‘धेरै कांग्रेस नेताहरु ताजा जनादेशको पक्षमा’

पछिल्लोपल्ट अपडेट गरिएको: 02.09.12, 21:05 NST सम्मका समाचार
नेपाली कांग्रेस मुख्यालय

वर्तमान संकटको निकासबारे कांग्रेस केन्द्रिय समितिमा छलफल जारी छ

विघटित संविधान सभाको दोस्रो ठुलो दल नेपाली कांग्रेसका अधिकांश नेताहरुले नयाँ निर्वाचनमा जोड दिएका छन्।

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले शनिबार तीन दलको वैठकबाट संविधान सभा पुनर्स्थापनाको संभावना बढेको बताए थिए।

त्यस्तो खबरकामाझ कांग्रेसको केन्द्रिय समितिको वैठकमा बोल्ने अधिकांश नेताहरु संविधान सभाको निर्वाचन वा संसदको निर्वाचनको पक्षमा रहेको नेताहरुले बताए।

केहि दिनदेखि चलिरहेको नेपाली कांग्रेसको केन्द्रिय समितिको वैठकमा वर्तमान संकटबाट देशलाई कसरी निकास दिने भन्ने विषयमा छलफल भइरहेको छ।

‘राष्ट्रिय सहमति

सो पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडुका अनुसार वैठकमा बोल्ने अधिकांश सदस्यहरुले निर्वाचनमा जानु अघि राष्ट्रिय सहमतिको वातावरण निर्माण हुनु पर्नेमा जोड दिए।

“नयाँ निकास भनेको ताजा जनादेशमा जानु नै हो, त्यस्को लागि पनि राष्ट्रिय सहमति अपरिहार्य छ भन्ने करिव सबै सदस्यहरुको सुझाव छ।”

"नयाँ निकास भनेको ताजा जनादेशमा जानु नै हो, त्यस्को लागि पनि राष्ट्रिय सहमति अपरिहार्य छ भन्ने करिव सबै सदस्यहरुको सुझाव छ"

दिलेन्द्रप्रसाद बढु, प्रवक्ता, नेपाली कांग्रेस

उनका अनुसार वैठकमा बोल्ने प्राय सबै नेताहरुले संविधान सभाको अवसान पश्चात उब्जिएको राजनीतिक एवं संवैधानिक संकट समाधानको शुरुवात गर्न सहमति आवश्यक भएकोमा जोड दिए।

अर्का नेता मीनेन्द्र रिजालका अनुसार संविधान निर्माणका विवादित विषयमा सहमति भए आउने बसन्त ऋतुमा संसदीय निर्वाचन तर संविधानबारे सहमति जुट्न नसके संविधान सभाकै निर्वाचन हुनु पर्ने धारणा वैठकमा प्रखर रुपमा व्यक्त भएका छन्।

तीन दलीय वैठक

अर्कोतिर वर्तमान संकटको निकास खोज्न भन्दै प्रमुख तीन दलका शिर्ष नेताहरुको वैठक पनि केहि दिनदेखि दिनहुँ जसो बसिरहेको छ।

सहमतिमा जोड दिएको वा सहमति नजिक पुगेको भनिएका पछिल्ला वैठकहरुबाट दुरगामी प्रभाव पार्ने संघीयता जस्ता मुद्दाको छिनोफानो जनमत संग्रहबाट गर्ने कुरा भइरहेको नेताहरुको भनाई छ।

बाँकी विवादको छिनोफानो गर्न संविधान सभा पुनर्स्थापना गर्ने संभावना बढेको कुरा पनि बाहिर आएको छ।

तर वर्तमान सरकार परिवर्तन हुनु् पर्ने विपक्षी दलहरुको माग र दलहरुका आन्तरिक र आपसी विवादका माझ संकट समाधानको विस्तृत मार्गचित्र भने स्पष्ट भइसकेको छैन।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।