
प्रचण्डले संघीयता र आउँदो चुनाव लगायतका विषयमा एक भएर अघि बढ्न गठबन्धनको प्रस्ताव गरेका थिए
एकीकृत माओवादी सहित संघीयता पक्षधर भनिएका दलहरुले एउटा वृहत गठबन्धन बनाउने निर्णय गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बसेको एकीकृत माओवादी, मधेसी मोर्चा र अन्य साना दलहरुको बैठकले यस बारे छलफल गरेको थियो।
अहिलेलाई संघीय प्रजातान्त्रिक गठबन्धन नाम प्रस्ताव गरिएको उक्त गठबन्धनले आईतबारसम्म आकार लिने नेताहरुले बताए।
"सम्रग संघीयता पक्षधरहरुका बीच एउटा गठबन्धन बन्नेछ, आईतबार यसबारे टुङगो लाग्ने छ"
देबेन्द्र पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
यस्तो गठबन्धन नेपाली काँग्रेस र नेकपा एमाले विरुद्ध लक्षित नभएको उनीहरुको भनाइ थियो।
आदिवासी जनजातिका अगुवाहरुले अन्तर्राष्ट्रिय जनजाति दिवसको अवसर पारेर एउटा नयाँ पार्टी घोषणा गर्ने बताए पनि उनीहरुबीच नै विवाद भएपछि प्रस्तावित पार्टीको नाम मात्र घोषणा गरिएको थियो।
तर एकीकृत माओवादीको पहलमा प्रधानमन्त्री निवासमा सम्पन्न एक बैठकले संघीयता पक्षधरहरुको बृहत् मोर्चा बनाउने निर्णय गरेको हो।
बैठकमा गठबन्धन सरकारकमा सामेल मधेशी मोर्चाका नेता र अन्य केही साना दलहरुको उपस्थिति थियो।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार देवेन्द्र पौडेलले गठबन्धनले छिट्टै मूर्तरुप लिने बताए।
उनले भने, समग्र संघीयता पक्षधरहरुकाबीच एउटा गठबन्धन बन्नेछ, आईतबार यसबारे टुङगो लाग्ने छ।
"यो एउटा संचालक समिति सहितको बलियो गठबन्धन हुनेछ"
जितेन्द्र नारायण देव, महासचिव, फोरम लोकतान्त्रिक
सो गठबन्धन दीर्घकालिन हुने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र नारायण देवले बताए।
उनले भने, यो एउटा संचालक समिति सहितको बलियो गठबन्धन हुनेछ।
विद्यमान राजनीतिक संकट समाधान गर्न संविधानसभाको पुनर्स्थापना र निर्वाचन दुवै विकल्प खुला राख्ने बारेमा छलफल भएको पनि सहभागी नेताहरुले जानकारी दिए।
एकीकृत माओवादी नेतहरुले नयां गठबन्धन नेपाली कांग्रेस र नेकपा एमाले विरुद्ध लक्षित नभएको दावी गरे तापनि यसले प्रमुख दलहरुबीचको सम्बन्धलाई थप जटिल बनाउने कतिपयको ठम्याइ छ।


