'निर्वाचन ‌अध्यादेशमाथि अध्ययन जारी'

पछिल्लोपल्ट अपडेट गरिएको: 02.08.12, 20:22 NST सम्मका समाचार

सरकारले बुझाएका विधेयकमाथि अध्ययन पुरा भइनसकेको राष्ट्रपति कार्यालयले जनाएको छ

सरकारले एक हप्ता अघि राष्ट्रपतिकहाँ बुझाएको निर्वाचन सम्बन्धी दुइवटा अध्यादेशमाथि अध्ययन जारी रहेको बताइएको छ।

राष्ट्रपति कार्यालयको कानुन इकाइले तीन कोणबाट अध्ययन गरिरहेको राष्ट्रपतिका कानुनी सल्लाहकार डा सूर्य ढुंगेलले बताए।

ढुंगेलले भने, "राष्ट्रिय सहमति, संवैधानिक अड्चन र निर्वाचन आयोगको सरोकार गरी तीन कोणबाट हामीले अध्यादेशको अध्ययन गरिरहेका छौं।"

राष्ट्रपति र प्रधानमन्त्रीबीच असहमतिको थप बुँदाका रुपमा हेरिएका ती अध्यादेशहरुबारे राष्ट्रपतिले सरकारलाई जवाफ दिन अझ केही दिन लाग्ने बताइएको छ।

घोषणा

संवैधानिक अड्चन नफुकाइ बनाइएका भनिएका ती अध्यादेशहरु राष्ट्रपतिकहाँ पेश गरिसकिएपछि मंसिरमा चुनाव गर्न नसक्ने भन्ने निर्वाचन आयोगको औपचारिक घोषणा आइसकेको छ।

ढुंगेलले अध्यादेशको सोझो विरोध गरेनन् तर राष्ट्रपति कार्यालयले अध्ययन गरेको कोणहरु सरकारी अध्यादेशले संबोधन गरेको देखिन्न।

त्यस्तै सर्वदलीय सहमति अझै नजुटेकाले संवैधानिक अड्चन फुक्ने स्थिति पनि छैन।

"राष्ट्रिय सहमति, सवैधानिक अड्चन र निर्वाचन आयोगको सरोकार गरी तीन कोणबाट हामीले अध्यादेशको अध्ययन गरिरहेका छौं"

सूर्य ढुंगेल, राष्ट्रपतिका कानुनी सल्लाहकार

निर्वाचन आयोगले भने बमोजिम संविधानका पाँच धारा र बाँकी अर्को एउटा कानुन पनि संबोधन नगरेको स्थिति छ।

ढिलाई

अहिलेको गतिरोधको निकास अधिकांशले निर्वाचन हुने भनिरहेका बेला त्यस सम्बन्धी अध्यादेशबारे राष्ट्रपति कार्यालयले किन ढिलाइ गरेको भन्ने प्रश्नको जवाफमा सल्लाहकार ढुंगेलले भने, "अहिलेको राजनीतिक गतिरोधसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले हामीले विस्तृत अध्ययन गरिरहेका छौं।"

सरकारले राष्ट्रपतिकहाँ बुझाएका ती दुई अध्यादेशमा मंसिरमा निर्वाचन गर्ने तिथिमिति राखिएको बताइएको छ।

अध्यादेशहरुबारे राष्ट्रपतिको कार्यालयले अध्ययन गरिरहेका बेला निर्वाचन आयोगले अब मंसिरमा चुनाव गर्न नसक्ने भन्ने पत्र सरकारलाई बुझाइसकेकाले ती अध्यादेशहरु स्वत: असान्दर्भिक भइसकेको कतिपय जानकारहरु बताउँछन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।