कर छलिबारे थप ५१३ कम्पनीमाथि छानबीन

पछिल्लोपल्ट अपडेट गरिएको: 05.07.12, 21:10 NST सम्मका समाचार
सिहंदरवार, काठमाण्डु

भ्याट बारेको अनुसन्धान जारी राख्न सरकारले केही पहिले आन्तरिक राजस्व कार्यालयलाई निर्देशन दिएको थियो

आन्तरिक राजस्व विभागले ठूलो मात्रामा कर छलेको आशंकामा थप पाँचसय १३ वटा ठूला तथा मध्यम खालका व्यावसायिक कम्पनीहरुमाथि छानबीन शुरु गरेको छ।

झुटा बिल बनाएको र नाफा कम देखाएर राजस्व छलेको आशंकामा ती कम्पनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको विभागका अधिकारीहरुले बीबीसीलाई बताए।

नक्कली कम्पनी खडा गरी झुटा बिल मार्फत अर्बौं रुपैयाँ राजस्व छलेको आशंकामा केही पहिले मात्र पाँच सय १८ वटा कम्पनीहरुमाथिको अनुसन्धान पूरा गरेको आन्तरिक राजस्व विभागले थप पाँचसय १३ नयाँ कम्पनीमाथि अनुसन्धान शुरु गरेको हो।

असुली

"नक्कली बिल बनाउने, नक्कली कम्पनी नै खडा गर्ने, भएको नाफालाई कम देखाउने र नभएको खर्चलाई बढी देखाउनेमाथि अनुसन्धान थालेका हौं"

टंकमणि शर्मा, महानिर्देशक, आन्तरिक राजस्व विभाग

विभागका अनुसार पहिलो चरणको अनुसन्धानबाट ६ अर्ब ६० करोड रुपैयाँ राजस्व छलेको पुष्टि भएको छ र त्यसमध्ये करीब एक अर्ब १५ करोड असुली समेत भइसकेको छ।

त्यो अनुसन्धान सकिए लगत्तै विभागले झण्डै पहिलो चरणकै संख्याको हाराहारीमा ठूला घरानियाँ ब्यापारी र विभिन्न कम्पनीमाथि छानबीन बढाएको हो।

यस अघि र अहिले छानबीनमा परेका कम्पनीले राजस्व छल्ने उस्तै शैली अपनाएको अधिकारीहरुको भनाइ छ।

जोखिम मापन गर्ने मापदण्डका आधारमा दोस्रो अनुसन्धान शुरु गरिएको विभागका महानिर्देशक टंकमणि शर्माले बताए।

उनले भने, “नक्कली बिल बनाउने, नक्कली कम्पनी नै खडा गर्ने, भएको नाफालाई कम देखाउने र नभएको खर्चलाई बढी देखाउनेमाथि अनुसन्धान थालेका हौं।”

अनुसन्धान अघि बढाउने मध्येको एक प्रमुख निकाय आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्बर ३ काठमाण्डौंका अनुसार क्रेता र विक्रेताले पेश गरेका कारोवारका विवरणहरु एक आपसमा मिल्न नसकेपछि तत्काल छानबीन शुरु गरिएको हो।

"अहिलेको सन्दर्भमा विक्रेताले देखाएको अंक क्रेताले पेश गरेको अंकसँग मिलेन, त्यसको कारोवार त लुक्यो, त्यस कारण अनुसन्धान जारी राखेका हौं"

राममणि दवाडी, प्रमुख कर प्रशासक

उक्त कार्यालयका प्रमुख कर प्रशासक राममणि दवाडीले बीबीसीसँग भने, “ अहिलेको सन्दर्भमा विक्रेताले देखाएको अंक क्रेताले पेश गरेको अंकसँग मिलेन, त्यसको कारोवार त लुक्यो, त्यस कारण अनुसन्धान जारी राखेका हौं।”

प्रगति

अधिकारीहरुका अनुसार पहिलो चरणको अनुसन्धान र थप कम्पनीहरु माथि शुरु गरिएको दोस्रो चरणको छानबीनले कर संकलनमा उल्लेख्य प्रगति भएको छ ।

त्यसबारे प्रमुख कर प्रशासक दवाडीले भने, “यो अभियानबाट करदाताहरुमा कारोबार पारदर्शी राख्नुपर्छ भन्ने चेतना आएको छ।”

देशै भरिका आन्तरिक राजस्व कार्यालयहरुलाई दोस्रो चरणको छानबीनलाई तीव्रताका साथ अघि बढाउन विभागले निर्देशन दिएको छ।

पछिल्लो छानबीनबाट पनि अर्बौं रुपैयाँ बराबरको राजस्व छलेको पत्ता लाग्ने अनुमान अधिकारीहरुले गरेका छन्।

केही समय यता शुरु गरिएको यस्तो छानबीनले राजस्व छल्ने बानी लागेकाहरुलाई राम्रैसँग सचेत तुल्याएको अधिकारीहरुको भनाइ छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।