असन्तुष्ट तीन सचिवद्वारा राजीनामा

पछिल्लोपल्ट अपडेट गरिएको: 30.07.12, 20:06 NST सम्मका समाचार
प्रधानमन्त्री कार्यालय

यस अघि तीन जना मुख्य सचिव नियुक्त गर्दा पनि केही सचिवले राजीनामा दिएका थिए

निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवमा नियुक्ति नपाएपछि राजीनामा दिने विगतको चलन यस पटक पनि दोहोरिएको छ।

प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौड्याललाई मुख्य सचिवमा बढुवा गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै तीन सचिवले सोमबार राजीनामा दिएका छन्।

अर्का सचिव श्यामप्रसाद मैनालीले मंगलबार राजीनामा दिने बताए।

नियुक्तिप्रति असहमति जनाउँदै सञ्चार सचिव अवनिन्द्रकुमार श्रेष्ठ आईतबारदेखि बिदामा बसेका छन्।

एकै पटक सहसचिवबाट बढुवा भएका १३ सचिवहरु यस पटक मुख्य सचिवका उम्मेदवार थिए।

असन्तुष्टि

ती मध्ये बरिष्ठता क्रममा आठौं नम्बरमा रहेका सचिव लिलामणि पौड्याललाई सरकारले अर्को हप्तादेखि पुरा जिम्मेवारी दिने गरी कायम मुकायम मुख्य सचिवमा नियुक्त गरेपछि असन्तुष्ट सचिवहरुले राजीनामा दिने क्रम शुरु भएको हो।

"जेष्ठता र कार्यक्षमताका आधारमा मुख्य सचिव नियुक्त गर्नु पर्ने भनेर स्पष्ट लेख्दा लेख्दै त्यसको उपहास गरेर सरकारले मुख्य सचिवमा नियुक्ति गरेकाले त्यसप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको हुँ"

शंकर कोईराला, राजीनामा दिएका एकजना सचिव

कार्यक्षमता, इमान्दारी र निडरतामा अरु भन्दा पौड्याल अगाडि भएकाले बढुवा गरिएको सरकारी भनाइ छ।

तर असन्तुष्ट सचिवहरु चाहिं त्यो मान्न तयार छैनन्।

राजीनामा दिने मध्येका ‍एक सचिव शंकर कोईरालाले भने, “जेष्ठता र कार्यक्षमताका आधारमा मुख्य सचिव नियुक्त गर्नु पर्ने भनेर स्पष्ट लेख्दा लेख्दै त्यसको उपहास गरेर सरकारले मुख्य सचिवमा नियुक्त गरेकाले त्यसप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको हुँ।”

राजीनामा बुझाउने सबैको भाषा लगभग एकै किसिमको छ।

उनीहरुले वरिष्ठता, कार्यक्षमता र इमान्दारीको सहि मूल्यांकन नभएको दावी गरेका छन्।

प्रधानमन्त्री कार्यालयका सचिव त्रिलोचन उप्रेती र गृह सचिव सुशिलजंग राणाले पनि त्यस्तै तर्क गर्दै राजीनामा बुझाएका हुन्।

निजामती सेवा ऐन अनुसार जेष्ठता र कार्यक्षमताका आधारमा मुख्य सचिव नियुक्त गर्नु पर्ने हुन्छ।

सुधार

तर यो कानुनी प्रावधान आफैमा फितलो र अस्पष्ट भएकाले त्यसमा सुधार गर्नुपर्ने प्रशासनविद्हरु बताउंछन्।

"आफूलाई मन लाग्यो ठिक छ भन्ने र ठीक लागेन भने उपयुक्त छैन भन्ने प्रवृत्ती अन्त्य गर्न पनि कानुनमा सुधार आवश्यक छ"

भीमदेव भट्ट, प्रशासनविद्

एकजना प्रशासनविद् भिमदेव भट्टले भने, “कानुनमा सुधार गर्नुपर्ने आवश्यकता छ किनभने कार्यक्षमता वा कार्यदक्षता कसरी मूल्यांकन गर्ने? मलाई मन लाग्यो ठिक छ भन्ने र ठीक लागेन भने उपयुक्त छैन भन्ने प्रवृत्ति अन्त्य गर्न पनि कानुनमा सुधार आवश्यक छ।”

वरिष्ठता मिचेर मुख्य सचिव नियुक्त गरेको यो नै पहिलो घटना भने होइन ।

यस अघि तीर्थमान शाक्य, विमल कोईराला र माधवप्रसाद घिमिरेलाई मुख्य सचिव बनाउँदा सरकारले बरिष्ठता मिचेको थियो र त्यतिबेला पनि प्रतिस्पर्धामा रहेका सचिवहरुले राजीनामा दिएका थिए।

मुख्य सचिव नियुक्तीमा वरिष्ठता मात्रैले कति अर्थ राख्छ?

प्रशासनविद् भट्टले भने, “जेष्ठता हुँदैमा त्यो व्यक्ति योग्य नहुन सक्छ तर मुख्य सचिवमा योग्य ब्यक्ति मात्र लैजानु पर्छ किनभने उसले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउनु पर्ने हुन्छ।”

केही दिन वा महिना भित्रै अनिवार्य अवकाश पाउन लागेकाले पनि सचिवहरुलाई राजीनामा दिन सहज भएको कतिपयको भनाइ छ।

तर विरोध र दबाबकाबीच मुख्य सचिव बनाईएका पौड्यालको कार्यक्षमतामा प्रश्न उठ्न थाल्यो भने चाहिं असन्तुष्टहरुले थप औंला उठाउने परिस्थिति आउन सक्ने विश्लेषकहरु बताउंछन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।