भारतका केजरीवाल र नेपालको पृष्ठभूमि

पछिल्लोपल्ट अपडेट गरिएको: 06.10.12, 15:34 NST सम्मका समाचार

सामाजिक कार्यकर्ता अरविन्द केजरीवालको पार्टी खोल्ने घोषणाको पृष्ठभूमि नेपालसँग गजवसँग मिल्दोजुल्दो छ।

भारतीय सरकारलाई निकै हैरानी दिएको विघटित ‘टीम अन्ना’ सम्बद्ध सामाजिक कार्यकर्ता अरविन्द केजरीवालको राजनीतिक दल खोल्ने घोषणापछि त्यसको भविष्यबारे अनेक अडकलबाजी शुरु भएका छन्।

उनी भारतमा भष्ट्राचार विरोधी कानुनको माग गर्दै अभियान चलाएका अन्ना हजारेका अतिविश्वास पात्र मानिन्थे।

भष्ट्राचार विरोधी राजनीतिक आन्दोलनलाई बलियो बनाउन उक्त निर्णय लिएको उनको भनाई छ।

उज्यालो छवी

४४ वर्षिय केजरीवाल एशियाको नोबेल पुरस्कार मानिने म्यागसेसे पुरस्कारबाट सम्मानित समाजसेवीको रुपमा परिचित छन्।

विकिपिडियाका अनुसार उनी खुला प्रतिष्पर्धाबाट आकर्षक मानिने भारतीय राजस्व सेवामा प्रवेश गरेका थिए।

आयकर विभागको संयुक्त आयुक्तबाट स्वेच्छिक अवकास लिएर डेढ दशक नपुग्दै जागिरे जीवनमा बिराम लगाएर उनी पहिचान फेर्दै समाजसेवी बनेका हुन्।

पछिल्ला वर्ष उनी अन्ना हजारेको टीममा थिए जसले भष्ट्राचार विरोधी भनिएको अनशन लगायतका विभिन्न अभियान चलाएको थियो।

एक दशक नै नभएको पहिचान फेर्दा उनले प्रमुख राजनीतिक दलहरुलाई चुनौति दिँदै भनेका थिए, “पछिल्ला डेढ-दुई वर्षदेखि सारा पार्टी र नेताहरुले कराई-कराई भनिरहेका छन्, ‘लोकपाल कानुन पारित गराउने हो भने चुनाव लडेर देखाउ, संसदमा आएर पास गर।‘ आज म यो मंचबाट घोषणा गर्न चाहन्छु- हो हामी तपाईहरुलाई चुनाव लडेरै देखाउँछौं।”

मिल्दो पक्ष

स्थापित राजनीतिक पार्टीको विकल्प दिने गरी स्वच्छ छविका इमान्दार एवं सक्षम व्यक्ति राजनीति सम्हाल्न आए हुन्थ्यो भन्ने मत पछिल्ला दिनमा नेपालमा सार्वजनिक रुपमै प्रकट हुने गरेका छन्।

त्यसको पुर्वाभ्यास भित्रि तहमा यदाकदा हुने गरेका पनि छन्।

कतिपयले त्यसलाई लामो समयसम्म दलहरुले संक्रमणकालीन राजनीतिलाई स्थाई साँचोमा ढाल्न नसक्दा र बढ्दो भष्ट्राचारले निम्त्याएको निराशाले खोजेको विकल्पको रुपमा लिएको पाइन्छ।

शुरुमा ‘पार्टी गठन गर्न हुन्न’ भन्ने मत राख्ने केजरीवालले आखिर आफ्नो त्यो पुरानो दृढता विपरित निर्णय लिएका हुन्।

भष्ट्राचार विरोधी अभियानप्रति भारतीय सरकारको बेवास्ताले आफूलाई त्यो निर्णयमा पुर्‍याएको उनको धारणा छ।

डुब्ने!

भष्ट्राचार विरोधी कानुन लोकपाल विधेयक ल्याउन वाध्य पार्न अन्ना हजारेको पछिल्लो अनशन पनि विफल भएको थियो।

सरकारी बेवास्तापछि त्यसै अनशन त्याग्नु परेपछि अगस्त ६ मा अन्नाले आफ्नो ब्लगमा राजनीतिक विकल्पको खाँचोबारे लेखेका थिए, "असल मानिस खोजेर जनतालाई विकल्प दिनु राम्रो बाटो हो। तर त्यो कसरी हुन्छ? यो प्रश्न मेरो सामु छ। म सदाचारी, राष्ट्रिय र सामाजिक दृष्टीकोण एवं सेवाभाव भएका व्यक्ति संसदमा नपुग्दासम्म परिवर्तन आउँदैन भनेर देशव्यापी जनजागरणमा जानेछु।”

तर स्थापित दलहरुलाई चुनौति दिँदै आफ्ना पूर्वसहयोगी केजरीवालले थालेको राजनीतिक अभियानभन्दा अन्नाले आफूलाई टाढै राखेका छन्।

भारतका राष्ट्रपिता महात्मा गान्धीको जन्म जयन्तीका दिन राजनीतिको समुन्द्रमा हाम फालेका केजरीवाल तैरिनुको साटो डुब्ने निश्चित रहेको टिप्पणी शुरु भइसकेको छ।

त्यस्तो टिप्पणी गर्नेहरु भन्छन्, “भावनामा बगेर विगतमा बनाइएका पार्टीको भविष्य राम्रो देखिएन।”

पूर्वप्रमुख निर्वाचन आयुक्त टीएन शेषन हुन वा आफ्नो दलप्रति मोहभंग भएपछि आफै पार्टी खोलेकी उमा भारती र कल्याण सिंह जस्ता वजनदार नेतालाई त्यसको उदाहरणको रुपमा पेश गरिन्छ।

नेपालमा मूल राजनीतिक धारको विकल्प खोज्ने प्रयत्न चलिरहे पनि नागरिक अगुवा तथा पूर्वसचिव देवेन्द्रराज पाण्डेदेखि बामदेव गौतम र कुवेश शर्मा लगायतका साना-ठूला नेताहरुले त्यस्तो प्रयास विगतमा गरिरसेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।