछौं।”

विवादित विषयमा सहमति जुटे संविधान जारी गर्नका लागि पुनर्स्थापनामा जान सकिने काँग्रेसले बताएको छ।

"पुनर्स्थापना गरेर संविधान जारी गर्ने विषयमा सहमति जुटे काँग्रेसलाई सरकारको नेतृत्व दिन तयार छौं"

अग्नी सापकोटा, प्रवक्ता, एकीकृत माओवादी

एकीकृत माओवादीले पुनर्स्थापना सहमति जनाए काँग्रेस नेतृत्व स्वीकार्य हुने दोहोराउँदै आएको छ।

नेतृत्व

एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले भने, “पुनर्स्थापना गरेर संविधान जारी गर्ने विषयमा सहमति जुटे काँग्रेसलाई सरकारको नेतृत्व दिन तयार छौं।”

संविधानसभाको नयाँ चुनावमा जाने निर्णय गरिसकेको अर्को विपक्षी दल नेकपा एमालेले पनि संविधान जारी हुने सुनिश्चितता भए पुनर्स्थापना स्वीकार गरिने वताएको छ।

एमाले नेता वामदेव गौतमले भने, “यदि विवादित विषयमा सहमति जुट्छ र संविधान जारी हुने ग्यारेण्टी हुन्छ भने संविधानसभा पुनर्स्थापनमा हामीले सहमति जनाउन सक्छौं।”

दलहरुले भएका विकल्पहरु मध्ये कम जोखिम हुने भएकाले पुनर्स्थापना उपयुक्त हुने बताउँदै आएका छन्।

तर कानुनविद्हरु भन्छन् मरिसकेको संविधानसभा ब्युँताउनु संबैधानिक दृष्टिले समेत त्यति उपयुक्त हुँदैन।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।