'सहमतिका लागि आमसभाहरु स्थगित'

पछिल्लोपल्ट अपडेट गरिएको: 01.10.12, 19:19 NST सम्मका समाचार
प्रमुख दलका शीर्ष नेता

प्रमुख तीन दल र मधेशी मोर्चाको बैठकले मंगलबार सर्बदलीय बैठक गर्ने निर्णय गरेको छ

राष्ट्रपति रामवरण यादवसँग असोज भित्र राजनीतिक सहमतिमा पुग्ने वाचा गरेको भोलिपल्टै सत्ताधारी दलहरुको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले यसै सातादेखि देशका विभिन्न शहरमा गर्न लागेका सभाहरु स्थगित गरिएको जनाएको छ।

सहमतिको वातावरण बनोस् भनेर कार्यक्रम स्थगित गरिएको गठबन्धनको भनाइ छ, तर नेपाली कांग्रेस र नेकपा एमालेले चाहिं त्यत्तीले मात्र नपुग्ने टिप्पणी गरेका छन्।

संविधानसभाको नयाँ चुनावमा जाने मोटामोटी सहमति गरेपनि मुख्यतया चुनावी सरकारको बिषयमा कुरा नमिलेपछि सत्ताधारी दलहरुको गठबन्धनले देशका विभिन्न शहरमा आमसभाहरु गर्ने तालिका सार्वजनिक गरेको थियो।

"सहमतिका लागि वातावरण बनाउला भनेर हाम्रा कार्यक्रम स्थगित गर्ने र दलहरुका कार्यक्रम पनि स्थगित गर्न अपिल गर्ने निर्णय गरिएको हो"

अग्नि सापकोटा, प्रवक्ता, एकीकृत नेकपा माओवादी

त्यसबाट आक्रोशित देखिएका विपक्षी दलहरुले सरकार विरुद्ध विरोधका कार्यक्रम बनाईरहँदा सबै दललाई राष्ट्रपतिले आईतबार भेटेका थिए।

स्थगित

दलहरु सहमतिमा नपुगे आफूले पनि केही गर्ने राष्ट्रपतिको कूटनीतिक जवाफ पाएको सत्ताधारी दलको बैठकले पूर्व निर्धारित कार्यक्रम स्थगित गर्ने निर्णय गरेको एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

सापकोटाले भने, “सहमतिका लागि वातावरण बनाउला भनेर हाम्रा कार्यक्रम स्थगित गर्ने र दलहरुका कार्यक्रम पनि स्थगित गर्न अपिल गर्ने निर्णय गरिएको हो।”

तर विपक्षी दलहरुले चाहिं आमसभा नगर्ने निर्णय अपुरो भएको बताएका छन्।

सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग नगरेसम्म विरोधका कार्यक्रम नरोकिने पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले बताए।

"वर्तमान सरकार हटाउन एकीकृत माओवादी र मधेशी मोर्चा तयार हुन्छन् भने हाम्रा विरोधका कार्यक्रम रोकिन्छन्, होइन भने आन्दोलन बाहेक अर्को ढंगले जाने पक्षमा छैनौं"

माधबकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवं एमाले नेता

नेपालले भने, “वर्तमान सरकार हटाउन एकीकृत माओवादी मधेशी मोर्चा तयार हुन्छन् भने हाम्रा विरोधका कार्यक्रम रोकिन्छन्, होइन भने आन्दोलन बाहेक अर्को ढंगले जाने पक्षमा छैनौं।”

नेपाली कांग्रेसले पनि सत्तापक्षीय दलहरुले आमसभाहरु स्थगित गर्दैमा आफ्ना विरोधका कार्यक्रम नरोकिने बताएको छ।

कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “सत्ता छोड्ने वा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा सहमति भएन भने आन्दोलन गर्न हामी वाध्य हुन्छौं।”

एमाले नेता नेपालले सत्ताधारी दलका नेताका अभिव्यक्तिले सहमति बन्ने संकेत नदेखिएको आरोप लगाए।

मधेशी मोर्चा सहित तीन प्रमुख दलको सोमबार दिउसो बसेको बैठकले चाहिं मंगलबार विघटित संविधानसभामा प्रतिनिधित्व गरेका विभिन्न दलहरुको सर्वदलीय बैठक गर्ने र नयाँ चुनावका प्राविधिक पक्षका बारेमा छलफल गर्ने कार्यक्रम तय गरेको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।