
युवा संघले गरेको चक्का जामका कारण आईतबार र सोमबार चार घण्टा उपत्यकामा सवारी चलेनन्
नेकपा एमालेसंबद्ध युवा संगठन युवा संघ नेपालले आईतबार र सोमबार बिहान गरेको चार घण्टाको चक्का जामले सर्वसाधारण र खासगरी स्कुले विद्यार्थी एवं तिनका अभिभावकलाई आक्रोशित बनाएको छ।
बिहान ६ देखि १० बजे सम्म गरिएको चक्का जामले बस चल्न नपाएको र विद्यार्थी स्कुल जान नपाएको पीडितहरुको गुनासो छ।
बन्दका कारण एकाबिहानै काममा निस्कने सर्वसाधारण र मजदुरहरु समेत समस्यामा परेका देखिन्थे।
प्रधानमन्त्री बाबुराम भट्टराई सरकारलाई राजीनामा दिन वाध्य पार्ने उद्देश्यले बिहान, बिहान ४ घण्टा सवारी साधन चल्न नदिईएको एमालेको भातृ संगठन युवा संघ नेपालको भनाइ छ।
"यस्ता बन्दले विद्यार्थीको मानसिकता नै बिगारिदिएको छ, अभिभावकलाई विद्यार्थी सम्हाल्न गाह्रो परेको छ, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेपछि त्यो पुरा त गर्नु पर्यो नि"
सुप्रभात भण्डारी, अध्यक्ष, अभिभावक संघ नेपाल
तर त्यो बन्दले बिहान कार्यालय जानु पर्ने कर्मचारी, स्कुल तथा क्याम्पस पुग्नु पर्ने विद्यार्थी र तिनका अभिभावक बेस्सरी चिढिएका छन्।
प्रहार
राजनीतिक स्वार्थसँग जोडिएका यस्ता बन्दले विद्यार्थीको मानसिकतामै प्रहार गरेको अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले बताए।
उनले भने, पढ्न मन गर्नेलाई यस्ता बन्दले मानसिकता नै बिगारिदिएको छ, अभिभावकलाई विद्यार्थी सम्हाल्न गाह्रो परेको छ, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेपछि त्यो पुरा त गर्नु पर्यो नि।
शैक्षिक क्यालेण्डर अनुसार बर्षमा कम्तीमा दुईसय बीस दिन पढाई हुनै पर्छ। तर लगातारका बन्दले त्यसो हुन दिएको छैन।
"घाँटीमा आएको ट्युमर फाल्दा अलिअलि दुख्छ तर त्यो फालिएन भने त्यस्ले मानिसको ज्यानै लिन सक्छ, राष्ट्रिय हितका लागि आन्दोलन गर्न हामी बाध्य भएका हौं"
महेश बस्नेत, अध्यक्ष, युवा संघ नेपाल
बन्द आयोजक युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले चाहिं बन्दलाई क्यान्सर फैलन नदिने संकेतका रुपमा प्रष्टाउने प्रयास गरे।
बस्नेतले भने, घाँटीमा आएको ट्युमर फाल्दा अलिअलि दुख्छ, तर त्यो फालिएन भने त्यसले मानिसको ज्यानै लिन सक्छ, राष्ट्रिय हितका लागि आन्दोलन गर्न हामी वाध्य भएका हौं।
राजनीतिक अस्थिरता र पछिल्लो समय संवैधानिक शून्यतामा फंसेको मुलुकमा बन्द हड्ताल सामान्य जस्तै भएको छ।
गृह मन्त्रालयका अनुसार पोहोर साल मात्रै एकसय २६ दिन बन्द भएको थियो।
आजित
"बिहान ६ देखि १० बजेको समय विद्यालय बस चल्ने विद्यार्थि स्कुल जाने प्रमुख समय हो तर यहिं समयमा बन्द गरिएकाले आन्दोलन शैक्षिकसंस्थाप्रति बढि लक्षित हो को जस्तो देखिन्छ"
बाबुराम पोखरेल, अध्यक्ष, प्याब्सन नेपाल
तर युवा संघले आइतबारदेखि गरेको बन्द यस अघिका भन्दा फरक तर शैक्षिक संस्थाप्रति बढि लक्षित भएको निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन नेपालका अध्यक्ष बाबुराम पोखरेलले बताए।
पोखरेलले भने, बिहान ६ देखि १० बजेको समय विद्यालय बस चल्ने, विद्यार्थी स्कुल जाने प्रमुख समय हो। तर यही समयमा बन्द गरिएकाले आन्दोलन शैक्षिकसंस्थाप्रति बढी लक्षित हो कि जस्तो देखिन्छ।
विद्यार्थी, दश बजे अघि नै कार्यालय पुग्नु पर्ने निजी तथा सरकारी कर्मचारी, मजदुर र आम सर्वसाधारण बन्दबाट आजित भइसकेका देखिन्छन्।
तर बन्द आयोजक युवा संघले चाहिं आफ्नो आन्दोलनमा अन्य विद्यार्थी संगठनले समेत साथ दिएको भन्दै विरोधलाई चर्काउने बताएको छ जसले थप आक्रोश निम्ताउने देखिन्छ।


