संघीयताबारे विवाद 'जनमत संग्रहमा लग्न छलफल'

पछिल्लोपल्ट अपडेट गरिएको: 01.09.12, 21:31 NST सम्मका समाचार
विशेष समिति बैठक

लडाकू समायोजनबारेको नयाँ सहमतिपछि सत्तापक्ष र विपक्षीबीचको छलफल सघन भएको छ

संघीयता लगायतका मुख्य विवाद जनमत संग्रहबाट टुंग्याउने गरी तीन प्रमुख दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच भइरहेको छलफल सहमति नजिक पुगेको नेताहरुले जनाएका छन्।

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले शनिवार भएको तीन दलको बैठकबाट संविधानसभा पुनर्स्थापनाको सम्भावना बढेको बताएका छन्।

विपक्षी नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वसँगको छलफल गरेपछि जनकपुर पुगेका उनले भने, "शनिवारको बैठकबाट हामी तीनवटै पार्टीलाई के लाग्या छ भने संविधानसभा पुनर्स्थापनाको सम्भावना बढेको छ।"

आफूलाई निकै आशावादी रुपमा प्रस्तुत गरेका प्रचण्ड एकसाता अघिसम्म विपक्षी दलका नेता विरुद्ध चर्को रुपमा खनिने गरेका थिए।

जनमत संग्रह

"शनिवारको बैठकबाट हामी तीनवटै पार्टीलाई के लाग्या छ भने संविधानसभा पुनर्स्थापनाको सम्भावना बढेको छ"

प्रचण्ड, एकिकृत नेकपा माओवादी अध्यक्ष

पुनर्स्थापनाको बाटो रोज्नुअघि जुन विवादका कारण संविधानसभाको अवसान भएको थियो, त्यसमा सहमति जुटाउनु पर्ने अनिवार्यता तीनवटै दलले राम्ररी बुझेका छन्।

तर खासगरी संघीयताको स्वरुपबारेका विपरित अडान छाड्न दलहरु तयार देखिएका छैनन्।

त्यस्तो स्थिति छँदै प्रचण्डले नयाँ आशा कसरी दर्शाए त?

उनी निकट मानिने एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटा भन्छन्, "मिल्नेसम्मका विषयमा सहमति गर्ने, कतिपय विषय आगामी व्यवस्थापिका-संसदमा र दूरगामी असर पार्ने विषय जनमत संग्रहमा पनि लग्नेबारे छलफल भइरहेको छ।"

"मिल्नेसम्मका विषयमा सहमति गर्ने, कतिपय विषय आगामी व्यवस्थापपिका-संसदमा र दूरगामी असर पार्ने विषय जनमत संग्रहमा पनि लग्नेबारे छलफल भइरहेको छ"

अग्नी सापकोटा, एकिकृत माओवादीका प्रवक्ता

बैठकपछि नेताहरुले दिएका प्रतिकृया अनुसार चुनाव वा पुनर्स्थापना मध्येको विकल्पमा आउँदो हप्ताभित्र सहमतिमा पुग्न उनीहरु दृढ छन्।

सरकारको नेतृत्व

प्रचण्डले भने, "संविधानसभा पुनर्स्थापनामा सहमति हुन सकेन भने चुनावमा जाने तर हरहालतमा सहमति गर्ने हाम्रो लक्ष्य छ।"

सहमतीय सरकारको नेतृत्वबारे जनकपुरका पत्रकारहरुको जिज्ञासमा प्रचण्डले सम्भावित चुनावी सरकारबारे मुख नखोली 'संविधानमा सहमति भए कांग्रेसलाई नेतृत्व दिने' चलाखीपूर्ण जवाफ दिएका थिए।

त्यसबारे प्रष्ट पार्दै नेता अग्नी सापकोटाले भने, "पुनर्स्थापनामा सहमति हुन नसकेर चुनावमा जानु पर्‍यो भने त नयाँ परिस्थिति बन्छ र त्यो बेला जो सुकैले नेतृत्व गर्न सक्ने भो।"

यसअघि प्रचण्डले दलहरुबीच सहमति हुन नसके गैरराजनीतिक नेतृत्वमा नयाँ सरकारको विकल्प प्रस्तुत गरेका थिए।

तर त्यसबारे कांग्रेस-एमालेले मुख खोलिसकेका छैनन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।