धावक तिलकरामको पनि दौड समयमा सुधार

पछिल्लोपल्ट अपडेट गरिएको: 04.08.12, 22:57 NST सम्मका समाचार
नेपालका धावक तिलकराम थारू लण्डन ओलिम्पिक्सको १०० मिटर दौडमा

नेपाली धावक थारू (रातो टिशर्टमा) लण्डन ओलिम्पिक्समा राष्ट्रिय कीर्तिमान नतोडिएकोमा दुखी छैनन्

लण्डन ओलिम्पिक्समा नेपालका अन्तिम सहभागी तिलकराम थारुले १०० मिटर दौडमा आफ्नो यसअघिको समयमा मात्र सुधार गर्न सकेका छन्।

गत वर्ष दक्षिण कोरियाको विश्व एथलेटिक्स च्याम्पियनसिपमा ११ सेकेन्ड समय लगाएका २० वर्षीय थारुले शनिवार १० दश्मलव ८५ सेकेन्डको समय लगाए।

ओलिम्पिक्सको एउटा मुख्य आकर्षण खेलको रुपमा लिइने १०० मिटर दौडमा ओलिम्पिक च्याम्पियन जमैकाका उसेन बोल्ट र जमैकाकै विश्व च्याम्पियन योहान ब्लाक अनि अमेरिकाका टाइसन गे र जमैकाका अर्का धावक आसफा पावेल मुख्य आकर्षणको केन्द्र बनेका थिए।

यी चर्चित खेलाडीहरुको माझ हिट नम्वर चारमा खेलेका तिलकराम थारुले आफनो हिटका तीन खेलाडीलाई पछाडि पार्न पनि सफल भएका थिए।

राष्ट्रिय प्रतियोगितामा चार स्वर्ण जितेका उनी राष्ट्रिय कीर्तिमान नतोडिएकोमा भने दुखी थिएनन्।

नेपाली धावक तिलकराम थारू

"अब दक्षिण एसियाली खेलकुदमा केही गर्ने आंट आएको छ"

उनले भने, "केन्टको एक महिने प्रशिक्षणको कारण यति सुधारिएको प्रदर्शन गर्न पाएँ, यसैमा म खुशी छु। अर्को पटक राष्ट्रिय कीर्तिमान बनाउने साहस बढेको छ।"

एक सय मिटरको राष्ट्रिय कीर्तिमान रामकृष्ण चौधरीको नाममा छ।

उनले आठौं दक्षिण एसियाली खेलकुदमा १० दश्मलव ७१ सेकेन्डको कीर्तिमान बनाएका थिए।

'धेरै कुरा देखें'

जमैकाका धावक उसेन बोल्टसंग एकै ठाउँमा अभ्यास गर्न पाएकोमा तिलकराम निकै दंग छन्।

उनले भने, "उनीहरुको तरिका देखें अनि यति ठूलो प्रतियोगितामा खेल्न पाउँदा धेरै कुरा सिकें।

विश्वका उत्कृष्ट खेलाडीहरुसंग खेल्न पाउनुलाई ठूलो सफलता मान्ने उनले लन्डनमा पाएको यो अनुभवले आगामी दिनमा राम्रो गर्ने बताए।

आफ्नो आत्मविश्वास बढेको बताउँदै उनले भने, "अब दक्षिण एसियाली खेलकुदमा केही गर्ने आंट आएको छ।"

राष्ट्रिय प्रतियोगितामा चार स्वर्ण जितेका तिलकरामले गत ग्वाङजाउ एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेका थिए ।

शनिवार तिलकरामको खेलसंगै नेपालबाट सहभागी पाँच खेलाडीहरुको सबै खेल सकिएको छ।

लण्डन ओलिम्पिक्सको रोमान्च भने अर्को एक हप्ता सम्म चल्नेछ।

BBC © 2013 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।