निकास खोज्न राष्ट्रपतिको आग्रह

पछिल्लोपल्ट अपडेट गरिएको: 05.08.12, 21:05 NST सम्मका समाचार

राष्ट्रपतिले दलहरुसँग सामूहिक भेटघाट गरी निकास खोज्न आग्रह गरेका छन्

राष्ट्रपति रामबरण यादवले संविधानसभा अवसान भएको दुई महिना पुग्दा दोश्रोपटक राजनीतिक दलहरुसँग सामूहिक परामर्श गरेका छन्।

दुई महिना पहिले संविधानसभाको अवसान भएपछि संसदविहीन स्थिति र कामचलाउ सरकारको अवस्थाबाट पार लगाउन संस्थाका रुपमा हेरिएका राष्ट्रपति यादवले आइतबार दिउसो नेताहरुसँग दिवा भोज सहित पाँच घन्टा कुराकानी गरेका थिए।

छलफलपछि प्रमुख दलका नेताहरुले सहमतिको प्रयास थाल्ने संकेत गरेका छन् तर त्यस्तो प्रयास कहिले, कसरी र कसले गर्ने भन्ने छनक मिलेको छैन।

सीमित

पार्टीका आन्तरिक कार्यक्रमहरुमा आ आफ्ना अडानको बचाउ गर्दै आएका दलहरु संविधानसभाको अवसानपछि छिटपुट भेटघाटमा मात्रै सीमित देखिएका छन्।

तर सन्चारकर्मीहरुसँग निरन्तर बैठक बसेर सहमति खोज्ने पनि भन्ने गरेका छन्।

व्यवहारमा आपसी संझौता र निकासको प्रयास गरेको नदेखिएका दलहरुले राष्ट्रपति समक्ष पनि आ आफ्ना पार्टीगत अडान नै राखेका थिए।

सबैका अडान सुनेपछि राष्ट्रपतिले दलहरुलाई उनीहरुबीच ठूल्ठूला मतभेद कायम रहेको र मतभेद कम गर्न प्रयत्न नगरेको भन्दै 'जनताको धैर्यको बाँध नटुटाउन' चेतावनी दिएका बताइएको छ।

कामना

राष्ट्रपतिसँगको भेटवार्तापछि प्रमुख सत्तारुढ दल पुष्पकमल दाहाल प्रचण्डले अर्कोपल्ट राष्ट्रपतिकहाँ आउँदासम्म केही गर्ने संकेत गरे।

उनले भने, "अब राष्ट्रपतिकहाँ आउँदा समाधान सहित यसो गर्नोस भनेर आउने अवस्था आओस भन्ने कामना गर्‍यौं।"

संविधानसभाको चार वर्षे कार्यकालमा बारम्बार सहमतिको रटान लगाएर पनि विफल भएका दलहरुबीच तत्काल सहमति बन्न सक्ने अवस्था देखिएको छैन।

यस्तो अवस्थामा राष्ट्रपतिले दलहरुसँग सामूहिक भेट गरेर मात्रै अहिलेको गतिरोधको निकास निस्कन नसक्ने संविधानविद् डा भीमार्जुन आचार्यले बताए।

सक्रियता

"कानुन र संविधानमा नरहेका कुरा प्रयोग गर्ने भनेको होइन। कानुन र संविधान सुचारु बनाउन र निकास खोज्ने उपाय अवलम्बन गर्न आवश्यक देखिन्छ"

भीमार्जुन आचार्य, संविधानविद्

उनले भने, "कानुन र संविधानमा नरहेका कुरा प्रयोग गर्ने भनेको होइन, कानुन र संविधान सुचारु बनाउन र निकास खोज्ने उपाय अवलम्बन गर्न आवश्यक देखिन्छ।"

तर राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुंगेलका अनुसार संवैधानिक परिधिमा बसेर राजनीतिक दलहरुलाई भेटवार्ता मार्फत सचेत गराउनु पनि निकासतर्फ चालिएको एउटा कदम हो।

आइतबारको भेटवार्तामा सबै दलले आफ्ना कुरा विस्तृतमा राखेपछि समस्याको सूची बनेको बताइन्छ।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, दलहरुले तिनै सूचीको आधारमा आफूहरुबीचको मतभेद कम गर्ने सामूहिक प्रयास नथाल्ने हो भने राष्ट्रपतिको घचघच्याइले मात्र सहमतिको समाधान निस्कने देखिन्न।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।